‘विश्वको उत्कृष्ट अस्पताल जस्तै नतिजा साथ १२ वर्षमा १३०० मृगौला प्रत्यारोपण’

भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा विश्वकै उत्कृष्ट अस्पताल जस्तै नतिजा दिई रहेको मृगौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताए ।
निर्देशक समेत रहेका डा.पुकारले केन्द्र द्वारा सफलता पूर्वक १३०० जनाको मृगौला र २८ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको अवसरमा बिहीवार आयोजित विशेष कार्यक्रमका उक्त कुरा बताएका हुन ।
संसारको उत्कृष्ट अस्पतालहरू जस्तै परिणाम दिन सक्नुमा केन्द्रमा दिन रात नभनी खटिने सम्पूर्ण कर्मचारीहरूको ठूलो योगदान रहेको औँल्याउँदै डा.पुकार ले भने–‘केन्द्रको आफ्नो एक इन्च पनि जग्गा र उपयुक्त भवन नभएको हालको अवस्थामा पनि देश मै सबै भन्दा बढी र सबै भन्दा सफल प्रत्यारोपण गर्दै आएको छ । हामीले उपयुक्त मौका पायौं भने यसभन्दा पनि राम्ररी नेपाली जनताकोको सेवा गर्न सक्छौं।’
उपयुक्त जमिन उपलब्ध हुना साथ प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गरी तत्काल ३०० बेडको प्रिफ्याबका भवन ६ महिना भित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भएको डा.पुकारले बताए ।
उनले तत्काल नेपाल सरकार सँग भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित उद्योग मन्त्रालयको स्वामित्वमा रहको २५८ रोपनी जग्गा मध्ये १०० रोपनी जग्गा केन्द्रलाई उपलब्ध गराउनु पर्ने माग समेत गरे ।
उक्त जग्गा उपलब्ध भएमा मृगौला र कलेजो प्रत्यारोपणको लागि पर्खाइमा रहेका बिरामीहरूलाई निर्बाध सेवा दिन सकिने केन्द्रले जनाएको छ ।
बिहीवार आयोजित मस्तिष्क मृत्यु पछि हुने अङ्ग दान र प्रत्यारोपण सम्बन्धी विशेष कार्यक्रम मा सरकारको मुख्य सचिव लीला देवी गडतौलाले १३०० मिर्गौला प्रत्यारोपण गरेको मा केन्द्र परिवारलाई धन्यवाद दिए ।
केन्द्रले प्रत्यारोपण क्षेत्रमा उपलब्ध गराइरहेको सेवा प्रति नेपाल सरकार अत्यन्त खुशी रहेको जनाउँदै मुख्य सचिव गडतौलाले यसबाट देश भरका अङ्ग फेल भएका बिरामीहरू लाभान्वित हुँदै गएको बताइन ।
उनले अत्यन्त सीमित भौतिक पूर्वाधार बीच केन्द्रले विश्व स्तरीय सेवा उपलब्ध गराउनु देशकै गौरवका विषय भएको बताइन । केन्द्रका लागि उपयुक्त जग्गा प्राप्ति गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत मुख्य सचिवले व्यक्त गरिन ।
गत आर्थिक वर्ष २०८०/८१ मा १९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी जम्मा २११ जनाको प्रत्यारोपण शत प्रतिशत सफलताका विश्व मा विरलै रहेको रेकर्ड साथ गरिएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस