‘डेढ दशक भित्र नेपालमा फस्टाएको प्रत्यारोपण सेवा, द हिमालयन इन्टरनेशनल ट्रान्सप्लान्ट कन्फरेन्स’


काठमाडौं– ‘विकासोन्मुख राष्ट्रहरूमा अङ्ग दान प्रवर्द्धन’, को नारा सहित शुरु भएको ‘द हिमालयन इन्टरनेशनल ट्रान्सप्लान्ट कन्फ्रेन्स’मा विज्ञहरूले डेढ दशकमा नेपालको अङ्ग प्रत्यारोपण व्यापक रूपमा फस्टाएको जनाएका छन् ।

१९ देशका प्रत्यारोपणको क्षेत्रमा ख्याति प्राप्त चिकित्सक तथा प्राविधिक लगायत प्रत्यारोपण क्षेत्रमा सरोकार राख्ने हरूको सहभागिता रहेको दुई दिने सम्मेलन शनिवार शुरु भएको हो ।

उद्‌घाटन समारोहका प्रमुख अतिथि स्वास्थ्य सचिव डा.रोशन पोखरेलले सरुवा रोगको प्रकोप कायमै रहँदा १६ वर्ष अगाडि सम्म नेपालमा मिर्गौला प्रत्यारोपण सेवा नभए पनि हाल स्वदेशी र विदेशी विज्ञहरूको साथ सहयोगले राम्रो अवस्थामा आइ पुगेको बताए । उनले डा. पुकार र उनको टिम लगायत प्रत्यारोपण क्षेत्रका विज्ञहरूको साथ र सहयोगमा अहिलेको अवस्थामा आइ पुग्न सफल भएको जनाए ।

राज्यले प्रत्यारोपण कार्यलाई प्राथमिकतामा राखेको जनाउँदै डा.पोखरेलले राजधानी बाहिर सात वटै प्रदेशमा यसलाई कसरी लिएर जान सकिन्छ भन्ने बारे गृहकार्य जारी रहेको जनाए ।

अमेरिकी चिकित्सक डा डोरी सेगेभले एक दशक अघि डा. पुकार चन्द्र श्रेष्ठ सँग भेट भए पछि प्रत्यारोपण केन्द्रमा ल्याप्रोस्कोपी सर्जरी सेवा सञ्चालनको लागि सहयोग गर्न नेपाल आएको र प्रत्यारोपण सम्बन्धी प्रविधि हस्तान्तरण गर्नको लागि आफूले सहयोग गर्ने बताए ।

सन २००८ मा डा पुकार चन्द्र श्रेष्ठले वीर अस्पतालमा र प्रा.डा. दिव्या सिह शाहले शिक्षण अस्पतालमा प्रत्यारोपण सेवा शुरु गरेको र प्रत्यारोपण क्षेत्रको छुट्टा छुट्टै सोसाइटी समेतको गठन गरेको समाजलाई अब एकीकृत गरी पहिलो कार्यकाल डा पुकार नेतृत्व गर्ने र दोस्रो कार्यकाल डा. दिव्या नेतृत्व गर्ने गरी तय भएकोले अब प्रत्यारोपण क्षेत्रमा थप प्रभावकारी रुपमा विकास हुने कार्यक्रमको साइन्टिफिक कमिटीका अध्यक्ष प्रा. डा ऋषि कुमार काफ्लेले बताए ।

शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा अङ्ग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले केन्द्रलाई प्रत्यारोपण सम्बन्धी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विस्तार विकास गरी प्रत्यारोपणको लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न सकिने बताए ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २००८ प्रतिवेदन अनुसार नेपाल जस्तो देशमा मिर्गौला रोग लागेका मानिस केही महिनामै मृत्युको शिकार हुने गरेकोमा हाल ९० प्रतिशत भन्दा बढी बिरामीहरू बाच्न सफल भएका औँल्याउँदै डा.पुकारले यस कामको लागि सरकार, स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण साथ र सहयोग रहेको बताए । उनले अङ्ग प्रत्यारोपण कार्यमा संलग्न समाज एकीकृत भएको हुदा मस्तिष्क मृत्यु पछि हुने प्रत्यारोपणले गति लिने समेत विश्वास व्यक्त गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!