अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

‘जेष्ठ नागरिकको सम्मान सहित वृद्धावस्था, हेरचाह र सहयोगमा जागरूकता’


विश्व ज्येष्ठ नागरिक दिवस एक सामाजिक जागरूकता अभियान हो । जुन ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्न र उनीहरूले सामना गर्ने चुनौती हरूको बारेमा सचेतना फैलाउने उद्देश्यको साथ मनाउने गरिन्छ ।

वृद्धहरूको हेरचाह, सम्मान र सहयोगको दरिलो संरचनाको आवश्यकता लाई जोड दिँदैं यसले ज्येष्ठ नागरिकहरूले कसरी मर्यादित, स्वतन्त्र र उच्च गुणस्तरको जीवन यापन गर्न सक्छन् भन्ने विषय वस्तु सुनिश्चित गर्न फराकिलो दृष्टिको आवश्यकतालाई पहिल्याउँछ।

जेष्ठ नागरिकहरूको सम्मान सहितको वृद्ध अवस्था एक विश्वव्यापी चुनौतीः 

एकातिर विश्वव्यापी रूपमा मानिसहरूको उमेर बढ्दै गइरहेको छ भने, अर्को तिर वृद्ध अवस्थामा पुगेका ज्येष्ठ नागरिकहरूको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु अति नै महत्वपूर्ण छ ।

कुनै पनि व्यक्तिको सम्मान भनेको उहाँहरूको आफ्नो जीवनमा समाजलाई दिनु भएको देन, उहाँ को जीवनको सबल पक्षहरू, त्यसै गरी उहाँ को व्यक्तित्व लाई पहिचान गर्नु को साथ साथै उहाँ हरूको शारीरिक कमजोरी, भावनात्मक हेरचाहको आवश्यकता , कानुनी सेवा तथा सामाजिक सहयोगको आवश्यकता जस्ता विभिन्न विषयहरूलाई सम्बोधन गर्नु पनि हो ।

जेष्ठ नागरिक उपचार कार्यक्रम नेपाल सरकारको सराहनीय प्रयास

नेपाल सरकारले सरकारी तथा गैरसरकारी अस्पतालहरूमा छुट सहितको निःशुल्क जेष्ठ नागरिक उपचार कार्यक्रम सञ्चालन गरी सराहनीय कदम चालेको छ ।

यो कार्यक्रम ज्येष्ठ नागरिकहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य को साथमा सकारात्मक सुरुवात भए तापनि यस कार्यक्रममा थप सुधारको आवश्यकता छ ।

धेरै अस्पतालहरूमा वृद्ध जनसङ्ख्याको जटिल स्वास्थ्य समस्याहरूको आवश्यकताहरू पूरा गर्न आवश्यक भौतिक पूर्वाधार तथा पर्याप्त स्रोत साधन, प्रशिक्षित स्वास्थ्य कर्मी जस्ता सुविधाहरूको अभाव छदैछ ।

जेरियाट्रिक सेवा उहाहरूको हेरचाह र स्वास्थ्य उपचारमा मात्र सीमित नभई ज्येष्ठ नागरिक कार्यक्रम विस्तार गर्न – कानुन, सुरक्षा, यातायात, छुट सहितको खाद्यान्न जस्ता अन्य सेवा प्रणालीहरू बीच थप समन्वयको आवश्यकता छ । यसबाट ज्येष्ठ नागरिकहरूले घरमा सम्मान र माया पनि पाउनेछन् ।

थोरै प्रसङ्ग बदलौः 

हाम्रो बाबा आमाहरूले हाम्रो जीवनमा खेल्ने भूमिकालाई विचार गर्यौ भने उहाँहरूले वृद्ध अवस्थामा सम्मान साथमा वृद्ध जीवन बिताउनु कतिको महत्वपूर्ण छ भन्ने कुराको गहिरो अनुभूति दिलाउँछ ।

हामी मध्ये धेरैले कुनै खेल खेल्न जाँदा, साथीले कुट्दा वा चोटपटक लाग्दा, दौडेर आमा बुवा कहाँ पुग्ने र मायाको अपेक्षा राख्ने र त्यसपछि फेरि फर्केर आफ्नो खेल खेल्न थाल्ने जस्तो गतिविधि हामी सबैले गरेकै हुन्छौ ।

यही प्रसङ्गमा, हाम्रा बाबा आमाहरू सँग बाल्य कालमा सुरु भएको एक किसिमको सुरक्षाको अनुभूति र समीपता जीवनभर नै अनुभव गर्ने गर्छौं । हामी जति ठूलो भए तापनि कामको सिलसिलामा जति टाढा बसेता पनि बेला बेला याद आइनै रहन्छ, हाम्रा आमा बाबुको माया । उहाँहरूको हेरचाह र संरक्षणले हाम्रो छोरा छोरीहरूको भावनात्मक आवश्यकतालाई बेग्लै सुरक्षा चक्र घेराको आकार दिएको हुन्छ । हामी वयस्क भएपनि हामीभित्र एउटा सानो बच्चा हुन्छ ।

