विश्व क्षयरोग दिवस
‘नेपालमा टीबी सङ्क्रमित मध्ये ४० प्रतिशतलाई मात्र उपचार, पाँच वर्षे योजनामा ४३ प्रतिशत बजेट अभाव’

काठमाडौं– नेपालमा क्षयरोगका अनुमानित सङ्क्रमित व्यक्तिहरू मध्ये करिब ४० प्रतिशतले मात्र उपचार प्राप्त गरिरहेका छन् । अर्को तर्फ क्षयरोग कार्यक्रमको पाँच वर्षीय रणनीतिक योजनामा ४३ प्रतिशत बजेट अभाव समेत देखिएको छ । यति मात्र नभइ मुलुकमा क्षयरोग पीडित व्यक्तिहरू तथा उनको परिवारलाई ठूलो आर्थिक भार पर्ने समस्या समेत कायमै छ ।
विश्व क्षयरोग दिवस को अवसरमा उक्त जानकारी दिदैँ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले क्षयरोग (टीबी) नेपालमा पनि गम्भीर जनस्वास्थ्य समस्याको रूपमा रहँदै आएको बताउँछन् ।
डा.तिवारी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२३ को तथ्याङ्क ओल्याउँदै नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग संक्रमितहरू रहेको र प्रति १ लाख जनसङ्ख्यामा २ सय २९ जनालाई क्षयरोग लागेको अनुमान गरिएको बताउँछन् ।
सोही वर्ष, क्षयरोगका कारण १६ हजार व्यक्तिको मृत्यु भएको थियो, जसको मृत्यु दर प्रति १ लाख जनसङ्ख्या ५४ थियो । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत ४० हजार ७ सय ७६ जना क्षयरोग सङ्क्रमितहरू उपचारमा दर्ता भएका थिए, जसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधी प्रतिरोधी क्षयरोग सङ्क्रमितहरू ७ सय ५६ रहेको डा.तिवारी जनाउँछन् ।
‘यत्रो जटिलता चुनौतीका बावजुद हामी क्षयरोग नियन्त्रण को सङ्घर्षमा भरमग्दुर प्रयास गरिरहेका छौं’, डा.तिवारी भन्छन् । उनको अनुसार हाल देश भर ६ हजार २ सय ४१ स्वास्थ्य संस्थाबाट क्षयरोग उपचार सेवा र ८ सय स्वास्थ्य संस्थाबाट निदान सेवा निःशुल्क उपलब्ध गराइएको छ । साथै, ६७ जिल्लाका १ सय १७ स्वास्थ्य संस्थामा क्षयरोगको द्रुत परीक्षण सेवा विस्तार गरिएको छ ।
यस्तै औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि २९ वटा उपचार केन्द्र र ९८ उप केन्द्र सञ्चालनमा छन । यस्ता बिरामीहरूका लागि ६ महिने छोटो अवधिको इन्जेक्सन रहित उपचार पद्धति समेत उपलब्ध गराइएको छ ।
सङ्घीय संरचनालाई ध्यानमा राखी १ सय ४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ कार्यान्वयन गरिएको जनाउँदै डा. तिवारी भन्छन–‘यसै क्रममा, समुदाय स्तरमा क्षयरोग सङ्क्रमितहरूको पहिचानका लागि एआई प्रविधि सहितको डिजिटल एक्स–रे मेसिन प्रयोग गरी खोज र परीक्षणको कार्य प्रारम्भ गरिनु को साथै राष्ट्रिय क्षयरोग छैठौं औषधी प्रतिरोध सर्वेक्षण तथा पहिलो क्षयरोग बिरामी लागत सर्वेक्षण समेत सम्पन्न गरिएको छ ।’
डा. तिवारीका अनुसार, ‘नेपालले क्षयरोग उन्मूलनका लागि हालैका वर्षहरूमा महत्वपूर्ण पहलहरू अघि बढाएको छ । तर, सफलताको लागि अझ व्यापक स्रोत परिचालन, प्रविधिको अधिकतम उपयोग, र समुदायस्तर बाटै रोग पहिचान तथा नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’
उनले विश्व क्षयरोग दिवस २०२५ को अवसरमा, सम्पूर्ण नेपाली नागरिकलाई क्षयरोग विरुद्ध सचेत रहन, लक्षण देखिएमा समयमै परीक्षण गर्न र समाजमा यस रोग सम्बन्धी जन चेतना फैलाउन समेत आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस