शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
‘एक वर्षमा सत प्रतिशत सफलताका साथ रेकर्ड २११ प्रत्यारोपण’

भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत आर्थिक वर्षमा गरेको २११ मिर्गौला तथा कलेजो प्रत्यारोपणमा सबै सत प्रतिशत सफल भएको छ ।
केन्द्रमा आर्थिक वर्ष २०८०/८१ मा १९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी २११ जनाको प्रत्यारोपण भएको हो । विश्वमा कुनै पनि स्वास्थ्य संस्था ले वर्ष दिनमा दुई सय भन्दा बढी अंग प्रत्यारोपण गर्दा सबै सत प्रतिशत सफल हुनु एउटा गर्व गर्ने खालको रेकर्ड नै रहेको केन्द्रका चिकित्सकहरू बताउँछन् । उक्त प्रत्यारोपण डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएको हो ।
‘एक आर्थिक वर्षमा भएको २११ प्रत्यारोपणमा सबै अंगदाता र ग्रहणकर्ता सकुशल घर फर्किए’, केन्द्रका निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा.पुकार चन्द्र श्रेष्ठले भने–‘विश्वमा यस्तो घटना बिरलै होला ।’
तृतीय विश्वमा चिकित्सा क्षेत्रमा सीमित स्रोत साधन, उपकरण आदिमा यस्तो सफलता पाउनु, सबै नेपालीको लागि गर्वको कुरा रहेको समेत उनले जनाए ।’
केन्द्रमा एक वर्षमा जम्मा १३ दिन मात्र सार्वजनिक बिदा हुने गरेको उल्लेख गर्दै डा.पुकारले भने–‘वर्ष दिनमा भएका सबै प्रत्यारोपण सफल हुने रेकर्ड स्वास्थ्य मन्त्रालय र केन्द्र परिवार को अथक प्रयासले सम्भव भएको हो ।’ यस बारे राम्ररी अध्ययन गरेर, भविष्यमा अन्तरराष्ट्रिय जर्नलहरूमा प्रकाशित गर्ने तयारी समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस