डब्लुएचओका महानिर्देशक टेड्रोस र स्वास्थ्य मन्त्री गिरी बीच जेनेभामा भेटवार्ता

जेनेभा – विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीजरल्याण्ड पुगेका स्वास्थ्य मन्त्री पदम गिरी सँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन् ।
भेटमा मन्त्री गिरीले डब्लुएचओले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान को लागि धन्यवाद दिए । विशेष गरी खोप कार्यक्रम पोलियो लगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले धन्यवाद दिएका थिए ।
भेटमा २०७२ सालको भूकम्प, हैजाको प्रकोप, कोभिड विरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गरेका थिए ।
मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रतिजैविक औषधीको प्रतिरक्षा प्रणाली लगायत हाल भैरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने कुरा राखेका थिए ।
डब्लुएचओका समन्वय केन्द्रहरू निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका कुराहरूमा पनि भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस