विश्व स्तनपान सप्ताह

स्तनपानमा सुधार गरेर वर्षेनी ८ लाख बालबालिकाको ज्यान बचाउन सकिन्छः डब्लुएचओ


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले भर्खरै गरेको एक अध्ययनमा आमाहरूलाई स्तनपान गराउन उत्प्रेरित गर्ने हो भने वर्षेनी आठ लाख २० हजारभन्दा बढी बालबालिकाको ज्यान बचाउन सकिने बताएको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा जारी विज्ञप्तिमा यी दुवै संस्थाले यो महत्वपूर्ण विषयमा प्रकाश पारेका छन् । अध्ययनका अनुसार आमाहरूलाई स्तनपानका लागि आवश्यक सहयोग उपलब्ध गराउँदा यसको प्रत्यक्ष असर स्तनपानको दरमा पर्ने गरेको छ ।

हालको तथ्याङ्क अनुसार स्तनपानको दरमा सुधारले हरेक वर्ष लाखौँ बालबालिकाको जीवन बचाउन सकिन्छ । विगत १२ वर्षमा, छ महिनासम्म मात्र आमाको दूध खाने शिशुको सङ्ख्यामा १० प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।

विश्व भरका ४८ प्रतिशत बालबालिकाले जन्मेको पहिलो ६ महिना सम्म आमाको दूध पिउने गर्छन्, जसले गर्दा उनीहरूलाई स्वस्थ जीवनको सुरुवात हुन्छ ।

स्तनपान बालबालिकाका लागि सुरक्षित, पौष्टिक र सुलभ खानाको मुख्य स्रोत हो, जसले विभिन्न रोग, क्यान्सर र नसर्ने रोगको जोखिमलाई कम गर्छ ।

भविष्यको दिशा र लक्ष्यहरू 

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सन् २०२५ सम्ममा स्तनपान दरलाई ५० प्रतिशत पुर्याउने लक्ष्य राखेका छन् । यद्यपि यस दिशामा धेरै चुनौतीहरू छन् जसको समाधान आवश्यक छ । प्रतिवेदनमा भनिएको छ कि उचित स्तनपान सहयोग बिना, आमाहरूले आफ्ना बच्चाहरूलाई सही रूपमा स्तनपान गराउन कठिनाइहरू सामना गर्छन्।

स्वास्थ्य सेवा असमानता 

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वको आधा भन्दा बढी जनसङ्ख्या अर्थात् करिब ४ अर्ब ५० करोड मानिसले अत्यावश्यक स्वास्थ्य सेवामा पूर्ण पहुँच पाउँदैनन् । यसको अर्थ धेरै महिलाहरूले उचित स्तनपान समर्थन र शिक्षा प्राप्त गर्दैनन्। स्तनपान गराउँदा आमाहरूलाई पनि स्वास्थ्य सल्लाह र परामर्शको ठूलो आवश्यकता हुन्छ ।

तथ्याङ्क सङ्कलन आवश्यक 

हाल, आधा देशहरूले मात्र स्तनपान दरको तथ्याङ्क सङ्कलन गर्छन् । स्वास्थ्य सेवा असमानताहरू सम्बोधन गर्न र आमा र परिवारहरूलाई समयमै र प्रभावकारी स्तनपान सहयोग प्रदान गर्न विश्वसनीय डेटा सङ्कलन महत्वपूर्ण छ । जब स्तनपानलाई समर्थन गरिन्छ, महिलाहरूले आफ्ना शिशुहरूलाई स्तनपान गराउने सम्भावना दोब्बर हुन्छ।

साझा जिम्मेवारी 

स्तनपान (समर्थन) एक साझा जिम्मेवारी हो जसमा परिवार, समुदाय, स्वास्थ्य सेवा कर्मी, नीति निर्माताहरू र अन्य निर्णय कर्ताहरू सबैको केन्द्रीय भूमिका हुन्छ यस दिशामा सामूहिक प्रयासले मात्र स्तनपान दर सुधार गर्न र लाखौँ शिशुहरूको जीवन बचाउन सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!