‘चिकित्सक सङ्घले गृहमन्त्री लाई भन्यो, पर्सा जिल्लाका प्रजिअ लाई विभागीय कारबाही गर’
काठमाडौं–नेपाल चिकित्सक सङ्घले गृहमन्त्री रमेश लेखक सँग पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लाई कारबाहीको दायरामा ल्याउन र जिम्मेवारी बाट मुक्त गर्न माग गरेको छ ।
प्रजिअले सार्वजनिक कार्यक्रम गैर जिम्मेवार पूर्ण तथा स्वास्थ्य कर्मीको मनोबलमा आँच आउने अभिव्यक्ति दिएको जनाउँदै चिकित्सक सङ्घले उक्त माग गरेको हो ।
चिकित्सक सङ्घका अध्यक्ष डा.अनिल विक्रम कार्की र महासचिव डा.सन्जिव तिवारीले सोमवार गृहमन्त्री लेखक लाई भेटेर ज्ञापन पत्र बुझाउँदै तत्कालीन समयमा रूपन्देही जिल्ला र हाल पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी लाई तुरुन्त विभागीय कारबाही को माग गरेको हो ।
डा.कार्की र डा.तिवारी को संयुक्त हस्ताक्षर सहित जारी गरिएको ज्ञापन पत्रमा शान्ति सुरक्षाको जिम्मेवारी लिएको एक जिम्मेवार राष्ट्र सेवकले बुटवलको आम्दा अस्पतालमा भएको घटनाको विषयमा कानुनको पालनामा जोड दिनु पर्ने मा आफैले कानुन पालना नगरेको स्विकारेको र झन् आफू भए आगजनी गर्ने जस्तो भड्काउने अभिव्यक्ति दिएको उल्लेख छ ।
ज्ञापन पत्रमा ‘जनमानस लाई उत्तेजित बनाउने कार्यले यस्ता घटना घटाउन थप आत्मबल मिल्ने हाम्रो ठम्याई रहेकोले उक्त अभिव्यक्तिको जति भर्त्सना गरे पनि कम हुने’, उल्लेख छ । यस्तै चिकित्सकीय अभ्यासको बारेमा प्रमुख जिल्ला अधिकारीको धारणा समस्त स्वास्थ्य कर्मीलाई हतोत्साही बनाउने किसिमको रहेको समेत बताइएको छ ।
गृहमन्त्री लाई दिइएको ज्ञापन पत्रमा, ‘अझ आफ्ना विचार राख्ने क्रममा यस सङ्घका अध्यक्षलाई चुनौती दिएको भन्ने कपोल कल्पित कुराबाट हामी स्तब्ध भएका छौ । यस्ता प्रशासक रहे सम्म स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा हुने आक्रमणका घटना झन् बढ्न सक्ने र स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को कार्यान्वयन झन् फितलो हुने कुरामा कुनै दुबिधा नरहेको जानकारी गराउँदै रक्षक नै भक्षक हुने सम्भावनालाई नकार्न सकिन्न’, भन्ने उल्लेख छ । दुरुत्साहन को लागि प्रजिअ लाई कारबाहीको दायरामा ल्याउन र जिम्मेवारीबाट मुक्त गर्न समेत चिकित्सक सङ्घले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस