१५ औ विश्व सम्मेलन, सेफ्टी २०२४

‘चोटपटक र हिंसाले वर्षेनी ४४ लाखको मृत्यु, विश्वमा सडक दुर्घटनाले हुने मृत्युको २८ प्रतिशत दक्षिण पूर्व एसियामा’


नयाँ दिल्ली – वर्षेनी चोट पटक र हिंसाले ४४ लाख मनुष्यको ज्यान लिइ रहेको छ भने लाखौँ लाई घाइते बनाएर दीर्घकालीन पीडामा बाच्न बाध्य गरिरहेको छ । चोट पटक र हिंसा को ९० प्रतिशत भन्दा बढी बोझ बोझ न्यून र मध्यम आय भएको मुलुकहरूले वहन गर्छ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित चोटपटक रोकथाम र सुरक्षा प्रवर्द्धन सम्बन्धी १५ औ विश्व सम्मेलनमा विज्ञहरूले उक्त कुरा बताएका हुन । नेपालका विज्ञहरू समेत सहभागी रहेका यस सम्मेलनको उद्देश्य सडक सुरक्षा र डुब्ने रोकथाम जस्ता क्षेत्रमा विश्वव्यापी प्रयासहरू केन्द्रित गर्नु थियो ।

सम्मेलनको आयोजना इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्ली र जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थ, अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) र नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेज सँगको सहकार्यमा आयोजित सम्मेलन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा सह प्रायोजित हो ।

भारतका केन्द्रीय सडक तथा यातायात मन्त्री नितिन गडकरी द्वारा गत सोमवार उद्‌घाटन गरिएको तिन दिने अन्तर्राष्ट्रिय सम्मेलन नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलन आयोजकहरूको अनुसार चोट पटक र हिंसाले ५ देखी २९ वर्ष उमेरका युवाहरू धेरै बढी प्रभावित छन् । यो उमेर समूहमा मृत्युको प्रमुख ५ कारणहरू मध्ये चोटपटक समेत पर्छ । यसले कम उमेर मै मृत्यु हुनुको सँगै राष्ट्रिय अर्थ तन्त्रमा समेत अरबौं डलरको नोक्सान हुने भएकोले चोटपटकको आर्थिक भार समेत विकराल छ ।

शिखर सम्मेलनमा बोल्दै, डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदले भनिन–‘हाम्रो क्षेत्रमा सडक यातायातले हुने मृत्युमा पैदल यात्री, साइकल चलाउने, दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन चलाउने, लगायतका गरी कमजोर सडक उपयोगकर्ताको सङ्ख्या ६६ प्रतिशत छ ।’

डब्ल्यूएचओले दक्षिण पूर्वी एसिया क्षेत्रका देशहरूलाई सडक ट्राफिक र सडक दुर्घटनाका कारण हुने मृत्युलाई कम गर्न उपायहरू तीव्र बनाउन अपिल गरेको छ । १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूको मृत्युदरको मुख्य कारण सडक यातायात वा सडक दुर्घटनालाई मानिन्छ ।

डब्ल्यूएचओ को डिपार्टमेन्ट फर सोसल डिटरमिनेन्टस अफ हेल्थ का निर्देशक डा. एटिन कुर्गले भने कि सन २०२१ मा विश्वमा अनुमानित १.१९ मिलियन सडक दुर्घटनाहरू भएका थिए । जस मध्ये ३३०२२३ जनाको मृत्यु डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रमा भएको थियो जुन विश्वमा सडक दुर्घटनाका कारण हुने मृत्युको २८ प्रतिशत हो ।

डा. एटिनी कुर्गले सन् २०३० सम्ममा विश्वको ७० प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बस्ने अनुमान गरिएको बताए । यसले सार्वजनिक यातायातको माग बढ्नेछ ।

डब्ल्यूएचओ दक्षिण पूर्व एसिया क्षेत्रले तीव्र सहरीकरणको बीचमा साझा चुनौतीहरूको सामना गरिरहेको छ । जसमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको उच्च संख्या, ट्राफिकमा भएको चोटपटकको तथ्यांकमा कमी कमजोरी, खराब पैदल यात्रु र साइकल चालकको पूर्वाधार र सीमित आपत् कालीन सेवा जस्ता चुनौतीहरू पर्छन् ।

जर्ज इन्स्टिच्युट इण्डियाका कार्यकारी निर्देशक प्रोफेसर विवेकानन्द झा भन्छन्, ‘सडकमा चोटपटक लाग्ने जोखिम न्यून आय भएका देशहरूमा सबैभन्दा बढी हुन्छ । हामीले यो जोखिम कम गर्न आवश्यक छ, यसका लागि हामीले प्रभावकारी योजना र नीतिमा काम गर्नु पर्नेछ । यो जोखिम सामाजिक, वातावरणीय र व्यावसायिक लक्ष्यहरूमा आधारित नीति द्वारा कम गर्न सकिन्छ ।

नेपाल लगायतका मुलुकमा चोट पटक अनुसन्धान अत्यन्त न्यून

उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा डब्लुएचओ को दक्षिण पूर्व एसिया क्षेत्रमा बालबालिकामा चोटपटक को स्थिति वारे इन्ज्युरी प्रिभेन्सन रिसर्चर (चोट पटक रोकथाम अनुसन्धान कर्ता) पुष्प राज पन्तले कार्य पत्र प्रस्तुत गर्दै भने भारत, बंगलादेश र थाइलेण्ड बाहेक दक्षिण पूर्व एसियाका अन्य मुलुक हरुमा चोट पटक सम्बन्धी अनुसन्धानको सङ्ख्या अत्यन्त न्यून छ ।

यसैले नेपाल लगायतका ई मुलुकहरूमा चोट पटकको वास्तविक अवस्था अझै अन्योलमा छ । हाल भइ रहेको अनुसन्धान पनि विदेशमा बस्ने ती मुलुकहरूको अनुसन्धानकर्ताहरुले गरिरहेका छन् । यसैले स्वदेशमा क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!