सम्पादकीय

सम्पादकीय: सरल अभ्यास, गम्भीर लाभ – छिटो हिँडाइले मुटु बचाउने वैज्ञानिक प्रमाण


आजको व्यस्त जीवन शैली र अस्वस्थ खानेकुराले हाम्रो स्वास्थ्यलाई गम्भीर चुनौती दिइरहेको छ। विशेष गरी मुटुसँग सम्बन्धित समस्या -जुन एक समयमा उच्च रक्तचाप, कोलेस्ट्रोल वा उमेरसँग मात्र जोडिन्थ्यो – अब जीवन शैलीकै असरले युवा पुस्तामा पनि देखिन थालेको छ। यस्तै समस्या मध्ये एउटा हो, एट्रियल फिब्रिलेसन – जसले मुटुको धड्कनलाई असामान्य बनाउँछ र दीर्घकालीन रूपमा मुटुका अन्य रोगहरू निम्त्याउन सक्छ।

तर हालै बेलायतको ग्लासगो विश्वविद्यालयबाट प्रकाशित अध्ययनले हामीलाई एउटा आशा जनक समाधान देखाएको छ। त्यो समाधान कुनै महँगो औषधि वा शल्यक्रिया नभए मात्र छिटो हिँडाइ हो।

१३ वर्ष लामो अनुसन्धानमा करिब साढे चार लाख मानिसको जीवन शैली र स्वास्थ्य अवस्थाको अध्ययन गर्दा देखिएको तथ्य चकित पार्ने खालको छ।

छिटो हिँड्ने बानीले एट्रियल फिब्रिलेसनजस्तो गम्भीर समस्या ४६ प्रतिशतले घटाउन सक्छ भन्ने निष्कर्ष आफैंमा अत्यन्त सशक्त सन्देश हो। यो नतिजाले औसत गतिमा हिँड्नेहरूमा पनि ३५ प्रतिशत सम्म जोखिम कम भएको देखाएको छ भने बिस्तारै हिँड्नेहरूमा भने यस्तो लाभ कम देखिएको छ।

शरीरिक गतिविधिको महत्त्वलाई औपचारिक पुष्टि गर्दै यो अध्ययनले एक पटक फेरि हामीलाई सम्झाएको छ – स्वास्थ्य बचाउने कुरा जटिल उपचार भन्दा जीवन शैली सुधारमा भर पर्छ। छिटो हिँड्ने जस्तो सामान्य अभ्यासले मात्र मुटुको गम्भीर रोग टार्न सकिन्छ भने, यो सबैका लागि सुलभ र सरल उपाय बन्न सक्छ।

सरकार र स्वास्थ्य संस्थाहरूले पनि यस्ता वैज्ञानिक नतिजालाई आधार बनाएर सर्वसाधारण लाई दैनिक जीवनमा शारीरिक सक्रियता अपनाउन प्रोत्साहन गर्नुपर्ने देखिन्छ। विद्यालय, कार्यालय र समाजमा स्वस्थ जीवन शैलीप्रति चेतना फैलाउनु आजको आवश्यकता हो।

मुहानहरू बदल्न नसकिने भए पनि, बानीहरू भने सजिलै बदल्न सकिन्छ। छिटो हिँड्नु हाम्रो स्वास्थ्य प्रतिको सरल तर प्रभावकारी लगानी हो। अब समय आएको छ – हामीले पनि हरेक दिनको केही मिनेट छिटो हिँडाइमा खर्च गरेर मुटुलाई बलियो बनाउने प्रयास थालौँ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!