ट्रान्सप्लान्ट कोअर्डिनेटरहरुको तालिम
‘अंगदानको लागि जनचेतना अभिवृद्धि सबै भन्दा बढी महत्वपुर्णः डा.पुकार’
भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठ अंगदान को लागि जन चेतना अभिवृद्धि सबैभन्दा महत्वपूर्ण कुरा रहेको बताए ।
प्रत्यारोपण केन्द्रको आयोजना र मोहन फाउण्डेसन, भारतको प्राविधिक सहयोगमा उपत्यका भित्रका २१ अस्पतालका ट्रान्सप्लान्ट कोअर्डिनेटरहरूका लागि ‘अंगदान र प्रत्यारोपणमा भूमिका बढाउदै’, भन्ने नाराका साथ दुई दिने पहिलो राष्ट्रिय तालिमको मंगल बार समापन समारोहमा डा.पुकारले उक्त कुरा बताएका हुन । तालिमको मुख्य प्रशिक्षकको रुपमा मोहन फाउण्डेसन भारतका पल्लवी कुमार र डा मोनित कौर साहीले दुई दिन सम्म विभिन्न प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण दिएका थिए ।
मस्तिष्क मृत्यु पछि हुने अंगदान र प्रत्यारोपणले व्यापकता पाओस् भन्ने उद्देश्य सहित चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्य कर्मी, राजनीतिज्ञ, पत्रकार, कानुन व्यवसायी, समाज सेवी तथा कलाकार सबैले नै यो विषयमा जानकार रहे मात्र यो काम अघि बढ्न सक्ने उनले औँल्याए ।
आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिदा एक जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने औँल्याउँदै डा.पुकारले यसका लागि सर्वसाधारणमा जन चेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपूर्ण रहेको बताए ।
‘सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्दा विदेश जस्तै मुलुकमा समेत ८० प्रतिशत मस्तिष्क मृत्युबाट प्रत्यारोपण सम्भव हुन सक्छ’, डा.पुकारले अगाडि थपे–‘अंग नपाएर प्रत्यारोपण बाट वञ्चित भै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ ।’समापन समारोह मै अंगदान र प्रत्यारोपण कार्यक्रमलाई विस्तार गर्नको लागि समन्वय इकाईले प्रत्येक सोमवार अंग प्रत्यारोपण र अंगदान हुन सक्ने अस्पतालमा जन चेतना अभिवृद्धि गर्नका लागि परामर्शको लागि जाने गरेको र आवश्यकता अनुसार सहयोग र सहकार्यका लागि तत्पर रहेको प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट तथा मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र प्रत्यारोपण समितिका अध्यक्ष डा कल्पना श्रेष्ठले बताइन ।
शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको अंग प्रत्यारोपण समन्वय इकाईले मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण सम्बन्धी कार्यमा समन्वय कारी भूमिका खेल्ने गरेको छ ।
बिरामीको परिवारमा अंगदान सम्बन्धी जन चेतनाको अभावले अंगदान गर्न नचाहने, बुझाई सके पछि पनि आर्थिक माग गर्ने गरेको र अस्पतालले कानुनी समस्या आउन सक्ने कारण देखाई मस्तिष्क मृत्युको बारेमा बिरामीलाई बुझाउन नखोज्ने र समन्वय इकाईमा जानकारी नदिने गरेको जनाउदै व्लु क्रस अस्पतालका निर्देशक डा. प्रज्वलन श्रेष्ठले भने–‘ जन चेतनालाई प्रभावकारी बनाउनु पर्छ र म स्वयं र मेरो अस्पतालले यस कार्यमा सहयोग गर्नेछ ।’
सहभागीहरूको तर्फबाट ग्राण्डी अस्पतालकी कोर्डिनेटर पुनम शाक्यले यस तालिमले आफ्नो क्षमतामा अभिवृद्धि भएको र आगामी दिनमा अझ सक्रिय रहने बताइन ।
मोहन फाउण्डेसन भारतका पल्लवी कुमार र डा मोनित कौर साहीले मस्तिष्क मृत्यु पछि अंगदान कार्यक्रम सफल बनाउनको लागि धैर्यता र निरन्तरताको आवश्यक पर्ने कुरामा जोड दिए । यसको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेमा मात्र सफलता पाउन सकिने कुरा समेत बताए ।
तालिम समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयमा सचिव हरी प्रसाद मैनालीले तालिम प्राप्त जनशक्तिले बिरामीको सेवा र मस्तिष्क मृत्यु पछि हुने अंगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको र प्रत्यारोपण केन्द्रले गरेका काममा मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने समेत बताए।
तालिममा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, उपेन्द्र देवकोटा न्युरो अस्पताल, स्वास्थ्य अभियान नेपाल, नेपाल कोरिया मैत्री अस्पताल, काठमाण्डौ मेडिकल कलेज, मध्यपुर अस्पताल, नेपाल मेडिसिटी अस्पताल, किष्ट अस्पताल, नेपाल मेडिकल कलेज, अन्नपूर्ण न्युरो अस्पताल, व्लुक्रस अस्पताल, ग्राण्डी इन्टरनेसनल अस्पताल, ग्रीन सिटी अस्पताल, वि एण्ड वि अस्पताल, अल्का अस्पताल लगायतको सहभागिता थियो ।
मस्तिष्क मृत्युबाट हुने अंग प्रत्यारोपणलाई नियमित बनाउन सके मात्र सम्पूर्ण अंग फेल भएका बिरामीहरूलाई राहत मिल्न सक्ने निचोड सहित कार्यक्रम सम्पन्न भएको थियो ।
मस्तिष्क मृत्युबाट हुने मृगौला बितरण पारदर्शी
विज्ञहरूले मस्तिष्क मृत्युबाट हुने मृगौला वितरण पारदर्शी रहेको जनाए । मस्तिष्क मृत्युबाट हुने मृगौला वितरणलाई पारदर्शी बनाउन सरकारले चारवटा मापदण्ड समेत बनाएको उनीहरूले जानकार दिए ।
यस अन्तर्गत पहिलो मापदण्डमा सबैभन्दा बढी प्रतिक्षा सूचीमा रहेको वा लामो समयसम्म डाइलाइसिसमा रहेका बिरामी, दोस्रो मापदण्डमा मृगौला दाता र ग्रहणकर्ता बीच म्याचिङ राम्रो भएको, तेस्रो मापदण्डमा अंगदाता र अंग ग्रहणकर्ताको उमेर जति कम भयो त्यति धेरै अंक पाउने र चौथो मापदण्डमा महिलालाई ३ गुणा बढी अंक दिनु रहेको छ । स्मरण रहोस यो यो व्यवस्था नेपालमा मात्र छ ।
प्रतिक्रिया दिनुहोस