‘विश्व भरका नेपाली स्वास्थ्य विज्ञको सहभागितामा नेपाल स्वास्थ्य शिखर सम्मेलन’
‘स्वास्थ्य मन्त्रालयले विश्व भरका नेपाली स्वास्थ्य विज्ञको दक्षता भित्राउन हेल्थ समिट गर्ने’

काठमाडौं– सरकारले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मङ्गल बार यस सम्बन्धी निर्णय गरेका हुन् ।
उक्त सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू सङ्कलन गर्ने तयारी स्वास्थ्य मन्त्रालयको रहेको छ ।
सम्मेलन मार्फत स्वास्थ्य सुधारका लागि निकट भविष्यमा समेत नीति निर्माण, योजना र आवश्यक कार्यक्रम बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास स्वास्थ्य मन्त्रालयको छ ।
स्वास्थ्य मन्त्री पौडेलले गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणाली सँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख छ ।
विश्व भरका नेपाली चिकित्सक, अनुसन्धान कर्ता, प्राज्ञ तथा नर्सहरूको सीप र दक्षतालाई मुलुकको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार समिट मा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा स्वास्थ्य मन्त्रीको लक्ष्य अनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्य योजना तयार पारिनेछ छ ।
सम्मेलनको लागि कार्यदल गठन
स्वास्थ्य मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न ८ सदस्यीय कार्य दल गठन गरेको छ । डा. प्रकाश थपलियाको संयोजकत्वमा गठित कार्य दलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्य सँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला, धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य सदस्य छन् ।
यसैगरी, विज्ञहरूमा डा रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना, प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीम प्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई आमन्त्रित सदस्य तोकिएको छ । कार्य दलको सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्य ढाँचा तय गर्ने छ ।
प्रतिक्रिया दिनुहोस