जब सम्म हाम्रा आमा बुवाहरू जीवित हुन्छन् हामीहरू आफ्नो जीवनमा परेको कठिन समयमा उहाँहरूबाट सान्त्वना, मार्गदर्शन, र प्रेम खोजी रहेको हुन्छौं ।

उहाहरूको उपस्थिति मात्रले हामीलाई सुरक्षाको अनुभूति प्रदान गर्ने गरिरहेको हुन्छ । उहाँहरूको अँगालो, प्रोत्साहनका शब्दहरू र आश्वासनहरू हाम्रो अदृश्य शक्तिको स्रोत बनिरहेको हुन्छ ।

उहाहरुले हामीलाई छोडेर गइ सकेपछि, हाम्रो जीवन अदृश्य रूपमा परिवर्तन भइरहेको महसुस हुन्छ । अब, हाम्रो जीवनका उपलब्धिहरू जे सुकै भए तापनि हामी एक प्रकारले अनाथ बन्छौं ।

आमा बाबु हाम्रो साथमा नहुदा, उहाहरुले छोड्नु भएको रित्तो पन जीवनका सफलता र रमाइला क्षणहरूले पूरा गर्न सक्दैन । हामीले आफ्नो पारिवारिक जीवन सुरु गरे तापनि आमा बुवाको माया र अनुहार हाम्रो हृदयको वरिपरि सदा रहि रहन्छ ।

जसरी, हामी हाम्रा आमा बाबु बाट माया ममता, सुरक्षाको चाहना राख्छौं, त्यस्तै उहाहरुले पनि आफ्नो बुढेस कालमा आइ पर्ने एक्लोपन र विभिन्न चुनौतीहरूको सामना गर्दा हाम्रो साथ सहयोग, माया, आश्वासन, समर्थन को अपेक्षा गरिरहेका हुन्छन् ।

जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा बाहेक पनि सामाजिक सम्मान, सुरक्षा र भावनात्मक हेरचाह चाहिन्छ । धेरै ज्येष्ठ नागरिकहरू बेवास्ता, एक्लो पन र पारिवारिक दुर्व्यवहारको सामना गरिरहेका हुन्छन् । जसले उहाँहरूको शारीरिक, मानसिक र समग्र स्वास्थ्यलाई नै असर पुर्याइरहेको हुन्छ।

सरकारले ज्येष्ठ नागरिकहरूको लागि सामाजिक सुरक्षा का कार्यक्रम हरूको साथमा कानुनी सुरक्षालाई पनि सुदृढ पार्नु ,भौतिक सुरक्षा र वित्तीय स्थिरता दुवैको दृष्टिले महत्वपूर्ण छ ।

सरकारले थप सुविधा युक्त सार्वजनिक वृद्धाश्रमहरू स्थापना गर्न पहल गर्नुपर्छ । जहाँ पारिवारिक सहयोग नभएका वृद्ध व्यक्तिहरू सम्मान पूर्वक बाच्न र आवश्यक हेरचाह प्राप्त गर्न सकोस् । भावनात्मक हेरचाह अर्को महत्वपूर्ण पक्ष हो जसलाई प्रायः बेवास्ता गरिन्छ । धेरै वृद्धहरूले आफ्नो नजिकको साथी , आफ्नो श्रीमान श्रीमती वा अन्य परिवारका सदस्यहरू गुमाउँदा एक्लो पन महसुस गर्छन् ।

वृद्ध वृद्धाहरू सम्मान साथ बाच्न पाउने अधिकार सुनिश्चित गर्न एकीकृत हेरचाह प्रणाली सुदृढीकरण

विश्व ज्येष्ठ नागरिक दिवस २०२४ मा, नेपाल सरकारले वृद्ध जन संख्याहरुको प्रमुख आवश्यकतालाई सम्बोधन गर्न ज्येष्ठ नागरिक कार्यक्रमलाई सुधार र विस्तार गर्न प्राथमिकता दिनु पर्छ ।

सरकारी अस्पतालहरूमा निःशुल्क तथा छुट सहितको ज्येष्ठ नागरिक सेवा एउटा राम्रो सुरुवात भए ता पनि नेपालमा वृद्ध वृद्धाहरू सम्मानका साथ बाच्न पाउने अधिकार सुनिश्चित गर्न हेरचाह प्रणाली सुदृढ पार्नु अति नै आवश्यक छ ।

त्यसको लागि परिवार, समुदाय र सरकारले वृद्ध वृद्धाहरूलाई सम्मान, हेरचाह र सहयोगको वातावरण सिर्जना गर्न समन्वय गरेर अगाडि बढ्नुपर्छ । (लेखक डा.त्रिभुवन चन्द्र झा, रसुवा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!