दसौँ राष्ट्रिय योग दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना: योगको महत्व र पुनर्जागरणको आह्वान


काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् ।

प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ भन्दै यसको मानव कल्याणकारी पक्ष मा जोड दिएका छन् ।

उनका अनुसार योग कुनै धर्म, जाति, भूगोल वा राजनीतिक विचारधारामा सीमित नभई सम्पूर्ण मानव जातिको कल्याणका लागि वैज्ञानिक विधामा आधारित छ। योगलाई भ्रान्तिहरू मुक्त गरी विश्वव्यापी बनाउनु पर्ने र यसको पुनर्जागरणको आवश्यकता रहेको उनको भनाइ थियो।

शिवलाई ‘आदि योगी’ मान्दै प्रधानमन्त्री ओलीले नेपाल लाई योगको आदि स्रोतको रूपमा चिनाउन आग्रह गरे । उनले कपिलवस्तुका कपिल मुनि देखि अर्घाखाँचीका महर्षि पतञ्जलि सम्म योग परम्परालाई विश्लेषण गर्दै यसको ऐतिहासिक पक्षलाई उजागर गरेका छन् ।

महर्षि पतञ्जलिद्वारा प्रतिपादित अष्टाङ्ग योगका आठ अङ्गहरू – यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको व्याख्या गर्दै प्रधानमन्त्रीले योगका शाखा हरूको विविधता र उपयोगिता माथि जोड दिए ।

प्रधानमन्त्रीले नेपाललाई ज्ञान र ध्यानको भूमि भन्दै शैव दर्शन र योगको उत्थानका लागि अनुसन्धान र प्रयासहरू लाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रधानमन्त्रीले भने – ‘हाम्रो भूमि प्रति गर्व गर्नुपर्छ, जहाँ १५ हजार वर्ष अघि शैव दर्शन र योग शिक्षाको प्रारम्भ भएको थियो। अब समय फेरिएको छ, नेपालको ज्ञान भूमिको पुनर्जागरणको समय आएको छ।’

योग दिवसले नेपाली जनतामा देश भक्ति, पूर्वजहरूको सम्मान र योगद्वारा जीवनमा सकारात्मक ऊर्जा थप्न प्रेरणा दिने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे । साथै, उनले यो दिवसले नेपाली पहिचान र योगको योगदानलाई विश्व समक्ष स्थापित गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!