भारतमा बिरालोलाई बर्ड फ्लु को पहिलो घटना, कति खतरनाक हुनेछ यो

नयाँ दिल्ली (ब्युरो)– भारतको मध्य प्रदेश राज्यको को छिन्दवाडामा घर पालुवा बिरालोहरूमा एभियन इन्फ्लुएन्जा भाइरस को पहिलो घटना पुष्टि भएको छ ।
स्वास्थ्य विज्ञहरूले स्पष्ट पारेका छन् कि बिरालोका मालिकहरू भने अहिले सम्म उक्त संक्रमण वाट अप्रभावित देखिएका छन् । एच५एन१ को परीक्षणमा तीन देखि चार बिरालोहरू पोजेटिभ देखिए पनि तिनका मालिकहरू यस रोगबाट सङ्क्रमित भएका छैनन् । तथापि, चराबाट स्तनधारीहरू मा एच५एन१ भाइरसको उत्परिवर्तन भएको देखिएकोले यसले मानिसलाई पनि प्रभावित गर्न सक्ने चिन्ता बढेको छ ।
मानिसका लागि कति खतरनाक ?
छिन्दवाडा बाट भोपाल स्थित आईसीएआर – नेशनल इन्स्टिच्युट अफ हाई सेक्युरिटी एनिमल डिजीज लाई पठाइएको तीन देखि चार बिरालोको रगत, नाक, तथा मलद्वारबाट सङ्कलित नमुनाहरू एच५एन१ को लागि सकारात्मक देखिएको छ । तर, बिरालोका मालिकहरूमा भने यो भाइरसको कुनै लक्षण देखिएको छैन ।
बिरालोमा बर्ड फ्लु पुष्टि भए पछि राज्यका स्वास्थ्य अधिकारीहरूले बिरालोका मालिकहरूलाई समेत क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छन्।
हाल सम्म मध्य प्रदेशका स्वास्थ्य विज्ञहरूका अनुसार, छिन्दवाडा तथा अन्य क्षेत्रबाट बिरालो र चराका नमुना परीक्षणका लागि पठाइए पनि अरू कुनैमा भाइरसको उपस्थिति देखिएको छैन । त्यसैले अहिले मानिसमा यसको उत्परिवर्तन हुने सम्भावनालाई लिएर डराउनु पर्ने अवस्था छैन । अध्ययनका क्रममा बिरालोलाई सङ्क्रमित गर्ने एच५एन१ भाइरसमा २७ वटा उत्परिवर्तनहरू पाइएको छ ।
बिरालोमा बर्ड फ्लुको लक्षणहरू
मध्य प्रदेशको छिन्दवाडा जिल्ला महाराष्ट्रको नागपुर सीमामा अवस्थित छ । यहाँ धेरै ठूला बिरालोहरू एभियन फ्लुबाट प्रभावित भएका थिए । अध्ययन अनुसार। एच५एन१ भाइरसको २.३.२.१ए प्रकारले छिन्दवाडामा घरपालुवा बिरालोलाई सङ्क्रमित गर्यो, जसले गर्दा यो भारतमा पहिलो पटक देखा परेको घटना बन्यो ।
बिरालोहरूमा यो भाइरसको सङ्क्रमण देखिनु भन्दा १ देखि ३ दिन अघि तिनिहरूमा उच्च ज्वरो, भोक नलाग्ने र सुस्तता जस्ता लक्षणहरू देखिएका थिए । अध्ययनका क्रममा बिरालोलाई सङ्क्रमित गर्ने भाइरसमा २७ वटा उत्परिवर्तन पाइएको छ, जुन प्रायः पोल्ट्रीमा पाइने भाइरसको प्रकार भन्दा फरक रहेको छ ।
बर्ड फ्लु रोकथामका लागि सावधानी
वैज्ञानिकहरूका अनुसार, पोल्ट्री, जङ्गली चराहरू तथा स्तनधारी प्राणीहरू माथि कडा निगरानी आवश्यक छ । किनकी भाइरसले प्रजातिहरू बीच सर्ने क्षमता देखाएको छ । हाल सम्म बिरालोबाट मानिसमा एच५एन१ भाइरस सरेको कुनै प्रमाण भेटिएको छैन । तर, वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि यो अवस्था नियन्त्रण बाहिर जान नदिन सतर्कता अपनाउनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस