‘किओच काठमाडौं बाल अस्पताल लाई ९ करोड सहयोग’
काठमाडौं – काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई डा. शशि भूषण उपाध्यायले नौ करोड रुपियाँ सहयोग गर्ने भएका छन् ।
इन्स्टिच्युट र डा.उपाध्यायका बीच काठमाडौंमा निर्माण हुन लागेको किओच काठमाण्डौ बाल अस्पताल भवनको उत्तरी ब्लक निर्माण गर्न सोमवार सम्झौता भएको हो ।
काठमाडौको बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पताल का रूपमा बहु बिशिष्टिकृत किओच–काठमाण्डौ बाल अस्पतालको निर्माण कार्य जारी छ ।
डा उपाध्यायले सहयोग रकमको पहिलो किस्ता बापत दुई करोड सत्तरी लाख रुपियाँ को चेक इन्स्टिच्युटका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई सोमवार नै हस्तान्तरण गरे ।
नेपालका बाल बालिकाहरूको उपचारमा सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै डा. उपाध्यायले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई धन्यवाद समेत दिए । उनले आफूले उपलब्ध गराएको सहयोग समेत बाट निर्माण सम्पन्न भई बालबालिकाले उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
यस सहयोगले अस्पताल निर्माण समयमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने र निकट भविष्यमा सेवा उपलब्ध गराउन सकिने विश्वास इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले व्यक्त गरे । उनले सहयोग रकमको सही सदुपयोग गरिने प्रतिबद्धता समेत व्यक्तगरे।
यस प्रकृया लाई सहजीकरण गर्ने नरेश चन्द्र लामिछानेले यस सहयोगले नेपालका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन सक्ने विश्वास व्यक्त गरे ।
किओच बाल बालिकाहरू लाई सुलभ रूपमा गुण स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले स्थापित गैर नाफा मूलक संस्था हो ।
नेपालमा कुल जनसङ्ख्याको ३६ प्रतिशत भन्दा वढी सङ्ख्या बालबालिकाले ओगट्ने गरेको छ । काठमाडौं मा बहु विशिष्ट कृत बाल अस्पताल तथा देशको सबै प्रदेशमा भौतिक संरचना सहितका स्याटलाइट बाल अस्पताल सञ्चालन गर्ने यस संस्थाको लक्ष्यहो।
बालबालिकालाई उपचारको अभाव वाट हुने क्षति, अपाङ्गता बाट बचाउनु र परिवारलाई गरिबीको दुश्चक्रमा पर्न बाट रोक्न प्रयास गर्नु यसको ध्येय रहेको छ ।
यस परियोजनाको पहिलो किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापित भएर एक वर्षमा एक लाख बालबालिकालाई सेवा प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस