चिकित्सक सङ्घले बिदामा बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन सरकार सँग माग गर्यो’


काठमाडौं– नेपाल चिकित्सक सङ्घले डाक्टर तथा स्वास्थ्य कर्मीको शारीरिक, मानसिक स्वास्थ्य लाई बेवास्ता गर्दै बिदाको दिनमा समेत स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकार को निर्णय अविलम्ब फिर्ता लिन माग गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले व्यक्तिको काम गर्ने समय साताको ४० घण्टा तोके पनि डाक्टर, स्वास्थ्य कर्मीहरू दिन रात नभनी २४ देखि ७२ घण्टा सम्म लगातार सेवामा खटिन पर्ने बाध्यता रहेको औँल्याउँदै चिकित्सक संघ ले सोमवार विज्ञप्ति जारी गर्दै बिदाका दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारी निर्णय मानवताको दृष्टिकोण ले अव्यवहारिक तथा अवैज्ञानिक भएको जनाएको हो ।

स्मरण रहोस् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पताल बाट प्रवाह हुने स्वास्थ्य सम्बन्धी सेवा (बहिरङ्ग सेवा समेत) प्रवाह गर्नुपर्ने र सो को लागि समन्वय, प्रचार प्रसार र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई भदौ ७ गते पत्राचार गरेको थियो ।

मुलुकमा २०४८ साल देखि सरकारी अस्पतालहरूमा स्वास्थ्य मन्त्रालय द्वारा दरबन्दी थपिएको छैन । जसले गर्दा अस्पतालहरूमा गुण स्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधाहरू ज्यादै न्यून रहेको अवस्था छ ।

डाक्टर तथा स्वास्थ्य कर्मी समेत मनुष्य नै भएकोले अन्य पेशाकर्मी लाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेको जनाउँदै चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्य कर्मी लाई आराम गर्नको लागि सातामा दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहि आएको समेत सरकारलाई विज्ञप्ति मार्फत स्मरण गराएको छ ।

हरेक स्वास्थ्य संस्थाहरूमा बिदाका दिनहरूमा जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवाहरू सुचारु रहने कुरा सर्व विदितै रहेको औँल्याउँदै चिकित्सक सङ्घले विज्ञप्ति मार्फत सरकारलाई भनेको छ –‘यसका बाबजुद स्वास्थ्य कर्मीहरूलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरीत बिदाका दिनमा समेत बहिरङ्ग सेवा सुचारु भएको खण्डमा स्वास्थ्य कर्मीहरूका शारीरिक तथा मानसिक तनाव (स्ट्रेस) बढेर बर्न आउट हुने तथा गुण स्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ ।’

कामको अत्याधिक बोझ तथा निरन्तर तनावले गर्दा चिकित्सक, स्वास्थ्य कर्मीहरूको पारिवारिक जीवनमा समेत गम्भीर असर पर्न गई परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्ध विच्छेद सम्म हुने गरेका घटनाहरू देखिएको सङ्घले जनाएको छ ।

यसका साथै कतिपय स्वास्थ्यकर्मीहरुमा अत्याधिक तनावका कारण जटिल मानसिक समस्याहरू उत्पन्न भई ‘सुसाइडल टेन्डेन्सी’ समेत देखा परिरहेको हालको अवस्थामा बिदाको दिनमा समेत थप कार्य बोझ थपि दिने कार्य चिकित्सक तथा स्वास्थ्य कर्मी प्रति ठूलो अन्याय रहेको चिकित्सक सङ्घले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!