काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न जनचेतना फैलाउने , रसायनयुक्त स्प्रे , फगिङ्ग नगर्ने
काठमाडौं–काठमाडौँ महानगरपालिकाले बढ्दो डेंगु प्रकोप सँग जुध्न रसायनयुक्त स्प्रे , फगिङ्ग आदि नगरी जनचेतनालाई नै मुख्य हतियार बनाएको छ ।
काठमाडौं महानगर पालिकाका प्रवक्ता नवीन मानन्धरले डेंगु प्रकोपको विषयमा आठौँ नगर कार्यपालिका बैठकमा जनचेतना फैलाउने निर्णय भएको नेपाल हेल्थ प्रेस लाई बताए ।
‘डेंगु आउट ब्रेकको विषयमा जनचेतना फैलाउने, चुन छर्ने र रसायनयुक्त स्प्रे , फगिङ्ग आदि नगर्ने आठौँ नगर कार्यपालिकाको बैठकमा निर्णय भएको छ’, मानन्धरले भने । पछिल्लो समय काठमाडौं मा डेँगुको केस बढ्दो देखिएको छ ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेका अनुसार काठमाडौँ को विभिन्न स्थान वाट फाट्ट फुट्ट डेंगु संक्रमित दिनहुँ उपचारको लागि आउने गरे पनि कालिमाटी , बल्खु , सीतापाइला वाट हाल बढी मात्रामा बिरामी आइ रहेका छन ।
उपत्यकामा डेँगुको प्रकोप जाडो याम न देखिए सम्म जारी रहने औँल्याउदै डा.शर्मा भन्छन–‘आम व्यक्तिले लामखुट्टेको टोकाई वाट बाच्नु पर्यो र लामखुट्टेको बृद्घि हुन नदिन प्रजनन स्थल नष्ट गर्नु पर्यो ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.चुमन लाल दासको अनुसार सन २०२२ मा हाल सम्म उपत्यका अन्तर्गत काठमाडौं मा ३ सय ३२ जना , भक्तपुरमा ५४ र ललितपुरमा ८ सय ५८ डेगुको केस देखिएको छ ।
‘डेंगु सँग जुध्न स्थानीय सरकारले लामखुट्टे विरुद्ध सर्च एण्ड डेस्ट्रोय अभियान जारी राख्नु पर्छ’, डा.दास भन्छन् ।
डेंगु एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा हुने भाइरल सङ्क्रमण हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेँगुको संक्रमण हुन्छ ।
डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ । डेँगुको संक्रमण बयस्कको दाँजोमा बालबालिका र बूढापाकामा बढी देखिन्छ ।
टेकु अस्पतालमा भर्ना रहेका राजधानीको डेंगु सङ्क्रमितहरू मध्ये धेरै जसोमा १०४–१०५ डिग्री सम्म कडा ज्वरो, बेस्सरी टाउको र जिउ दुख्ने, आखाको गेडी दुख्ने , खान मन नलाग्ने, वाकवाकी, वान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस