‘छिमेकी चीनमा ह्युमन मेटानिमोभाइरसको बढ्दो प्रकोप, नेपाल मौन’
सरकारले उत्तरी छिमेकमा देखिएको यो सङ्क्रमणको विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । स्वास्थ्य मन्त्रालय समेत यस सङ्क्रमणको मुलुकमा अनुगमन, निगरानी र व्यवस्थापन लगायतका पक्ष बारे मौन छ ।
काठमाडौं– छिमेकी मुलुक चीनमा ह्युमन मेटानिमोभाइरस (एचएमपीभी) को बढ्दो सङ्क्रमण लाई ध्यानमा राख्दै नेपालले समेत यसको अनुगमन, निगरानी र निदान लगायतका व्यवस्थापन गर्नु पर्ने आवश्यकता विशेषज्ञ हरूले औँल्याएका छन् ।
नेपाल सरकारले उत्तरी छिमेकमा देखिएको यो सङ्क्रमणको विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । सरकारको स्वास्थ्य मन्त्रालय समेत यस सङ्क्रमणको मुलुकमा अनुगमन, निगरानी र व्यवस्थापन लगायतका पक्ष बारे मौन छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले हाल सम्म यो सङ्क्रमण को विषयमा केही नगरिएको दाबी गरे ।
‘बचाउको पाटोमा के गर्नु पर्छ, भन्ने विषयमा समेत हामी जानकार छैनौँ’, मन्त्रालयका एक अधिकारीले भने–‘हामीले आजको दिन सम्म यो सङ्क्रमण बारे केही गरेका छैनौ ।’
अर्को छिमेकी भारत ले हाल यस सङ्क्रमणको एउटा पनि केस दर्ता न भएको र भारत सरकार यसका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ ।
यहाँ सम्म की छिमेकी मुलुकको स्थानीय तेलंगाना सरकारले यो सङ्क्रमणको बारेमा दिशानिर्देश समेत जारी गरेको छ । यद्यपि राज्यमा अहिले सम्म कुनै पनि केस रिपोर्ट गरिएको छैन ।
भारत सरकारको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयको स्वास्थ्य सेवा महा निर्देशनालय र नेशनल सेन्टर फर डिजीज कन्ट्रोलका निर्देशकले यो विषयमा आम नागरिकको लागि विज्ञप्ति समेत जारी गरेको छ ।
‘रोगले सीमा भन्दैन, पासपोर्ट भए पनि रोग फैलिन्छ । कुनै पनि रोगको परिणाम नेपालले पनि भोग्नु पर्छ’, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका उष्णकटिबंधीय चिकित्सा (ट्र्रपीकल मेडिसिन) विशेषज्ञ एवं प्रमुख कन्सलटेन्ट डा.अनुप बास्तोला ले नेपालहेल्थप्रेससँग भने– ‘यो सँगै कुनै पनि यस्तो प्रकारको सङ्क्रमण को लागि पूर्व तयारी र कडा निगरानी हुनु पर्छ ।’
हाल देखिएको र देखिन सक्ने विभिन्न सङ्क्रमण हरूको मुलुक भित्रै पनि निगरानी आवश्यक रहेको जनाउँदै डा. बास्तोलाले छिमेकी मुलुक लगायत विश्वको विभिन्न भागमा देखिने यस्ता सङ्क्रमण हरूको न्यूनीकरणको उपाय मुलुकमा संस्थागत रूपमा बलियो हुनु पर्ने समेत बताए ।
विज्ञहरूको अनुसार चिसो याममा रुघाखोकी का बिरामी बढ्नु सामान्य कुरा भएपनि यस पटक छिमेकमा बढ्दो सङ्क्रमण पछि नयाँ चुनौती देखिएको छ ।
‘सरकारले ह्युमन मेटानिमोभाइरस को नेपालमा अवस्था लगायतका विषयमा तुरुन्त आम नागरिकको लागि आधिकारिक रूपमा जानकारी र यसको व्यवस्थापन र बाच्ने उपाय लगायतका विषय गाइड लाइन जारी गर्नु पर्छ’, इडीसीडी का पूर्व निर्देशक डा.जिडी ठाकुर भन्छन्–‘मुलुकमा पछिल्लो केही समय देखि र हालको श्वासप्रश्वास सङ्क्रमणको विस्तृत डाटा विश्लेषण समेत आवश्यक छ ।’
मुलुकमा समेत मानिसहरू लामो समय सम्म हल्का खोकी लाग्ने गुनासो गर्दै आएका छन् जो वर्षेनी यो मौसममा देखिने सामान्य रुघा खोकी जस्तै रहे पनि व्यापक खोज नीति आवश्यक छ । यी अवस्थाहरूलाई ध्यानमा राख्दै, नेपालमा समेत सावधानी अपनाउनु आवश्यक रहेको डा.ठाकुर बताउँछन् । चिसो मौसममा हरेक वर्ष भाइरल सङ्क्रमण बढ्छ तर सतर्कता अपनाएर मात्रै यसबाट बच्न सकिन्छ ।
