मस्तिष्क मृत्यु पछि अङ्गदान
‘अङ्ग दान दिने परिवारलाई सम्मान गर्नु पर्छः न्यायाधीश सपना प्रधान मल्ल’
काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले मस्तिष्क मृत्यु भएर अङ्ग दान दिने परिवारलाई आर्थिक भन्दा पनि अन्य सेवाबाट सहयोग र सम्मान गर्नु पर्ने कुरा बताएकी छिन ।
शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यु पछि हुने अङ्ग दान तथा प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम न्यायाधीश सपना प्रधान मल्लले उक्त कुरा बताएकी हुन ।
प्रत्यारोपण कानुनी हिसाबले समेत चुनौती पूर्ण रहेको हुँदा पारदर्शी कार्यान्वयनमा विशेष ध्यान दिनु पर्ने जनाउँदै उनले प्रत्यारोपण लाई व्यवस्थित बनाउन अङ्ग दाता को स्वास्थ्यमा सहयोग पुर्याउने खालका कार्यक्रमको विकसित गर्नु पर्ने कुरा बताइन ।
अङ्ग दाता परिवारलाई अङ्ग दान गरे बापत सिधा पैसा दिनु भन्दा अन्य किसिमबाट सम्मान जनक सहयोग गर्नुपर्ने कानुन मन्त्रालयका सचिव फडिन्द्र गौतमले समेत बताए ।
अङ्ग दान र प्रत्यारोपण सम्बन्धी जानकारी सबैमा भए मात्र अङ्ग प्रत्यारोपण सहज हुन सक्ने औँल्याउँदै प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठले भने–‘आफू मरेपछि खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान दिन सके एक व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने हुँदा सर्वसाधारणमा जन चेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपूर्ण हो ।’
डा.पुकारले सबैले आआफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्दा विदेश जस्तै नेपाल मा समेत ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट हुने र अङ्ग नपाएर प्रत्यारोपण बाट वञ्चित भइ मृत्यु वरण गर्नु पर्ने अवस्थाको अन्त्य हुने बताए ।
मस्तिष्क मृत्यु पछि हुने अङ्ग दान र प्रत्यारोपण क्षेत्रमा रहेका सामाजिक चुनौतीका बावजुद जन चेतनाको अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा उक्त अन्तरक्रिया केन्द्रित थियो ।
सहभागीहरूले मस्तिष्क मृत्यु पनि मृत्यु नै रहेको बुझाउनु आवश्यक रहेकाले यसको प्रचार प्रसार गर्नु पर्ने, अङ्ग दाता परिवारलाई शिक्षा, स्वास्थ्यको पहुँचमा सहुलियत दिने, राज्यले मान सम्मान गर्नु पर्ने तथा पारिवारिक बिमा गरि दिने जस्ता कार्यक्रम ल्याएमा प्रभावकारी हुन सक्ने सुझाव दिए ।
अन्तरक्रियामा सर्वोच्च अदालतका न्यायाधीश,कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, विशेष अदालतका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र नेपाली सेनाका अधिकृत प्रतिनिधि, नेपाल उधोग वाणिज्य महासङ्घका अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितमा वृहत् छलफल भएको प्रत्यारोपण केन्द्र ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस