८४ औं गोपाष्टमी महोत्सवः निःशुल्क कृत्रिम खुट्टा वितरण
काठमाडौं– मारवाडी सेवा समिति अन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४ औं गोपाष्टमी महोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ ।
परम्परागत मान्यता अनुसार भगवान कृष्ण ले पहिलो पटक गाई चराउन गएका दिन लाई मारवाडी समुदायले गोपाष्टमी रूपमा मनाउँदै आएका छन् ।
धर्मशालाले आवश्यक पर्ने व्यक्ति लाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने गरे पनि चाड पर्वको बिदाका कारण रोकिएको कृत्रिम खुट्टा वितरण गोपाष्टमी को अवसरमा आयोजित कार्यक्रममा सम्पन गरेको हो ।
मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद कुमार अग्रवालले गौशाला धर्मशालाबाट २०५४/५५ सालबाट निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम सुरु भएको जानकारी दिए । अग्रवालका अनुसार कृत्रिम बुट्टा वितरण कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न कारणले खुट्टा गुमाएका ६ हजार ७ सय जना लाभान्वित भएका छन् ।
धर्मशालाले कृत्रिम खुट्टा वितरणका अतिरिक्त मिर्गौलाका बिरामीलाई हेमोडायलाइसिस सेवा समेत निःशुल्क उपलब्ध गराइ रहेको छ ।
धर्मशालाका अध्यक्ष रमेश तापडियाका अनुसार २०७८ चैत २१ बाट सुरु गरिएको निःशुल्क हेमोडाइलाइसिस सेवा बाट हालसम्म ३ हजार १ सय २४ जना बिरामीलाई २७ हजार ९ सय ७५ पटक डाइलाइसिस गरिएको छ । हाल गौशाला धर्मशाला वाट १ सय ९५ जना बिरामीले निःशुल्क डाइलाइसिस गराइ रहेको छन । यस अन्तर्गत दिनहुँ ८० देखि ९० जनाको डाइलाइसिस हुने गरेको छ ।
धर्मशालाका अध्यक्ष तापडियाले यो बाहेक धर्मशालाले हरेक शनिवार निःशुल्क भोजन, निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिरहेको बताए ।
यस्तै धर्मशाला ले शव वाहनको निःशुल्क सेवा, मेला, पर्वमा तिर्थालुलाई निःशुल्क भोजन र आवास लगायत सेवा पनि प्रदान गर्दै आएको समेत तापडियाले बताए ।
मारवाडी सेवा समितिका अध्यक्ष अग्रवालका अनुसार मारवाडी समुदायले राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरमा १५ वटा गौशाला स्थापना गरेर गाई वस्तुको संरक्षण समेत गर्दै आएको छ । मुलुकमा करिब डेढ लाख भन्दा बढी मारवाडी समुदायको बसोबास रहेको छ ।
प्रतिक्रिया दिनुहोस