विशेष रिपोर्ट

‘हृयुमेन मेटान्युमोभाइरस : नआत्तिनोस चनाखो रहनुस, आइसीयु भर्ना बालबालिकामा मृत्युदर उच्च’


काठमाडौं–उत्तर चीन सँगै दक्षिणका छिमेकी भारतमा ‘हृयुमेन मेटान्युमोभाइरस’ (एचएमपीभी) को संक्रमण देखिन थालिए पछि नेपालका स्वास्थ्य निकायले समेत नआत्तिकन चनाखो रहँदै सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ ।

यो भाइरस हालै दशै अगाडी र सन २०१९, २०२३ मा नेपालको बालबालिकामा समेत देखि सकिएको छ । कान्ति वाल अस्पतालमा गरिएको एक अध्ययनमा एमएचपीभी संक्रमित भएर आइसीयुमा भर्ना भएका बालबालिकामा मृत्युदर उच्च देखिएको छ ।

यदि तपाई उच्च जोखिम समूहमा हुनु हुन्छ भने, उदाहरणका लागि यदि तपाई बूढो हुनुहुन्छ वा शरीरको प्रतिरक्षा प्रणाली कमजोर छ अथवा तपाइ लाई रुघा खोकी को गम्भीर लक्षणहरू देखिएका छन् भने, चिकित्सा सहायता लिन स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

एचएमपीभी का अधिकांश केसहरू सामान्य हुन्छन्, तर साना बालबालिका, ६५ वर्ष भन्दा माथिका वयस्कहरू र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू गम्भीर रोगको जोखिममा हुन्छन् ।

संयुक्त राष्ट्र को स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार यो पुरानो भाइरस हो र चीनमा जाडो मौसममा यस्तो संक्रमणको घटनामा वृद्धि हुने गरेको छ ।

डब्लुएचओ का प्रवक्ता डा.मार्गरेट हैरीसले यो जाडोमा सर्ने सामान्य भाइरस रहेको र यसबाट संक्रमित हुँदा फ्लु (रुघा) जस्ता लक्षण देखिने जनाउँदै रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरूका लागि यसले गम्भीर रोग निम्त्याउन सक्ने समेत जनाएकी छन्।

‘चीनमा हृयुमेन मेटान्युमोभाइरस को प्रकोप केही समय देखि मिडियाको हेड लाइनमा छ, हालै भारत मा समेत देखिन थालिएको छ’, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका का निर्देशक डा.यदुचन्द्र घिमिरे ले नेपालहेल्थप्रेस सँग भने–‘ डब्ल्यूएचओ ले यो नयाँ रोग वा ठूलो खतरा नभएको स्पष्ट पारेको छ ।’

डा.घिमिरेले अगाडी थपे, संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले यो पुरानो भाइरस रहेको र चीनमा जाडो मौसममा यस्तो संक्रमणको घटनामा वृद्धि हुने गरेको समेत जनाएको छ ।

चाइनिज सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो २ जनवरी २०२५ को प्रतिवेदन (२९ डिसेम्बर २०२४ सम्मको तथ्याङ्कलाई समावेश गरी) को आधारमा, त्यहाँ हिउँदमा अपेक्षित रूपमा सामान्य श्वास प्रश्वास संक्रमणको संख्यामा वृद्धि भएको जनाएको छ । स्मरण रहोस् चीनमा इन्फ्लुएन्जा जस्तो रोग र गम्भीर तीव्र श्वास प्रश्वास संक्रमणको लागि सेन्टिनेल निगरानी प्रणाली छ ।

चाइना सीडीसी तथ्याङ्कको अनुसार यी संक्रमणहरू गराउने रोग जनकहरू मौसमी इन्फ्लुएन्जा भाइरस, आरएसभी (रेस्पिरेटरी सिन्सिटियल भाइरस), एचएमपीभी (हृयुमन मेटान्युमोभाइरस) र सार्स कोभ–२ ( कोभिड–१९ निम्त्याउने भाइरस)  छन् ।

डा.घिमिरेको अनुसार नेपाल मा समेत सन २०२४ को डिसेम्बर देखि सन २०२५ को जनवरी पहिलो साता सम्म गरी फ्लु (रुघा खोकी) एवं सारी (सिभिएर अक्युट रेस्पिरेटरी इलनेस) को घटना जाडो याममा अघिल्लो वर्ष हरुमा जस्तै अपेक्षित नै देखिएको छ, अप्रत्याशित देखिएको छैन ।

