बर्सेनि झण्डै ५ लाख नेपाली स्वास्थ्य खर्चका कारण गरिबी तिर धकेलिदै

काठमाडौँ – ‘हामीले चाहेको विश्वको आवश्यकता, सबैका लागि स्वस्थ भविष्यको सुनिश्चितता ‘ भन्ने नाराका साथ स्वास्थ्यमा सर्वव्यापी पहुंच दिवस नेपालमा पनि सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। बर्सेनि ‘सबैका लागि स्वास्थ्य’ नीति स्थापित गर्न आह्वान गर्दै यो दिवस मनाइन्छ ।
उपचारात्मक सेवा महाशाखा का निर्देशक डा . अनुप वास्तोला ले स्वास्थ्यमा सर्वव्यापी पहुँच को अर्थ सबै समुदायका मानिसहरुले आर्थिक कठिनाई बिना गुणस्तरीय स्वास्थ्य सेवाहरुमा पहुँच पाउनु रहेको बताए ।
यसले स्वास्थ्य प्रबर्द्धन देखि रोकथाम, उपचार, पुर्नस्थापना र जीवनको उत्तरार्द्धमा चाहिने हेरचाह सम्म लाई समेट्छ र यो सुदृढ प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा आधारित हुन्छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचले मानिसहरुलाई गरिबीको रेखाबाट माथि उठ्न सघाउँछ, पारिवारिक तथा सामुदायिक स्वास्थ्यको स्तरोन्नती हुन्छ, जनस्वास्थ्य संकटहरुको जोखिम कम हुन्छ र सबैले सहजै स्वास्थ्य सेवा पाउने स्थिति निर्माण हुने समेत डा . वास्तोला ले जनाए ।
स्वास्थ्य बिमा बोर्डका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भू ज्ञवाली ले मुलुकमा स्वास्थ्यमा सर्वव्यापी पहुँच स्थापित गर्न को लागि नै बीमा कार्यक्रम ल्याइएको बताए ।
बिमा लाई आम नागरिकको खल्तीबाट हुने स्वास्थ्य उपचारको खर्च घटाउने उद्देश्यले सुरु गरिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह ले बर्सेनि झण्डै ५ लाख नेपाली नागरिक स्वास्थ्य सम्बन्धित खर्चका कारण गरिबी तिर धकेलिने गरेको बताए ।
स्वास्थ्य मन्त्रालयले नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति २०७६, नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२-२०७७ जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ तथा नेपाल सरकारका नीति तथा कार्यक्रमहरु मार्फत नागरिकहरूको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक उपचार सेवा सबैलाई उपलब्ध हुने र गुणस्तरीय उपचार सेवा पाउने मौलिक हकलाई सुनिश्चित गर्न वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संघिय संरचना पछि संघहरुको सामाजिक -आर्थिक भिन्नता, शैक्षिक स्थिति, फरक स्वास्थ्य आवश्यकतालाई मध्य नजर गरी राष्ट्रिय स्वास्थ्य नीति २०७६ तर्जुमा गरिएको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा जोड दिन्छ।
यस रणनीतिले शहरी गरीब लगायत सेवा विहिन जनसंख्यामा समतामूलक सेवा उपभोगको वातावरण निर्माण गर्ने, सेवा प्रवाहलाई सुदृढ गर्ने र त्यस्ता समुदायबाट स्वास्थ्य सेवाको माग बढाउने परिकल्पना गरेको डा वास्तोला ले उल्लेख गरे ।
यस्तै पन्ध्रौँ पञ्चवर्षिय योजनाले स्वास्थ्य स्रोतको समतामूलक पहुँच र वितरणसहित स्वस्थ, उत्पादनशील, जिम्मेवार र सुखी नागरिकको परिकल्पना गरेको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको सिद्धान्तमा आधारित भई नेपालले स्थानीय तहका सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सबै स्थानीय तहमा आधारभूत तथा अस्पताल सेवा उपलब्ध गराउने अस्पताल, सातवटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल, ७७ वटै जिल्लामा प्रभावकारी रुपमा स्वास्थ्य बीमा कार्यक्रमको विस्तार, विपन्न नागरिकहरूका लागि जटिल प्रकृतीका नसर्ने रोगहरूको उपचार कार्यक्रम लगायत विशेषज्ञ एवं विशिष्टिकृत सेवाहरूको विकास र विस्तार गर्दै आएको समेत उनले जनाए ।
यसका साथै सेवा नपुगेका दुर दराजमा टेलीमेडिसिन जस्ता प्रविधिमार्फत स्वास्थ्य सेवाहरु उपलब्ध गराउने कार्यक्रमहरू पनि सञ्चालनरत छन् ।
कोभिड १९ महामारीले धेरै पाठ सिकाएको छ। यस महामारीले हामीलाई स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्नुपर्ने र त्यसका लागि बहुपक्षीय लगानी महत्वपूर्ण हुने देखाएको डा . वास्तोला वताउछन ।यसैगरी सूचना प्रविधि र स्वास्थ्य सेवामा समतामूलक पहुँचको आवश्यकता र महत्वलाई पनि उजागर गरिदिएको छ।
बहुपक्षीय सहकार्य मार्फत आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य सेवा प्रदायकहरूको कार्यसम्पादन प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाहरूको समयानुकूल क्षमता अभिवृद्धि गर्ने, विशेषज्ञ एवं विशिष्टिकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकको आवश्यकता र क्षमतालाई आधार मानी स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने लगायतका नीति कार्यक्रमलाई प्राथमिकतामा राखिने समेत उनले जनाए ।
नेपालको स्वास्थ्य क्षेत्रमा व्याप्त असमानता हरुको सम्बोधन गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने दिशामा काम गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मार्गचित्र तयार गरी सोही अनुसारका रणनीतिक कार्ययोजना सञ्चालन गर्दै जानेछ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तीका लागि नेपाल सरकारको यस अभियानमा सहकार्य गर्न देशका नीतिनियम निर्माता, व्यवस्थापक, कार्यक्रम संचालक, शैक्षिक प्रतिष्ठान, साझेदार निकायहरु एवं सरोकारवाला जनसमुदायहरुलाई डा. वास्तोला ले आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस