‘नेपालगञ्ज मेडिकल कलेजले उपचारमा लापरबाही गरेको ठहर, २६ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला सदर’

नेपालगन्ज —नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले बिरामी उपचारमा लापरबाही गरेको ठहर गर्दै मृतक परिवार लाई २६ लाख १० हजार क्षतिपूर्ति दिनुपर्ने जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ ।
नेपालगन्ज उप महा नगरपालिका–२ घरबारी टोलका मनितलाल श्रेष्ठको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मनितलालको श्रीमती नम्रता श्रेष्ठले जिल्ला अदालतमा लापरवाहीले श्रीमानको मृत्यु भएको आरोप लगाउँदै ०७६ श्रावण ३१ गते मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा जिल्ला अदालत बाँकेले ०७९ फागुन ११ गते अस्पतालको लापरबाहीका कारण श्रेष्ठको मृत्यु भएको ठहर गर्दै २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
यस फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालत तुलसी पुर नेपालगन्ज इजलासले जिल्ला अदालतको फैसलालाई मङ्गल बार सदर गरेको हो ।
अस्पतालमा प्रशिक्षण गर्न आएका विद्यार्थी (ओजेटी) लाई उपचारमा संलग्न गराएको कारण सामान्य ज्वरो पछि अस्पतालको इमर्जेन्सी वार्डमा पुगेका मनित लाल को मृत्यु भएको भन्ने पीडित परिवारको दाबी थियो ।
फैसलाले ढिलै भए पनि न्यायको अनुभूति मिलेको जनाउँदै नम्रताले यसले अस्पताल लाई थप जिम्मेवार बनाउन सहयोग पुर्याएको बताइन ।
प्रतिक्रिया दिनुहोस