अनुसन्धान
दिनहुँ मल्टि भिटामिनको सेवनले मृत्युको जोखिम बढ्छ, आयु बढ्दैन

जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययन अनुसार यदि स्वस्थ व्यक्तिहरूले दैनिक मल्टि भिटामिनहरू लिइरहेका छन् भने, यसको अर्थ तिनिहरू लामो समय सम्म बाँच्नेछन् भन्ने होइन ।
अमेरिकामा करिब दुई दशक सम्म चार लाख मानिसमा गरिएको एक अध्ययनपछि यो कुरा बाहिर आएको हो । नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) को अध्ययन अनुसार लामो समयसम्म दैनिक मल्टि भिटामिन लिँदा स्वस्थ वयस्कहरू मा प्रारम्भिक मृत्युको जोखिम कम हुँदैन ।
अनुसन्धान कर्ताहरूका अनुसार अमेरिकामा ३३ प्रतिशत स्वस्थ वयस्कहरू ले दैनिक मल्टि भिटामिन प्रयोग गर्छन् । यसले उनीहरूमा आफ्नो स्वास्थ्य राम्रो रहने मात्र नभइ अन्य रोगबाट पनि जोगिने समेत मान्यता रहेको छ । यस्तै यसले तिनिहरूलाई लामो र स्वस्थ जीवन प्राप्त गर्न मद्दत गर्नेछ । तर, अहिले सम्म गरिएको अध्ययनमा यसको कुनै प्रमाण फेला परेको छैन ।
मल्टि भिटामिन ती व्यक्तिहरूका लागि पक्कै पनि फाइदा जनक हुन्छ जसको शरीरमा कुनै न कुनै प्रकारको विशेष पोषणको कमी छ ।
यस अध्ययनमा मल्टि भिटामिनको प्रयोग र गम्भीर रोग मुख्य रूपमा कार्डियोभास्कुलर (मुटु र रक्त नली सम्बन्धी) रोग वा क्यान्सरले हुने मृत्यु बीच सम्बन्ध लाई जान्ने प्रयास गरियो ।
अनुसन्धान कर्ताहरूले अध्ययनमा सहभागीहरूलाई तीन समूहमा विभाजन गरे । पहिलो समूहले कहिल्यै मल्टि भिटामिन प्रयोग गरेन, दोस्रोले कहिले काही गरे तेस्रोले यसलाई दैनिक प्रयोग गरे ।
अनुसन्धान कर्ताले दुई दशकसम्म अध्ययनमा सहभागीहरूलाई पछ्याए भने केहीलाई त २७ वर्ष सम्म अनुगमन गरे । अध्ययनको क्रममा १ लाख ६४ हजार ७ सय ६२ सहभागीहरूको मृत्यु भयो। जस मध्ये ३० प्रतिशतको क्यान्सर, २१ प्रतिशत मुटु रोग र ६ प्रतिशतको मस्तिष्क सम्बन्धी रोगका कारण मृत्यु भयो ।
दैनिक सेवन गर्दा मृत्युको जोखिम बढी
विश्लेषणका क्रममा दैनिक मल्टि भिटामिन सप्लिमेन्ट प्रयोग गर्नेहरूमा यसको उपयोग नगर्ने हरको दाँजोमा मृत्युको जोखिम चार प्रतिशत बढी हुने गरेको देखियो । यद्यपि यस अनुसन्धानका धेरै सीमितता हरू छन्, जसका नतिजाहरू ठूलो जनसङ्ख्या को लागि सामान्यीकरण गर्न मिल्दैन।
प्रतिक्रिया दिनुहोस