३० हजार नेपाली एउटै मिर्गौला को भरमा


काठमाडौं– पत्याउनु हुन्छ, करिव ३० हजार नेपाली जन्मजात रूप मै मात्र एउटा क्रियाशिल मिर्गौला को भरमा बाँचिरहेका छन । चिकित्सा तथ्य पत्र अनुसार जन्म देखी नै एउटा मात्र क्रियाशिल मिर्गौला हुने सम्भावना करिब एक हजार जीवित जन्ममा १ जनालाई हुन्छ ।

यसरी हेर्दा करिब ३० हजार नेपाली एउटा मात्र मिर्गौलाले जीवन यापन गरिरहेको हुनु पर्ने औँल्याउँदै शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकार चन्द्र श्रेष्ठ भन्छन् –‘यदा कदा कुनै स्वास्थ्य समस्या वा अल्ट्रासाउन्ड आदि गर्दा चिकित्सकले बिरामीमा एउटै मिर्गौला काम गरिरहेको थाहा पाउँछन् ।’

यति सम्म की धेरै व्यक्ति लाई जीवन भरी नै आफू लाई एउटै मिर्गौला भएको थाहा हुँदैन । शरीरमा एउटा काम गर्ने मिर्गौला हुने अवस्था लाई ‘सोलेटरी किडनी’ भनिन्छ ।

यो मुख्य रूपमा जन्मजात दोष ले गर्दा हुन्छ भने मिर्गौलाको क्यान्सर लगायत अन्य स्वास्थ्य जटिलताको कारण एउटा किड्नी शल्यक्रिया गरेर झिक्नु पर्ने अवस्थामा पनि हुन सक्छ । यस्तै अरू व्यक्तिको ज्यान जोगाउन आफ्नो एउटा मिर्गौला दान दिनेहरू समेत वाकी जीवन एउटा किड्नी मा गुजार्छन् ।

‘दान दिएर एउटा मिर्गौला मै बाच्नेहरुको स्वास्थ्य समाजमा स्वस्थ भनाउँदाहरूका दाँजोमा बढी राम्रो देखिएको छ’, डा.पुकार भन्छन–‘हाम्रो सर्वेक्षण अनुसार नेपालमा मिर्गौला दान दिएर वा अन्य कारणले एउटा मात्र मिर्गौला भएका थाहा पाएका हरू आफ्नो स्वास्थ्य स्याहार राम्ररी गर्ने भएकोले अन्य सामान्य व्यक्तिको दाँजोमा बढी स्वस्थ देखिएका हुन ।’

राष्ट्रिय प्रत्यारोपण केन्द्र मा हाल सम्म ९९ प्रतिशत सफलता दर सँगै झन्डै ११ सय मिर्गौला प्रत्यारोपण भइ सकेको छ । तर एउटा मिर्गौलामा जीवन विताउनेहरु लाई भने विशेष सावधानी अपनाउन पर्ने डा.पुकार बताउँछन ।

अस्वस्थ कर जीवन शैलीले स्वस्थ मिर्गौलामा समेत गहिरो असर पार्छ भने एउटा मिर्गौला भएकालाई त आफ्नो जीवन शैलीमा विशेष ध्यान दिनु नै पर्छ । उनीहरूले स्वस्थ कर खानपान, पर्याप्त पानी सेवन, नियमित व्यायाम, शारीरिक सक्रियता आदि कायम राख्नु आवश्यक हुन्छ । यो सँगै नियमित रूपमा डाक्टर सँग जाँच समेत गराउँदै रहनु पर्छ ।

‘उच्च रक्तचाप, जीएफआरको क्षमता, पिसाबमा प्रोटिनको मात्रा लगायतका बारे एउटा मिर्गौला भएका हरू बढी सतर्क र नियमित रूपमा जानकार हुनु पर्छ’, डा.पुकार भन्छन–‘खुट्टा वा अनुहार सुन्निए, पिसाब फेर्ने बानी र रङ्गमा परिवर्तन, स्वादमा परिवर्तन, वाकवाकी वान्ता थकाइ लगायतका लक्षण देखिए तुरुन्त चिकित्सकलाई हेराउनु पर्छ ।’

एउटा मिर्गौला भएकाहरूमा उच्च रक्तचापको जोखिम बढी हुन्छ । यस्तै एउटै मिर्गौला हुनेहरूमा ग्लोमेरुलर फिल्टरेशन रेट (जीएफआर) को माध्यमले थाहा पाउन सकिन्छ की कसरी मिर्गौला ले रगत वाट सही तरिकाले विषाक्त पदार्थ निकाल्ने काम गरिरहेको छ । जीएफआरको माध्यमले मिर्गौला सँग सम्बन्धित रोग छ वा छैन र त्यो कुन चरण सम्म पुगेको थाहा हुन्छ ।

एउटा मिर्गौला भएकाहरूले प्रोटिनको मात्रा बारे मा समेत जानकारी राख्नु आवश्यक हुन्छ । एउटा मिर्गौला भएकाहरूलाई प्रोटेन्युरिया हुने जोखिम हुन्छ । यो भनेको धेरै बढी मात्रा मा प्रोटिन रगत वाट निस्केर पिसाबमा जानु हो ।

रगत वाट बढी मात्रा मा प्रोटिन निस्किँदा यसले गर्दा तरल पदार्थ र सोडियम जम्मा हुन लाग्छ, जसले गर्दा घुँडा, पेटमा सुन्नाइ हुन थाल्छ । यसैले एउटा मिर्गौला भएकाहरूले कुनै समस्या भए तुरुन्त, नभए पनि नियमित अन्तराल मा चिकित्सकको सल्लाह सुझाव लिनु पर्छ ।

‘एउटा मिर्गौला दान दिनेहरूमा वाकी रहेको अर्को मिर्गौलाको आकार समेत बढ्ने गरेको छ’, डा.पुकार भन्छन–‘ बाकी रहेको एउटा मिर्गौलाको आकार बढेर कार्य क्षमतामा समेत बृद्घि हुन्छ, यसले बाकी जीवन एउटा मिर्गौला ले समेत दुई वटा भएकाहरू जस्तै राम्ररी काम गर्छ ।’
हरेक मिर्गौलामा यति कार्य क्षमता हुन्छ त्यसले शरीरको सबै आवश्यक काम पूर्ण रूपले एक्लै गर्न सक्छ तर कुनै पनि कारणले एउटा मिर्गौला भएकाहरूले भने उच्च रक्तचाप, गर्भावस्था, मोटोपना आदि स्वास्थ्य अवस्था हुँदा सतर्क हुनु पर्ने आवश्यकता हुन्छ । एउटा मिर्गौला भएकाहरूलाई दैनिक जीवन मा मिहिनेत गर्न, यौन सम्पर्क गर्न लगायतका मा कुनै समस्या हुँदैन ।

के गर्छ मिर्गौला
मिर्गौला शरीरको लागि विशेष फिल्टर प्रणाली हो । यसले रगतबाट फोहर, विषाक्त पदार्थ हटाउँछ, तरल पदार्थको सन्तुलन कायम गर्छ र पिसाब उत्पादन गर्छ । मिर्गौला ले रगतमा धेरै पदार्थको स्तरलाई नियन्त्रण गर्छ , यसले रक्तचाप नियन्त्रण गर्न समेत सघाउँछ । मिर्गौलाले रगतमा अम्ल क्षार को सन्तुलन (पीएच व्यालेन्स) नियन्त्रण गर्छ । रगतमा पर्याप्त चिनी (ग्लुकोज) नभएको अवस्थामा चिनी समेत बनाउँछ । यसले रेनिन नाउ को प्रोटिन बनाउँछ जसले रक्तचापलाई बढाउँछ । मिर्गौला ले क्याल्सिट्र्रिल र इरिथ्रोपोइटिन हर्मोन उत्पादन गर्छ । क्याल्सिट्र्रिल भिटामिन ‘डी’ को एक रूप हो जसले शरीरमा क्याल्सियम अवशोषित गर्न मद्दत गर्छ । यस्तै इरिथ्रोपोइटिन ले शरीरलाई रातो रक्त कोषिका बनाउन सघाउँछ ।

मिर्गौला को माथि एड्र्रेनल ग्रन्थि हुन्छ । यसले कार्टिसोल लगायतका हर्मोन उत्पादन गर्छ जसले शरीरलाई तनाव मा प्रतिक्रिया दिन सघाउँछ । कार्टिसोलले मेटावोलिज्म (चयापचय) नियन्त्रण, सुन्नाइ कम गर्ने र रक्तचाप नियमन गर्न समेत महत्वपूर्ण भूमिका खेल्छ ।

मिर्गौला बारे जानौँ

  • एउटा मिर्गौला सहित जन्मिनेहरुमा अर्को मिर्गौला को आकार दुई मिर्गौला बराबर हुन्छ
  • एउटा वयस्क व्यक्तिको मिर्गौलाको तौल सरदर १४२ ग्राम हुन्छ
  • शरीरमा भएको सम्पूर्ण रगतको २५ प्रतिशत मात्रा मुटु वाट मिर्गौला मा जान्छ
  • मिर्गौला २४ घण्टा मा करिब ४ सय पटक रगत सफा गर्छ
  • मिर्गौला ले हरेक मिनेट १.३ लिटर रगतलाई सफा गर्छ
  • मिर्गौलाले हरेक मिनेटमा आधा कप रगत सफा गर्छ
  • मिर्गौलाले हरेक दिन २ सय लिटर रगत लाई फिल्टर गर्छ
  • एउटा मिर्गौला सरदर ७५ प्रतिशत राम्रो भए पनि त्यो व्यक्ति स्वस्थ जीवन यापन गर्न सक्छ
  • मिर्गौलामा ११ लाख ५० हजार (१.१५ मिलियन नेफ्रोन भनिने कोषिका हुन्छ ।
  • मिर्गौलामा भएको नेफ्रोन लाई जोडेर धागो बनाइयोस् भने यो ८ किलोमिटर लामो हुन सक्छ
  • शरीरमा रक्तचापको कमी हुँदा मिर्गौलाले रगतको धमनी लाई खुम्चिने सन्देश दिन्छ

एउटा मिर्गौला भएका ले राख्नु पर्ने सावधानी

  • मिर्गौलामा चोट लाग्ने सम्भावना भएको कार्य वा खेलकुद गर्नु हुँदैन
  • डाक्टरको सल्लाह विना औषधि सेवन गर्नु हुन्न
  • पानी उपयुक्त मात्रा मा सेवन गर्नु पर्छ
  • पुरुषले तिन लिटर र महिलाले दुई लिटर भन्दा अलि बढी पानी सेवन गर्नु पर्छ
  • पिसाबमा संक्रमण वा पत्थरी भए तुरुन्त उपचार गराउनु पर्छ
  • कुनै प्रकारको उपचार वा शल्य क्रिया भन्दा अघि चिकित्सकलाई एउटा मात्र मिर्गौला भएको जानकारी दिनु पर्छ
  • उच्च रक्तचाप नियन्त्रण मा राख्नु पर्छ
  • नियमित व्यायाम, उपयुक्त तौल कायम राख्दै स्वस्थ र सन्तुलित आहार लिनु पर्छ
  • वर्षेनी एक पटक मिर्गौला लगायतका सबै प्रकारको परीक्षण गराउनु पर्छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!