शक्तिशाली औषधि हो चट्टेल

‘मासु भन्दा ५० गुणा बढी तागत भएको झुसे करेला’


काठमाडौं–अहिले तरकारी बजारमा झुसे करेला देखिन थालिएको छ । झुसे करेला अर्थात् चट्टेल एक तरकारी हो जसलाई आयुर्वेदमा शक्तिशाली औषधिको रुपमा चिनिन्छ । मधेस तिर यसलाई मैथिली भाषामा चठैल, हिन्दीमा कंटोला, मीठा करेला संस्कृत मा कर्कोटकी भनिन्छ ।

वानस्पतिक नाउ मोमोर्डिका डाइओका रहेको झुसे करेला लाई अङ्ग्रेजीमा स्पाइन गोर्ड भनिन्छ । वर्षा याममा बढी पाइने यो तरकारी करेला प्रजातिको भए पनि तीतो हुँदैन ।

भारतीय कृषि अनुसन्धान परिषद् को ईपत्रिका ‘फलफूल’, मा सन २०२४ को मार्च अप्रिलको अङ्क मा प्रकाशित एक विज्ञ लेख मा झुसे करेला मा मासु भन्दा ५० गुणा बढी तागत र प्रोटिन हुने कुरा उल्लेखछ।

यसमा पाइने फाइटो केमिकल्स र एन्टि अक्सिडेन्टले शरीरलाई भित्रबाट सफा र स्वस्थ राख्न मद्दत गर्छ । झुसे करेलाका धेरै फाइदाहरू छन् । यो पचाउन सजिलो हुन्छ । यसमा कम क्यालोरी हुन्छ । यसमा धेरै रासायनिक यौगिकहरू छन्, जुन शरीरको लागि लाभदायक हुन्छ ।

भारत को मुम्बई स्थित कोकिला धिरु भाइ अम्बानी हस्पिटल एण्ड मेडिकल रिसर्च इन्स्टिच्युट ले झुसे करेलाको फायदा बारे आफ्नो वेभ साइटमा उल्लेख गरेको हेल्थ टिप्स अनुसार यो एन्टि अक्सिडेन्ट र फ्लेभोनोइड्सको समृद्ध स्रोत हो ।

यसमा एन्टि लिपिड पेरोक्सिडेटिभ गुणहरू हुन्छ, जसले बोसोको अक्सिडेशन लाई रोक्छ । यसरी झुसे करेला ले फ्याटी लिभर (कलेजो) रोग बाट जोगाउँछ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा.राम आधार यादवले स्वास्थ्यको लागि बहु उपयोगी रहेको झुसे करेला आयुर्वेदमा थुप्रै रोगको उपचारमा प्रयोग गरिने बताउँछन् ।

यो श्वास प्रश्वास सम्बन्धी विकारहरू रोक्ने र निको पार्ने समेत औँल्याउँदै डा.यादब भन्छन् –‘झुसे करेला आयुर्वेदमा दम, ब्रोङकाइटिस र बन्द भएको साइनसको उपचार मा उपयोग हुन्छ ।’

झुसे करेलामा न्यूरो–संरक्षणात्मक (न्युरो प्रोटेक्टिभ) गुणहरू हुन्छन् र यसले सेन्ट्रल नर्भस सिस्टम (केन्द्रीय स्नायु प्रणाली) मार्फत मस्तिष्कको कार्यलाई समर्थन गर्दछ । आयुर्वेदमा, झुसे करेला मानसिक विकारहरूको उपचार गर्न समेत प्रयोग गरिने डा.यादब बताउँछन् ।

यति मात्र नभइ यो रक्तचाप सँग लड्न मद्दत गर्छ र संक्रमणलाई रोक्छ । उच्च वा निम्न रक्तचापबाट पीडित हरुले यसलाई आफ्नो आहारमा समावेश गर्न सक्छन् ।

यसले सामान्य रुघाखोकी , चिसो र अन्य भाइरल रोगहरू बाट पनि जोगाउन सक्छ । यसमा प्रोटिन तथा ऊर्जा प्रशस्त मात्रामा हुन्छ । यसैले यो कुपोषण हटाउन प्रभावकारी उपचार हो । अझ कुपोषित शिशुहरुको लागि यो औषधि जस्तै हो ।

झुसे करेलामा भिटामिन बी, सी र आइरन प्रशस्त मात्रा हुन्छ । यसले महिला र बालिकाहरूमा हिमोग्लोविन बढाउन सघाउँछ ।

यसमा हाइपोग्लाइसेमिक गुण हुन्छ । यसले प्यान्क्रियाटिक विटा सेलहरूलाई पनि सुरक्षा र पुनः उत्पन्न गर्छ । थप रूपमा, यसले इन्सुलिनको स्राव र इन्सुलिन संवेदनशीलता दुवै सुधार गर्दछ । सबै स्तरहरूमा मधुमेह व्यवस्थापन गर्न मद्दत गर्दछ ।

‘झुसे करेलाको बिरुवाको विभिन्न भागहरू भारत र नेपालमा मधुमेह को लागि परम्परागत हर्बल उपचारको रूपमा प्रयोग गरिन्छ’, डा.यादबको अनुसार मधुमेहको उपचारको लागि, यसलाई भुटेको तरकारीको रूपमा वा अन्य सागहरू सग मिसाएर जूस को रूपमा पिउने गरिन्छ ।

तथ्य पत्रहरु अनुसार यसको सेवनले मधुमेहका विरामीहरु लाई धेरै फाइदा हुन्छ । झुसे करेलामा भएको फाइटो पोषक तत्व, पोलीपेप्टाइड ले शरिरमा रगतमा भएको चिनी को स्तर लाई नियन्त्रित राख्न सघाउँछ । रेशा र पानीको मात्रा बढी हुने कारणले यो मधुमेह रोगीको लागि फायदा कारी मानिन्छ ।

झुसे करेला ले छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । यसमा बिटा क्यारोटिन, ल्युटिन र जेक्सान्थिन जस्ता फ्लेभोनोइड्स पाइन्छ जसले बढ्दो उमेरको लक्षण लाई कम गर्छ । यसको नियमित सेवनले अनुहार को च्याउरी, झोलिने छाला, , टाउको मा रेखाहरू चाडै आउँदैन । यसलाई सेवन गर्दा छालको भित्र रहेको कोलेजन कस्सिएको (टाइट) र बलियो हुन्छ । यो तरकारीले छालाको लागि एन्टी एजिङको काम गर्छ ।

आयुर्वेदको ग्रन्थ भाव प्रकाशमा झुसे करेला

आयुर्वेदमा झुसे करेला लाई कर्कोटकी भनिन्छ । आयुर्वेदको ग्रन्थ भाव प्रकाश मा शाक वर्ग (साग सब्जी) मा यसको वर्णन गरिएको छ । आयुर्वेद ग्रन्थ भाव प्रकाश अनुसार यसको प्रयोग विभिन्न रोगमा गरिएको देखिन्छ ।

यसको फल मा एन्टि डाइविटिक, हेपाटो प्रोटेक्टिभ, र कलेजोको कोष लाई जोगाउने, कलेजोमा जम्मा भएको वोसो लाई निकाल्ने गुण हुन्छ । यसको प्रयोग उच्च रक्तचापको रोगीहरुमा पनि गरिन्छ ।

यो ज्वर प्रतिरोधी (एन्टिपाइरेटिक) गुणले युक्त हुन्छ । यसमा एन्टि डिप्रेसेन्ट (अवसाद प्रतिरोधी) गुण पनि हुन्छ । झुसे करेला को पातमा एन्टि हेल्मेथिक (जुका प्रतिरोधी) गुण समेत हुन्छ । साथै यसको पातको चूर्ण वा रस पाइल्स रोग मा गुणकारी हुने भाव प्रकाशमा उल्लेख छ ।

यसको पातको रस एफ्रोडेसिक अर्थात् यौन शक्ति क्षमता बढाउने गुणले युक्त हुन्छ । यसको पातको काँढा बनाएर खादा एन्टि एस्थेमेटिक अर्थात् दम रोगको लागि गुणकारी मानिन्छ ।

यसको पातको रस एन्टि अल्सर अर्थात घाउ छिटो निको पार्ने हुन्छ । यसको जरा को चूर्ण एन्टि डाइविटिक, एन्टि इन्फ्लामेट्र्रि, एन्टि अल्सर गुण ले युक्त हुन्छ ।

यो स्वास रोग, कास रोग मा उपयोगी हुनुको साथै यसमा रुचिकारक (एपेटाइजर) गुण पनि हुन्छ । आयुर्वेदको ग्रन्थ भाव प्रकाशमा झुसे करेला को सेवनले त्वचा विकार, चर्म रोगमा समेत निकै लाभकारी रहेको उल्लेख छ ।

गुणको खानी झुसे करेला

  • यसले पाचन सुधार गर्छ ।
  • मृगौलाको पत्थरी हटाउँछ ।
  • यसले आँखाको ज्योती बढाउँछ ।
  • क्यान्सरको सम्भावना कम गर्छ ।
  • यो पायल्स निको पार्ने घरेलु उपाय हो ।
  • यो रुघाखोकीको उपचारमा उपयोगी हुन्छ ।
  • गर्भावस्थाको धेरै समस्यामा पनि लाभदायक हुन्छ ।

प्रति १०० ग्राम झुसे करेलामा पाइने पोषक तत्व

  • ऊर्जा ५२ किलो क्यालोरी
  • कार्बोहाइड्रेट – ७.७ ग्राम
  • प्रोटिन – ३.१ ग्राम
  • बोसो – ३.१ ग्राम
  • खनिज तत्व – १.१ ग्राम
  • फाइबर –३ ग्राम
  • क्याल्सियम – ३३ मिली ग्राम
  • फलाम – ४.६ मिली ग्राम
  • फस्फोरस – ४२ मिली ग्राम
  • भिटामिन सी २७५.१ मिली ग्राम

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!