‘मुलुकमा सबै भन्दा बढी कलेजो प्रत्यारोपण गर्ने शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपालको सरकारी र निजी क्षेत्र अन्तर्गत हाल सम्म सबै भन्दा बढी कलेजो प्रत्यारोपण गर्ने स्वास्थ्य निकाय बनेको छ ।

पछिल्लो समय पूर्ण रुपमा नेपाली टोली द्वारा नै कलेजो प्रत्यारोपण हुन थालेको केन्द्र ले यो आर्थिक वर्षमा १६ जनाको कलेजो प्रत्यारोपण गरेको हो ।

कलेजो गम्भीर रूपमा क्षतिग्रस्त भएर राम्ररी काम गर्न नसक्दा प्रत्यारोपण आवश्यक हुन्छ । कलेजो प्रत्यारोपण वयस्क र बालबालिका दुवै मा अन्तिम चरणको कलेजो रोगको लागि सबै भन्दा राम्रो उपचार रहेको केन्द्रको निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण विद् डा.पुकार चन्द्र श्रेष्ठ बताउँछन् ।

नेपालमा वर्षेनी एक हजार व्यक्ति को कलेजो फेल हुने गरेको अनुमान गरिएको छ । कलेजो प्रत्यारोपण शल्यक्रिया अन्तर्गत बिरामी मा रोगग्रस्त कलेजो हटाएर अन्य जीवित वा मस्तिष्क मृत्यु भएका दाता वाट प्राप्त कलेजो लाई प्रतिस्थापित गरिन्छ ।

दाता र प्राप्त कर्ताको आकार मिल्दो जुल्दो कलेजोको को बायाँ छेउ (करिब ३५ प्रतिशत) वा दायाँ छेउ (६५ प्रतिशत) हुन्छ । जीवित दाता वाट प्रत्यारोपण गर्न लिइएको कलेजो ४ देखि ६ साता मा आफ्नो मूल आकारको करिब ८० प्रतिशत सम्म बढ्छ ।

प्रत्यारोपण केन्द्रमा ३ वर्षको बालक देखी ६८ वर्ष सम्मका व्यक्ति मा कलेजो प्रत्यारोपण भइ सकेको छ । ती ६८ वर्षको व्यक्तिमा मस्तिष्क मृत्यु भएको व्यक्ति वाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको थियो । विभिन्न प्रकारका जटिलता का बावजुद ती व्यक्तिहरूमा सफल कलेजो प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपण केन्द्र मा यो शल्यक्रियाको सफलताको दर उच्च (९२ प्रतिशत भन्दा बढी) रहेको जनाउँदै डा.पुकार भन्छन्–‘हामीले यहा गरेको कलेजो प्रत्यारोपण अन्तर्गतका गम्भीर बिरामीहरू प्रत्यारोपण पछि केही महिना मै सामान्य जीवनमा फर्किने गरेका छन् ।’

प्रत्यारोपण मा गुणस्तर अन्तर्गत कुनै पनि सम्झौता न गर्ने नीति अनुसार केन्द्रले हाल सम्म मुलुकमा सर्वाधिक २६ जनाको कलेजो प्रत्यारोपण गरेको हो । केन्द्रमा भएको पछिल्लो ५ वटा कलेजो प्रत्यारोपण स्वतन्त्र रूपमा डा.पुकारको नेतृत्वमा नेपाली टिमले गरेको छ ।

मुलुक मै पहिलो पटक डा.पुकार कै नेतृत्वमा केन्द्रमा मस्तिष्क मृत्यु भएको दाता वाट प्राप्त कलेजो लाई अन्य व्यक्ति मा प्रत्यारोपित गरिएको थियो ।

सबै भन्दा सस्तो कलेजो प्रत्यारोपण 

मुलुक मै सबै भन्दा सस्तो सेवा शुल्क (१५ लाख रुपियाँ) मा केन्द्रमा कलेजो प्रत्यारोपण हुन्छ । स्मरण रहोस् छिमेकी मुलुक भारतको निजी क्षेत्रका अस्पतालमा भने ३० देखी ४० लाख भारतीय मुद्रा (४८ लाख देखी ६४ लाख नेपाली रुपियाँ) मा कलेजो प्रत्यारोपण हुने गर्छ ।

भारत सरकार को अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) दिल्लीमा पछिल्लो समय कलेजो प्रत्यारोपण भारतीय मुद्रा ११ लाख देखि १४ लाख (१७ लाख ६० हजार नेपाली रुपियाँ देखी २२ लाख ४० हजार नेपाली रुपियाँ) मा हुने गरेको त्यहाँ अध्ययनरत नेपाली चिकित्सकहरू बताउँछन् ।

समय मै प्रत्यारोपण आवश्यक 

समयमै कलेजो प्रत्यारोपण गराएका धेरै जसो व्यक्ति सामान्य र स्वस्थ रुपमा बाँच्न सक्ने डा. पुकार बताउँछन् । डा.पुकार को अनुसार कलेजो प्रत्यारोपण गराएका धेरै जसो व्यक्ति आफूलाई फेरी ऊर्जा वान् महसुस गर्छन् । उनीहरूको जीवनको गुणस्तर सुध्रिनु को साथै ती व्यक्तिहरू फेरी एक पटक आफ्नो दैनिक दिनचर्या र गतिविधि मा अन्य स्वस्थ व्यक्ति जस्तै रमाउने गरेको छन् ।

कलेजो प्रत्यारोपण गराएका हरू निको भए पछि अन्य व्यक्ति जस्तै सामान्य व्यायाममा समेत भाग लिन सक्षम हुन्छन् । यति मात्र नभइ कलेजो प्रत्यारोपण गराएका महिला गर्भधारण गर्न समेत सक्षम हुन्छन् ।

कलेजो प्रत्यारोपण गराउन उमेर बाधक छैन 

७० वर्षको वृद्ध व्यक्तिले समेत कलेजो प्रत्यारोपण गराउन सक्ने औँल्याउँदै डा.पुकार कलेजो प्रत्यारोपणका लागि उमेर बाधक नभएको र  केन्द्रका आफनो टोलीले ६८ वर्ष सम्मको व्यक्तिमा कलेजो प्रत्यारोपण गरि सकेको बताउँछन् । उसो बृद्ध कलेजो प्राप्त कर्ताहरूमा शल्यक्रियालाई विवेकपूर्ण रूपमा विचार गर्नुपर्छ । किनकी वृद्धहरूमा कलेजो प्रत्यारोपण पछि कम बाच्ने दर र बढ्दो रोग सँग सम्बन्धित छ ।

प्रत्यारोपण पछि निको हुन ३ देखी ६ महिना 

कलेजो प्रत्यारोपण शल्यक्रिया पछि निको हुन करिब तीन देखि छ महिना लाग्ने गरेको छ । यस्तै प्रत्यारोपणको केही महिना पछि व्यक्तिले सामान्य गतिविधिहरू पुनः सुरु गर्न वा काममा फर्कन सक्षम हुन सक्छन् । तर प्रत्यारोपण गराएकाहरुले जीवन भर समय समयमा चिकित्सक संग फलोअप गर्नु पर्छ । यद्यपि, फलोअप गर्ने क्रम केही वर्ष पछि कम हुन सक्छ ।

के हो कलेजो? 

कलेजो मानव शरीरको सबै भन्दा ठूलो आन्तरिक अंग हो । यो एक मात्र अंग हो जसले आफैलाई पुनः उत्पन्न गर्न सक्छ । कलेजोमा मेटाबोलिज्म, ड्रग्स र टक्सिनलाई नियमन गर्ने, अमोनिया र बिलिरुबिन सफा गर्ने र महत्वपूर्ण प्रोटिन र इन्जाइमहरू स्राव गर्ने (उदाहरण का लागि रगत जम्ने) जस्ता धेरै महत्वपूर्ण कार्यहरू हुन्छन् ।

कलेजो फेल तुरुन्तै हुन सक्छ, जसलाई अक्युट लिभर फेलियर भनिन्छ । अथवा क्रोनिक हुन सक्छ, अर्थात्, यो बिस्तारै महिनौं र वर्षहरूमा हुन सक्छ र कलेजो को सिरोसिसको कारण बन्न सक्छ । कलेजो सिरोसिस एक दीर्घकालीन अवस्था हो जसले कलेजोलाई क्षति पुर्याउँछ र बिगार्छ । क्षतिग्रस्त तन्तुले कलेजोमा स्वस्थ तन्तुहरूलाई प्रतिस्थापन गर्छ र कलेजोलाई सामान्य रूपमा काम गर्नबाट रोक्छ । जसका कारण कलेजो फेल भएर कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

कलेजो फेल हुने र कलेजो प्रत्यारोपण गर्नुपर्ने सिरोसिसका प्रमुख कारणहरू 

  • मदिरा जन्य कलेजोको रोग
  • गैर–अल्कोहल फ्याटी लिभर
  • प्राथमिक कलेजोको क्यान्सर
  • अटोइम्युन हेपाटाइटिस
  • मेटाबोलिक रोगहरू
  • तीव्र हेपाटिक नेक्रोसिस
  • आनुवंशिक रोग (विल्सन रोग र हेमोक्रोमैटोसिस)
  • हेपाटाइटिस बी र सी जस्ता संक्रमण
  • पित्त नलि को रोगहरू जस्तै प्राथमिक स्क्लेरोजिग कोलान्जाइटिस, प्राथमिक पित्त सिरोसिस र पित्त अट्रेसिया

कलेजो प्रत्यारोपणको संकेत 

बिरामीहरूलाई यदि तल उल्लेख भएका मध्ये कुनै अवस्था भए कलेजो प्रत्यारोपणको लागि विचार गर्नुपर्छ 

  • फुल्मिनेन्ट हेपाटिक विफलता – हेपाटोसाइट्सको गम्भीर नेक्रोसिस वा पहिले देखि अवस्थित कलेजो रोगको अनुपस्थितिमा हेपाटिक कार्यहरूको गम्भीर असक्षमता ।
  • कलेजो आधारित मेटावोलिक दोष – वंशानुगत हेमोक्रोमैटोसिस, अल्फा–१ एंन्टीट्र्रिप्सिन को कमी (एएटिडी), र विल्सन रोग
  • एसाइट्स, हेपाटिक एन्सेफैलोपैथी, हेपाटोसेलुलर कार्सिनोमा, हेपाटोरेनल सिन्ड्रोम जस्ता जटिलताहरू सहित सिरोसिस
  • पोर्टल हाइपरटेन्सनको कारण रक्तस्राव

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!