मन्त्रालय सम्हालेको २७ दिन पछि स्वास्थ्य मन्त्रीको कार्य योजना, के–के बाचा गरे प्रदीप पौडेलले


काठमाडौं– नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित नभएको सबैले महसुस गरेको जनाउँदै प्रदीप पौडेलले मन्त्री बनेर स्वास्थ्य मन्त्रालय सम्हालेको २७ औं दिन आफ्नो प्राथमिकता तथा कार्य योजना सार्वजनिक गरेका छन् ।

तत्कालीन सरकारले बजेट सार्वजनिक गरि सके पछि आफूहरू आएको जनाउँदै स्वास्थ्य मन्त्री पौडेलले कार्य योजनामा बजेटमा समेटिएका विषय नै रहेको बताए ।

तर कार्य योजनामा करिब २० प्रतिशत स्रोत सुनिश्चित नभएको विषय समेत समावेश रहेको औँल्याउँदै पौडेलले भने–‘स्रोत सुनिश्चित नभएका विषयमा सरकार सँग स्रोत सुनिश्चित गर्ने तर्फ लाग्छौ ।’

थोरै सीमित कार्यक्रमको स्रोत सुनिश्चितता नभएको स्थिति रहेको बताउँदै स्वास्थ्य मन्त्री पौडेलले यस विषयमा स्रोत सुनिश्चित हुने पक्ष सँग समन्वय गरेर अगाडि बढाउने प्रतिबद्धता समेत गरे ।

प्रधानमन्त्रीले समेत आफ्नो योजनामा समर्थन जनाएको भन्दै अहिले विनियोजित बजेट भन्दा श्रोत थप हुने विश्वास समेत व्यक्त गरे ।

‘यो समग्र मन्त्रालयको कार्यक्रम हो, यसमा शङ्का नगर्नुस्’, स्वास्थ्य मन्त्रीले भने–‘यो कार्य योजना परम्परागत होइन, हुटहुटी बोकेर गरिएको हो, यसलाई सकारात्मक रूपमा लिन अनुरोध गर्छु ।’

मन्त्री पौडेलले तीनै तह बीचको दोहोरो पन हटाएर एकीकृत प्रणाली मार्फत जनस्वास्थ्य सुधार अघि बढाइने समेत बताए ।

संघीय अस्पतालहरूमा बेड भन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने योजना रहेको पौडेलले सुनाए । उनले सबै खाले नसर्ने रोगको परीक्षणलाई व्यापक बनाउने घोषणा समेत गरे ।

संघीय अस्पतालको सेवा सुधारका लागि कार्य दक्षताका आधारमा चिकित्सक लाई भत्ता दिइने जनाउँदै पौडेलले संघीय अस्पतालमा दुवै सिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न इन्सेन्टिभ को व्यवस्था गरिने बताए ।

पौडेलले राजधानी काठमाडौंमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापनाका लागि पहल गर्ने बताए । उनले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई ५ सय शय्यामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना सुनाए ।

शुल्क तिर्न नसक्ने गरिब तथा असहायलाई शहीद गङ्गालालमा प्राथमिक एन्जियोप्लाष्टी र मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मार्फत निःशुल्क सेवा दिने घोषणा गरे । सात वटै प्रदेशमा अंग प्रत्यारोपणको सेवा समेत विस्तार गरिने उनले बताए ।

मन्त्री पौडेलले औषधीको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढी मूल्य लिइएका औषधीको मूल्य घटाउन आवश्यक प्रबन्ध गर्ने बताए ।

पौडेलले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिंङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने बताए ।

निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रमले ४० वर्ष माथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिंग गर्ने विषय समेटेको समेत बताए । देशमा बढिरहेको मृगौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मृगौला स्क्रिनिंग अभियान थाल्ने पनि मन्त्री पौडेलले घोषणा गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!