‘जाडो मौसममा यो संक्रमण भएकाहरूलाई हाम्रो सल्लाह भनेको बिरामी हुनबाट जोगिन प्रयास गर्नु हो’, डा.घिमिरे भन्छन–‘सरल उपायहरूले यो संक्रमण फैलिन बाट रोक्न सकिन्छ ।’

पहिलो पटक सन २००१ मा नेदरल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाएका यो भाइरस हालै दशै अगाडी र सन २०१९ र २०२३ मा नेपालको बालबालिका मा समेत देखि सकिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा.रन्जन राज भट्ट बताउँछन् ।

‘दशै अगाडी पनि एचएमपीभीको एउटा पोखराको केश रिपोर्ट गरिएको थियो, हामीले परीक्षण गरेका थियौँ’, डा.भट्टले  भने–‘कान्ति बाल अस्पताल मा सन २०१९, २०२३ मा ५ वर्ष मुनीको बालबालिकामा यो भाइरस देखि सकिएको छ।’

यो संक्रमणको जोखिम कम गर्न मास्क लगाउने, बन्द कोठामा हावाको ओहर दोहर (भेन्टिलेसन) कायम  गर्ने र हातको साबुन पानीले सरसफाइमा ध्यान दिनु पर्छ ।

डा.घिमिरेका अनुसार रुघा खोकी को बिरामी हुँदा घरमा बस्ने, भीड भाड भएको वा कम हावा आवत जावत भएको ठाउँमा मास्क लगाउने, भेन्टिलेसनमा सुधार गर्ने (जस्तै हावा प्रवाहको लागि झ्याल खोलेर राख्ने), खोकी र हाँच्छ्यूँ गर्दा टिस्यु वा कुहिनोले छोप्ने, नियमित साबुन पानीले हात धुने र तपाई को डाक्टरले सिफारिस गरेको खोपहरू लगाउने हो ।

‘यो संक्रमण हुँदा बिरामी अन्य कुनै गम्भीर स्वास्थ्य समस्या वाट पीडित नभए सामान्यतया रोगीको मृत्यु हुँदैन’,  डब्लुएचओका प्रवक्ता डा.मार्गरेट हैरीसले हृयुमेन मेटान्युमो भाइरस को संक्रमणले मृत्युदर धेरै कम रहेको बताउँछिन् ।

कान्तिको आइसियुमा भर्ना एचएमपीभी संक्रमितको मृत्यु दर उच्च

मुलुक मै गरिएको एक अध्ययनमा कान्ति वाल अस्पतालको आइसियुमा तीव्र श्वास प्रश्वास मार्ग संक्रमण भएर भर्ना भएका बालबालिकामा मृत्यु दर अत्यन्त उच्च रहेको छ ।

विएमसी पेडीयाट्रिक्स मा प्रकाशित ‘काठमाडौंको टर्सरी केयर अस्पतालमा तीव्र श्वास प्रश्वास मार्ग संक्रमण भएका बालबालिकाहरूमा हृयुमेन मेटान्युमोभाइरस संक्रमणको बोझ’,  विषयक अध्ययनमा  जाडो महिनामा कान्ति वाल अस्पताल आएका तीव्र स्वसन संक्रमण भएका बालबालिका मध्ये १५ प्रतिशत जतिमा एचएमपीभी ले गर्दा संक्रमण भएको उल्लेख छ । अझ ३ वर्ष मुनीका २१.८ प्रतिशत बालबालिका को संक्रमणको कारण एचएमपीभी देखिएको थियो ।

उक्त अध्ययनमा ज्योति लामिछाने, मिलन उप्रेती, कृष्ण नेपाल, विष्णुप्रसाद उपाध्याय, उरुषा महर्जन, रामकृष्ण श्रेष्ठ, रामहरी चापागाइ, मेघराज बन्जारा र उपेन्द्र थापा श्रेष्ठ संलग्न थिए ।

अध्ययनमा संलग्न कान्ति वाल अस्पतालका डा.रामहरी चापागाई ले नेपालहेल्थप्रेस सँग भने–‘हाम्रो (कान्ति) आइसियुमा भर्ना भएको एमएचपीभी संक्रमण भएका बालबालिकामा मृत्यु दर अत्यन्त उच्च देखिएको छ ।’

डा.चापागाइको अनुसार कान्ति को आइसियुमा भर्ना भएका एचएमपीभी संक्रमणका बालबालिकामा मृत्यु दर १८ प्रतिशत जति छ । स्मरण रहोस आइसियुमा भर्ना अन्य तीव्र श्वास प्रश्वास मार्ग संक्रमण भएका बालबालिकामा भने मृत्यु दर ३ देखी ५ प्रतिशत सम्म देखिएको छ ।

के हो यो भाइरस, कस्तो लक्षण देखिन्छ ?

हृयुमेन मेटान्युमोभाइरस एउटा सामान्य स्वास प्रश्वासको भाइरस हो जसले माथिल्लो स्वास प्रश्वासको संक्रमण अर्थात् सामान्यतया रुघा खोकी जस्तै लक्षणहरू निम्त्याउँछ ।

‘यो मौसमी समेत हुने गरेको छ, सामान्यतया जाडो र वसन्त ऋतुमा हुने गर्छ, रेस्पिरेटरी सिन्सिटियल भाइरस (आरएसभी) र फ्लु (रुघा) जस्तै’, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र का प्रमुख कन्सलटेन्ट छाती रोग विशेषज्ञ डा.नविन प्रकाश शाह बताउँछन् । यसमा खोकी लाग्नु,, नाक बाट पानी बग्नु, घाटी दुख्नु, ज्वरो जस्तो समस्या देखिन सक्छ ।

‘धेरै गम्भीर अवस्थामा बिरामीहरू ले ध्वार्र र्ध्वार हुने खोकी, सास फेर्न गार्हो र दम बढ्नु जस्तो हुन सक्छ’, डा.शाह भन्छन–‘यस्तै तल्लो स्वास प्रश्वासको सक्रमणहरु जस्तै ब्रोकियोलाइटीस, ब्रोकाइटीस वा निमोनियाँ हुन सक्छ, जसको लागि थप चिकित्सा हेरचाह आवश्यक हुन्छ ।’

यो संक्रमणको धेरै जसो केश सामान्य देखिए पनि ससानो वाल वालिका, ६५ वर्ष माथिकाहरु, कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुमा गम्भीर रोगको जोखिम समेत  हुन्छ ।

डा.शाहको अनुसार अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् की बालबालिकामा १० देखि १२ प्रतिशत सम्म स्वास्स प्रश्वास सम्बन्धी रोगहरू एचएमपीभी बाट हुन्छ । धेरै जसो केशहरू हल्का हुन्छन् तर करिब ५ देखी १६ प्रतिशत बालबालिकामा निमोनियाँ जस्ता तल्लो स्वास प्रश्वासको संक्रमण हुने गर्छ ।

कुन बेला डाक्टरलाई देखाउने ?

हल्का एचएमपीभी को लक्षण अनुभव गर्ने धेरै जसो व्यक्ति लाई डाक्टरलाई हेराउनु पर्दैन । डा.साहका अनुसार किन भने यो संक्रमण आफै निको हुन्छ र घरको स्याहार नै पर्याप्त हुन्छ । तर यदि लक्षण बिग्रिए र बिरामीलाई सास फेर्न गार्हो भयो, गम्भीर खोकी लागे वा र्ध्वार र्ध्वार भए डाक्टरलाई देखाउनु आवश्यक हुन्छ ।

कसरी एचएमपीभी निदान गरिन्छ ?

डाक्टरले बिरामीको शारीरिक परीक्षण र रोगको इतिहास वाट यो संक्रमण पत्ता लगाउँछन् । स्वास प्रश्वास सम्बन्धी संक्रमणको स्रोत रूपमा एचएमपीभी लाइ थप निदान गर्न डाक्टरले रोग निम्त्याउने भाइरसको प्रकार पुष्टि गर्न प्रयोगशाला परीक्षण हरू गराउन सक्छ।

डा.शाहका अनुसार धेरै कम अस्पतालमा भर्ना भएका गम्भीर बिरामीमा डाक्टरले ब्रोन्कोस्कोपी गर्न सक्छ । यस परीक्षणमा फोक्सोमा सानो लचिलो क्यामरा घुसाइन्छ र तरल पदार्थ को नमुना भाइरस परीक्षण गर्न निकालिन्छ ।

याे पनि पढनुसः

भारत ह्यूमेन मेटान्यूमोभाइरसकाे जाेखिम सामना गर्न तयार, पर्याप्त चिकित्सा परीक्षण सुविधा उपलब्ध

भारतमा हृयूमन मेटानिमोभाइरस (एचएमपीभी)का तीन केस पुष्टिः दुई कर्नाटक र एक गुजरातमा फेला परे

‘छिमेकी चीनमा हृयुमन मेटानिमोभाइरसको बढदो प्रकोप, नेपाल मौन’

चीनमा नयाँ भाइरस ‘एचएमपीभी’ को प्रकोपः केहो यो भाइरस ? प्रकोपले महामारी निम्त्याउला ?


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!