‘के डेंगु भए अस्पताल भर्ना अनिवार्य छ ? सङ्क्रमणले ज्यान लिन थाल्यो’


काठमाडौं– काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा केही दिन देखी डेंगुको विस्तार हुँदै गएको मा हाल यो सङ्क्रमणले ज्यान समेत लिन थालेको छ । यस्तो स्थितिमा के डेंगु सङ्क्रमण भए पछि अस्पताल भर्ना अनिवार्य छ ? भन्ने प्रश्न समेत उठेको छ ।

अन्य रोग सँगै प्रयोगशाला प्रमाणित डेंगु समेत भएको एक व्यक्तिको मृत्यु सँगै यो सङ्क्रमणले स्वास्थ्य जटिलता देखी मृत्यु सम्म हुन सक्ने जोखिम बढेको हो ।

‘व्यास नगरपालिकामा डेंगु सङ्क्रमण समेत देखिएका ५० वर्षीय कलेजो सँग सम्बन्धित पुरानो रोग भएको व्यक्तिको मृत्यु भएको छ, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.यदुचन्द्र घिमिरे ले भने–‘लामखुट्टेको टोकाई वाट बाच्ने उपाय सँगै डेंगुको लक्षण देखिएकाले तालिम प्राप्त स्वास्थ्य कर्मीको निगरानीमा रहेर उपचार गर्नु पर्छ ।’ पछिल्लो केही वर्ष देखि मुलुकमा वर्षा याममा डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने गरेको पुनरावृत्ति यो वर्ष समेत भएकोहो।

डेगुले सन २०२२ मा ८८ जनाको र सन २०२३ मा २० जनाको मृत्यु भएको चिकित्सकीय रूपमा प्रमाणित भएको थियो । सन २०२२ मा सरकारी लगायतका अन्य स्वास्थ्य निकायको माध्यमले डेगु सङ्क्रमण पहिचान भएका ५४ हजार ७ सय ८४ जना बिरामी देश भरीमा देखिएको थियो । यस्तै सन २०२३ मा ५२ हजार ७ सय ९० जना बिरामी पहिचान गरिएको थियो ।

हाल सन २०२४ मा ईडीसीडीको तथ्याङ्क अनुसार डेंगुले एक जनाको मृत्यु हुनुको साथै बिरामीको सङ्ख्या २ हजार ३ सय ६५ नाघी सकेको छ । हाल सम्म यो सङ्क्रमण मुस्ताङ, डोल्पा, हुम्ला, र जुम्ला बाहेक ७३ जिल्लामा देखि सकिएको छ । तर डेंगुको यो तथ्याङ्कहरू लाई इडिसिडी कै केही पदाधिकारीहरू कम रिपोर्ट गरिएको बताउँदै आएका छन् ।

दुई दशक अघि २०६१ सालमा पहिलो पटक मुलुकमा प्रयोगशाला प्रमाणित डेंगु रिपोर्ट गरिएको थियो । ‘हाड तोड ज्वरो’ को रूपमा परिचित डेंगु सङ्क्रमण मधेश लगायतका अन्य भागमा शताब्दीयौँ देखी जारी छ ।

वर्षा याममा, डेंगु भाइरस फैलाउने मुख्य एडिस लामखुट्टेको गतिविधि बढ्छ । दिउसो टोक्ने सङ्क्रमित लामखुट्टे वाट हुने भाइरल सङ्क्रमण डेंगु एक गम्भीर रोग हो, र यसको गम्भीर अवस्थाबाट बच्न समयमै उपचार आवश्यक छ ।

डेंगु भएमा रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र गतिमा घट्छ, जसले गर्दा गम्भीर अवस्था निम्त्याउन सक्छ । सामान्यतया प्लेटलेट गणना १,५०,००० देखि ४,५०,००० बीच हुनु पर्छ । जब प्लेटलेटस को सङ्ख्या घट्छ, गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छ जसको उपचारको लागि लागि अस्पताल भर्ना हुन आवश्यक सक्छ । अस्पतालमा भर्ना भए पछि बिरामीलाई उपयुक्त औषधि दिइन्छ, जसले गर्दा प्लेटलेटसको सङ्ख्या लाई नियन्त्रण गर्न सकियोस् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार डेंगु संत्रमण को आफैमा कुनै उपचार छैन तर बिरामीले अनुभव गर्ने लक्षणहरूको व्यवस्थापन गर्न सकिन्छ । डेगुमा चिकित्सकहरूले लाक्षणिक उपचार गर्ने गरेका छन् ।

डेंगु कसरी फैलिन्छ ?

डेंगु ज्वरो दिउसो समेत टोक्ने ‘एडिस’ लामखुट्टेको टोकाइबाट सर्छ । यी धेरै ‘ढिठ’ र ‘साहसी’ लामखुट्टे हुन् । यो रोग वर्षाको मौसममा र त्यसको लगत्तै महिनाहरूमा (जुलाई देखि अक्टोबर) मा बढी देखिन्छ ।

‘डेंगु ज्वरो ले पीडित बिरामीको रगतमा धेरै मात्रामा डेंगुको भाइरस हुन्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का पूर्व निर्देशक डा.जिडी ठाकुर भन्छन–‘एडिस लामखुट्टेले डेंगु रोगीलाई टोकेर बिरामीको रगत चुस्दा डेंगुको भाइरस रगत सँगै लामखुट्टेको शरीरमा पनि प्रवेश गर्छ ।’

डेंगुको भाइरस अझै केही दिन लामखुट्टेको शरीरमा विकास हुने क्रम जारी रहन्छ । जब डेंगु भाइरस युक्त लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको शरीरमा डेंगुको भाइरस सर्छ । यसरी व्यक्तिमा डेंगु भाइरसको सङ्क्रमण हुन्छ र केही दिनपछि डेंगु ज्वरोको लक्षण देखिन सक्ने डा.ठाकुर बताउँछन् ।

डेंगु भाइरस सङ्क्रमित लामखुट्टेले कुनै व्यक्ति लाई टोकेको ३ देखी ५ दिन पछि त्यो व्यक्तिमा डेंगु ज्वरोको लक्षण देखिन सक्छ । तर यो संक्रामक काल ३ देखी १० दिन सम्मको पनि हुन सक्छ ।

विश्व कै आधा जनसंख्या जोखिममा

नेपाल मात्र नभइ विश्व कै आधा जनसंख्या हाल डेगुको जोखिममा छ । डब्लुएचओ को अनुसार वर्षेनी १० करोड देखी ४० करोड व्यक्तिमा यो संक्रमण हुने अनुमान गरिन्छ । एसिया ले डेंगु संक्रमणको विश्व व्यापी बोझको करिब ७० प्रतिशत प्रतिनिधित्व गर्छ । डब्लुएचओ को अनुसार विश्वमा पछिल्लो ५० वर्षमा डेंगु को प्रकोप ३० गुणा बढेको छ ।

के डेंगु घातक रोग हो ?

उपचार नगर्दा डेंगु एक घातक रोग हो । डेंगु वाट प्रभावित बिरामीको मृत्यु दर २० देखी ५० प्रतिशत को बीचमा हुन्छ । यद्यपि उचित औषधि र हेरचाहको साथ विरामीहरुले रोग शुरु भएको दुई–तिन सातामा निको हुन सक्छन ।

डेंगु लागेको अधिकांश मानिसमा लक्षण न देखिए पनि यसको सामान्य लक्षणहरू उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी र शरीरमा दागहरू देखिनु हो ।

धेरै जसो व्यक्तिलाई यो समस्या एक देखी दुइ साता पछि आफै निको हुन्छ । तर गम्भीर डेंगु भएका केही व्यक्तिलाई अस्पतालको हेरचाह आवश्यक हुन्छ । यस्तो गम्भीर अवस्थाको डेंगु घातक हुन सक्छ ।

नेपालमा कुन डेंगु देखिएको छ ?

मुलुकमा हाल सम्म सबै प्रकारको डेंगु देखि सकिएको छ । डेंगु भाइरस लाई डेन–१, डेन–२, डेन–३ डेन–४ गरी सामान्य तया ४ फरक सेरोटाइप मा वर्गीकृत गरिन्छ । फ्लेविविरिडे परिवारको एउटा भाइरसले गर्दा हुने डेंगु को डेन–३ डेन–४ भाइरस को सवै भन्दा धेरै देखा पर्ने रूपहरू हुन ।

नेपालमा भने डेगुको चारै वटा सेरोटाइप देखि सकिएको जनाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रंजन राज भट्ट भन्छन्–‘गत वर्ष मुलुकमा डेन–१, डेन–२, डेन–३ सेरोटाइप देखिएको थियो ।’

यसरी गत वर्ष (सन २०२३) मा देश भरीमा डेन–१, २० प्रतिशत, डेन–२, ५५ प्रतिशत, डेन–३ २३ प्रतिशत देखिएको औँल्याउँदै डा.भट्टले भौगोलिक रूपमा यो तीनै सेरोटाइपको डेंगु प्रदेश अनुसार फरक फरक देखिएको बताउछन ।