भारत सरकारको डाइरेक्टर जनरल अफ हेल्थ सर्भिसेज (स्वास्थ्य सेवा विभागका महा निर्देशक) डा.अतुल गोयलले हृयमेन मेटानिमोभाइरस अन्य श्वास प्रश्वासको भाइरस जस्तै रहेको र सामान्य रुघाखोकी निम्त्याउने जनाएका छन् । यसले युवा र वृद्ध वृद्धाहरूमा फ्लू (रूघा) जस्ता लक्षणहरू निम्त्याउन सक्ने जानकारी दिएको नेपालहेल्थप्रेसको नयाँदिल्ली ब्यूरोका विघ्नेश विमलले बताएका छन् ।
उत्तरी छिमेकी चीनमा यो सङ्क्रमण देखिए पनि हाल सम्म भारतीय सरकारी निकायले भने आफ्नो मुलुकमा नदेखिएको दाबी गर्दै आएका छन् ।
डा.अतुल गोयल भन्छन–‘चीनमा ह्युमन मेटाप्युमोभाइरस को प्रकोप बारे रिपोर्ट आएको छ । यद्यपि हामीले मुलुक (भारत) मा श्वास प्रश्वासको प्रकोप को डाटा विश्लेषण गरेका छौं । डिसेम्बर २०२४ को तथ्याङ्क मा कुनै उल्लेखनीय वृद्धि देखिएको छैन । हाम्रो कुनै पनि स्वास्थ्य संस्थाबाट ठूलो संख्यामा केसहरू रिपोर्ट गरिएको छैन । अहिलेको अवस्था देखेर आत्तिनु पर्ने अवस्था छैन ।’
डा. गोयलले श्वास प्रश्वासको संक्रमणबाट बच्न सर्वसाधारणलाई सावधानी अपनाउन सल्लाह समेत दिएका छन । कसैलाई रुघाखोकी लागेमा सङ्क्रमण नफैलोस् भनेर अरूको सम्पर्कमा नआउनू पर्ने उनको भनाइ छ ।
एचएमपीवी भाइरस के हो ?
- एचएमपीवी भाइरस श्वास प्रणालीलाई असर गर्ने भाइरस हो।
- यो भाइरस पहिलो पटक २००१ मा नेदरल्याण्डका वैज्ञानिकहरूले पत्ता लगाएका थिए।
- यो ‘पैरामाइक्सोभिरीडे परिवार’, अन्तर्गत पर्छ।
- संक्रमित व्यक्तिको हाछ्यू, खोकी वा सम्पर्कबाट यो फैलिन्छ।
- यो भाइरस विगत ६० वर्षदेखि विभिन्न देशमा रहेको अनुसन्धानहरूले देखाएका छन्।
एचएमपीवीको असर कसलाई र कति?
- यो भाइरस बालबालिकामा बढी देखिन्छ।
- कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्ति र वृद्धहरू पनि यसको जोखिममा पर्छन्।
- यसको कारण खोकी, ज्वरो, घाटी दुख्ने, र सास फेर्न गाह्रो हुने समस्या हुन सक्छ।
- गम्भीर अवस्थामा यो ब्रोंकियोलाइटिस (फोक्सोको नलीमा सुन्नाइ) र निमोनियाँ (फोक्सोमा पानी जम्ने) को रूप लिन्छ ।
- यो भाइरसले तीन देखि पाँच दिन सम्म असर देखाउन सक्छ।
यसको उपचार र रोकथामका उपाय
- हालसम्म एचएमपीवी भाइरसको लागि कुनै प्रभावकारी खोप वा औषधि उपलब्ध छैन ।
- यस भाइरसको लक्षण नियन्त्रण गर्न सामान्य औषधिको प्रयोग गरिन्छ।
- संक्रमण रोक्न मास्क लगाउने, साबुन पानीले हात धोइ रहने र प्रतिरोधात्मक क्षमता बढाउने उपायहरू अपनाउनु पर्छ ।
विश्वमा यसको प्रभाव
सन् २०२३ मा यो भाइरसले नेदरल्याण्ड, बेलायत, फिनल्याण्ड, अस्ट्रेलिया, क्यानेडा, अमेरिका, र चीनमा प्रभाव पारेको थियो। अहिले चीनमा यो भाइरसले अस्पतालमा भीड बढाएको छ।
नेपालका लागि सावधानी र चेतना
नेपालमा अहिले यो भाइरसको कुनै ठूलो प्रभाव देखिएको छैन । तर, श्वास समस्याबाट बच्न निम्न सावधानी अपनाउनु महत्वपूर्ण छ ।
- सफाइमा ध्यान दिनुहोसः नियमित रूपमा हात धुने, मास्क लगाउने, र खोक्दा वा हाछ्यु गर्दा टिश्यु वा कुहिनाको प्रयोग गर्नुहोस्।
- प्रतिरोधात्मक क्षमता बलियो बनाउनुहोसः पोषण युक्त खाना खाने, पर्याप्त पानी पिउने, र राम्रो निन्द्रा लिने।
- डाक्टर सँग परामर्श गर्नुहोसः ज्वरो, खोकी, र सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुहोस् ।
- भीडभाडमा सतर्क रहनुहोसः रोग फैलिन नदीन भीडभाड बाट टाढा रहनु होस् ।
समग्रमा सुझाव
नेपालमा हालसम्म एचएमपीवी भाइरसको कुनै गम्भीर प्रकोप नभए पनि सचेत रहन आवश्यक छ । श्वसन समस्याबाट जोगिन सुरक्षात्मक उपायहरू अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।
यो पनि पढनुसः चीनमा नयाँ भाइरस ‘एचएमपीभी’ को प्रकोपः के हो यो भाइरस? प्रकाेपले महामारी निम्त्याउला ?
प्रतिक्रिया दिनुहोस