पशु स्वास्थ्य

‘ललितपुरमा फैलिदैँ ‘अफ्रिकन स्वाइन फिभर’ ७० भन्दा बढी बङ्गुर को मृत्यु’


ललितपुर– ललितपुर जिल्लाका बङ्गुरमा अत्यन्त सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । तीक्ष्ण रूपको यो रोगमा लक्षण देखिएको ४–७ दिन भित्र ९० देखि १०० प्रतिशत बङ्गुरहरू मर्न सक्छन् ।

ललितपुर महा नगरपालिका को २२ नम्बर वडा स्थित चुनी खेल, नख्खु खोलाको किनारामा किसानहरूले पालेको बंगुर/सुंगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।

खोला किनारा मा रहेका पशुपालकहरूको सुँगुर वंगुरमा यो सङ्क्रमण देखा परेको हो । एकदमै कडा भाइरल रोग रहेको यो सङ्क्रमणले हाल सम्म ७० भन्दा बढी बङ्गुर को मृत्यु भइ सकेको छ भने हाल सम्म यसको कुनै खोप छैन ।

‘धेरै सङ्क्रामक रहेको ‘अफ्रिकन स्वाइन फिभर’ पशु स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण हो’, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर का प्रमुख डा.बरुण कुमार शर्माले नेपालहेल्थप्रेससँग भने–‘ललितपुर महा नगरपालिकाले पठाएको नमुना लाई पिसिआर परीक्षण गर्दा बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि भएको हो ।’

ललितपुर महा नगरपालिका का पशु चिकित्सक डा.रामचन्द्र सन्जेलले हाल सम्म यो सङ्क्रमणले ७० भन्दा बढी सुँगुर बङ्गुरको मृत्यु भइ सकेको बताए ।

ललितपुर महा नगरपालिका का पशु सेवा शाखा प्रमुख राजेन्द्र विष्टले बङ्गुर हरुमा सङ्क्रमण केही समय अघि देखि नै शुरु भए पनि पछिल्लो साता देखि उल्लेख्य सङ्ख्यामा बङ्गुरको मृत्यु भइ रहेको बताए ।

हाल यो सङ्क्रमण ललितपुरबाट अन्त नसर्न को लागि कडा जैविक सुरक्षाको उपायहरू अपनाइएको समेत डा.सन्जेलले बताए ।

महा नगरपालिका ले सङ्क्रमण देखिएको ठाउँ वाट अन्त रोग सर्न नदीन हाल ललितपुरबाट सुँगुरको ओसार पसार, बिक्री वितरण बन्द गरेको छ भने खोला किनाराको पशुपालकहरू लाई निगरानी गरिरहेको छ ।

के अफ्रिकन स्वाइन फिभर पशु वाट मनुष्यमा सर्न सक्छ ? 

यो जुनोटिक अर्थात् पशु वाट मनुष्यमा सर्ने रोग होइन । यसैले यो सङ्क्रमणले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दैन । यो सङ्क्रमण मुख्य रूपले सुँगुर बङ्गुर प्रजाति वाट आफ्नै प्रजातिमा सर्ने गरेको छ ।

‘यो मनुष्यमा सर्दैन तर सुँगुर बङ्गुर वाट अन्य सुँगुर बङ्गुरहरूमा तीव्र गतिले सर्छ’, डा.शर्मा भन्छन–‘यो भन्दा अघि समेत ‘अफ्रिकन स्वाइन फिभर’ सङ्क्रमणले उपत्यकाको सुँगुर बङ्गुरहरू लाई सखाप पारेको हो ।’ डा.सन्जेलले यो सङ्क्रमण सुँगुर बङ्गुरमा मात्र सर्ने गरेको र अन्य जनावरमा सरेको रेकर्ड हाल सम्म नरहेको समेत बताए ।

कहिले देखि फैलिन थाल्यो यो सङ्क्रमण ? 

विश्वमा पहिलो पटक पूर्वी अफ्रिकाको केन्यामा सन् १९२१ मा पहिचान गरिएको यो रोग सन् १९५७ मा युरोपको पोर्चुगलमा, सन् २०१८ मा एसिया महादेशमा र सन् २०२१ मा उत्तर अमेरिकी महादेशको क्यारेबियन द्विपहरूमा देखा पर्यो ।

सार्क क्षेत्रीय भेटनेरी संघ का महासचिव डा.शितलकाजी श्रेष्ठका अनुसार नेपालमा यो रोग पहिलो पटक सन् २०२२ को मे महिनामा काठमाडौं को कागेश्वरी मनोहरा नगरपालिकाको एक बङ्गुर फर्ममा देखिएको हो ।

त्यसैगरी शुक्ला फाट राष्ट्रिय निकुञ्जका बँदेलहरूमा समेत यस रोगका कारण मरेको भनी सन् २०२३ को फरवरी महिनामा पुष्टि भएको जनाउँदै डा.श्रेष्ठ भन्छन–‘यो रोग देखा परेको दुई वर्षभित्र नै नेपालका २८ जिल्लाका विभिन्न स्थानहरूमा फैलिसकेको छ ।’

गण्डकी प्रदेशमा पहिलो पटक कास्की जिल्लामा सन् २०२२ को अगष्ट महिनामा यो रोग देखा परेको थियो । हाल सम्म मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका सबै जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभर फैलिएको पुष्टि भइसकेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!