सन २०२३ मा बागमती प्रदेशमा ९७ प्रतिशत डेन–२, सेरोटाइप , कोशी प्रदेशमा ६० प्रतिशत डेन–३ सेरोटाइप र ४० प्रतिशत डेन–१ सेरोटाइप देखिएको हो । नेपालमा सन २०२३ भन्दा अघि करिव ९० देखी ९५ प्रतिशत डेन–२ देखिने गरिन्थ्यो ।

डेंगुको विभिन्न प्रकार के–के हुन ?

डेंगुलाइ मुख्य रूपमा मध्यम, डेंगु ज्वरो, डेंगु हेमोरेजिक (रक्तस्राव गराउने) ज्वरो र डेंगु शक सिन्ड्रोम मा वर्गीकृत गरिएको छ । हल्का डेंगु ज्वरो , डेगुको सबै भन्दा सामान्य रुप हो । यो गैर घातक हुन्छ । यद्यपि डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोममा बिरामीमा रगतको कमी डिहाइड्रेसन (पानीको कमी) र रक्त चापमा उल्लेखनीय कम हुने गरेकोले उपचार नगर्दा घातक हुन्छ ।

गम्भीर लक्षण मा अस्पताल भर्ना

यदि तपाइमा डेंगुको लक्षण देखियो र ती मध्ये कुनै पनि गम्भीर होस, जस्तै तीव्र ज्वरो, बान्ता, झाडा पखाला वा रगत बग्ने समस्या देखिएमा अस्पतालमा भर्ना हुनु राम्रो हुन्छ । गम्भीर लक्षणहरूको कारण, अवस्था नियन्त्रण बाहिर जान सक्छ र यसबाट बच्न, चिकित्सकीय स्याहार आवश्यक छ ।

हल्का लक्षणहरूको लागि घर मै उपचार

यदि डेंगुका लक्षणहरू हल्का छन् र डाक्टरले घर मै रहेर उपचारको सल्लाह दिएका छन् भने चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरी घरमै उपचार गर्न सक्नु हुन्छ । तर, कुनै पनि आपतका लीन अवस्थाबाट बच्नको लागि सतर्क रहनु र समय मै चिकित्सक सँग सल्लाह लिनु आवश्यक छ ।

कहिले काही डेंगु साधारण देखिए पनि एक्कासि जटिलता देखिन सक्ने औँल्याउँदै डा.घिमिरे भन्छन–‘त्यसैले घरमा बसेर उपचार गर्दा पनि तालिम प्राप्त स्वास्थ्य कर्मीको निगरानीमा रहेर उपचार प्रकृया मा संलग्न हुन पर्छ । कुनै असमान्यता, जटिलता देखिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्छ ।’

डेंगु एक गम्भीर रोग हो र कहिले काही यसको उचित उपचारको लागि अस्पताल भर्ना आवश्यक पर्न सक्छ । एउटा सेरोटाइप बाट संक्रमित व्यक्ति लाइ पुनः अर्को सेरोटाइपको डेंगु संक्रमण हुँदा जटिलता देखिन सक्ने डा.भट्ट बताउँछन् । त्यसैले डेंगु संक्रमण हुँदा लक्षणहरूको गम्भीरतालाई ध्यानमा राख्दै उपयुक्त चिकित्सकीय सल्लाह र उपचार प्राप्त गर्नु महत्वपुर्ण हो ।

डेंगुका मुख्य लक्षणहरू

  • उच्च ज्वरो
  • आँखाको गेडी दुख्नु
  • बेसरी टाउको दुख्नु
  • शरीरमा राता बिमिरा देखिनु
  • वाकवाकी लाग्नु वा वान्ता हुनु
  • जोर्नी र मांसपेशी बेसरी दुख्नु

डेंगु भयो भने

  • आराम गर्ने ।
  • धेरै तरल पदार्थ पिउने ।
  • दुखाइ कम गर्न एसिटामिनोफेन (पारासिटामोल) प्रयोग गर्ने ।
  • इबुप्रोफेन र एस्पिरिन जस्ता गैर–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधिहरू उपयोग नगर्ने ।
  • गम्भीर लक्षणहरूको निगरानी गर्ने, यदि आफूमा कुनै देखियो भने सकेसम्म चाँडो चिकित्सा कर्मी लाई सम्पर्क गर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!