‘राजधानीमा २४ औं अन्तर्राष्ट्रिय FERCAP शिखर सम्मेलन २०२४’
काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले काठमाडौंमा आइतबार देखि ‘अनुसन्धानको उत्तरदायी सञ्चालनको माध्यमले अधिकतम लाभ’, नारा सहित ‘फोरम फर इथिकल रिभ्यु कमिटी इन द एसिया एण्ड वेस्टर्न प्यासिफिक (FERCAP)’, को चार दिने २४ औ शिखर सम्मेलन आयोजना गर्दैछ ।
Forum for Ethical Review Committee in the Asia and Western Pacific Region (FERCAP) काे याे सम्मेलन नेपालमा पहिलो पटक र फरक विषय वस्तुमा विश्वका विज्ञ तथा दिग्गज व्यक्तित्वहरूको सहभागितामा हुन गइ रहेको छ ।
सम्मेलनमा अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारत लगायतका २३ मुलुकको २५० को हाराहारीमा विदेशी विज्ञहरूको सहभागिता रहने छ ।
‘यस प्रकारको सम्मेलन हाल सम्म मुलुकमा भएको थिएन’, एनएचआरसीका सदस्य सचिव डा.प्रमोद जोशी ले भने–‘यो सम्मेलन गर्ने नेपाल ले मौका पाउनु नै गर्वको कुरा हो ।’
सम्मेलनमा अनुसन्धान आचार संहिताका विभिन्न पाटोहरूमा स्वदेशी तथा विदेशी अनुसन्धान कर्ताहरू बीच गहन छलफल, बहस तथा प्रस्तुतीकरण हुनेछ ।
झन्डै ६०० को हाराहारीमा स्वदेशी तथा विदेशी विज्ञहरूको सम्मेलनमा भौतिक उपस्थिति रहने एनएचआरसीले जनाएको छ । सम्मेलनमा ६१ वटा मौखिक प्रस्तुतीकरण अन्तर्राष्ट्रिय विज्ञहरूबाट र २९ वटा प्रस्तुतीकरणहरू राष्ट्रिय विज्ञहरू द्वारा गरिनेछ ।
सम्मेलनको पहिलो दिन अनुसन्धानको स्वीकृति पछि अनुसन्धान कर्ता तथा आचार संहिता पुनरावलोकन समितिमा भएका विज्ञहरूको भूमिकाको बारेमा सहभागीहरूलाई तालिम प्रदान गरिनेछ ।
यस्तै दोस्रो दिन पहिलो सत्रमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा नेपाली तथा विदेशी मुख्य वक्ताहरूको प्रस्तुतीकरण रहनेछ । त्यस्तै गरी सोही दिन अनुसन्धान आचार संहिताका विभिन्न विषयहरू, नेपाल स्वास्थ्य अनुसन्धान परिषदको भूमिका, अनुसन्धान र नव प्रवर्तनमा विद्यमान चुनौतीहरू र समाधान, सु सूचित सहमति पत्र, सहभागीहरूको तथ्याङ्कको गोपनीयता, स्वीकृति प्रकृया तथा व्यक्ति र समुदाय स्तरमा अनुसन्धानको कार्यान्वयन विषयबारे स्वदेशी तथा विदेशी विज्ञबाट वैज्ञानिक अनुसन्धानका प्रस्तुती तथा छलफल गरिनेछ ।
सम्मेलनको तेस्रो दिन अनुसन्धानको नव प्रवर्तनको निरन्तर विकास सँगै बढ्दै गएका चुनौतीहरूको सम्बन्धमा एक जुट भई समाधान गर्न आवश्यक पर्ने आचार संहिताका सिद्धान्तहरूको बारे छलफल गरिने छ ।
सम्मेलनले स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल आचार संहिता र संस्कारको विकास गर्न, गुण स्तरीय तथ्याङ्क सङ्कलन र सम्प्रेषण गर्न, र तथ्याङ्क परक नीति तथा योजना कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको एनएचआरसी ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस