सन्तुलित आहार उज्ज्वल भविष्यः बालबालिकाको खानपानमा अभिभावक को भूमिका किन महत्वपूर्ण ?


समय बदलिएको छ । शहर को व्यस्त जीवनशैली, बजारमा सजिलै पाइने प्याकेज्ड तथा सजिलै तैयार हुने खाद्य पदार्थहरू एवं  अभिभावकहरूको समय अभाव का कारण बालबालिकाको खानपानमा पर्याप्त ध्यान दिन कठिन भएको छ ।

फलस्वरूप, बच्चाहरू अस्वस्थ खानपानको बानीमा फस्दै गएका छन । जसको असर उनीहरूको शारीरिक तथा मानसिक विकासमा गम्भीर रूपमा पर्न सक्छ ।

बाल्यकालमै राम्रो पोषण प्राप्त गर्नु अत्यावश्यक छ । किन भने यही उमेरमा बच्चाहरूको शारीरिक र मानसिक विकास तीव्र रूपमा भइरहेको हुन्छ ।

तर, अहिलेको पुस्ता बजारमा सजिलै उपलब्ध प्रशोधित खाना, चाउचाउ, चिप्स, बिस्कुट, बोतल को जुस, चिनी मिसिएको चिसो पेय पदार्थ, कार्बोनेटेड ड्रिंक, फ्रेन्च फ्राई, हेम बर्गर आदिमा आकर्षित भइरहेको देखिन्छ । यी खानेकुराहरू स्वाद का लागि राम्रो लागे पनि स्वास्थ्य का लागि हानिकारक हुन्छन ।

किन अभिभावकहरू अहिले बालबालिकाको पोषणमा ध्यान दिदैनन?

  • व्यस्त जीवनशैलीः अहिलेका अभिभावकहरू धेरै जसो कार्यालयको काममा व्यस्त हुन्छन्, जसका कारण उनीहरूले बच्चाहरूलाई स्वस्थ खाना खुवाउने समय निकाल्न सक्दैनन्।
  • सजिलो समाधान खोज्ने प्रवृत्तिः धेरै अभिभावकहरू बच्चाहरूलाई सजिलै तैयार हुने खाना दिन रुचाउछन्, किनभने यस्ता खानेकुरा कम समयमा तयार हुन्छन्।
  • बजारमा प्रशोधित खानाको प्रचारः टिभी विज्ञापनहरू, यूट्यूब र विभिन्न सामाजिक सञ्जालहरूमा प्रशोधित खानेकुरा खान प्रोत्साहित गर्ने प्रचारहरूले बच्चाहरूलाई प्रभाव पार्ने गर्छ ।
  • खानाको बारेमा जानकारीको कमिः धेरै अभिभावकहरूलाई स्वस्थ खानाका विकल्पहरू बारेमा पर्याप्त ज्ञान हुदैन, जसका कारण उनीहरू सजिलै बजारको तयारी खाद्य पदार्थहरूमा भर पर्न बाध्य हुन्छन्।
  • बच्चाहरूको जिद्दीपनः बालबालिकाले मिठो लाग्ने चीजहरू मात्र खान चाहने गर्छन्। धेरै अभिभावकहरू बच्चाहरूले जिद्दी गर्न थालेपछि जे मन लाग्छ त्यही खुवाउने गर्छन्।

प्रशोधित खाना र चिनी युक्त पेय पदार्थको असर

बजारमा पाइने प्याकेज्ड खाना र चिनी मिसिएका पेय पदार्थहरू स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्। यस्ता खानाहरूमा स्वाद बढाउन र लामो समय सम्म नराम्रो नबनाओस् भनेर विभिन्न रसायनहरू मिलाइए का हुन्छन्। यी खानाहरूले बालबालिकामा निम्न समस्या निम्त्याउन सक्छन्।

  • अत्यधिक तौल बढ्ने (मोटोपन) –प्रशोधित खानेकुराहरूमा अत्यधिक चिल्लो पदार्थ, नुन, तथा चिनी मिसाइएको हुन्छ। बच्चाहरूले यस्तो खाना नियमित रूपमा खादा शरीरमा अनावश्यक बोसो जम्न थाल्छ, जसले गर्दा उनीहरू मोटोपनको शिकार हुन्छन्।
  • चिनीको मात्रा बढ्ने–चिनी धेरै भएका पेय पदार्थ तथा खाना नियमित रूपमा खानाले शरीरमा चिनीको मात्रा अस्वाभाविक रूपमा बढ्छ । यसले मधुमेह (ब्लड सुगरको समस्या) हुने सम्भावना बढाउछ।
  • दाँत कुहिने समस्या–चिनी मिसिएको पेय पदार्थ तथा मीठा खानाहरूको बढी सेवनले बच्चाहरूको दाँत कुहिने समस्या निम्त्याउछ।
  • शरीर लाई आवश्यक पर्ने पोषणको कमी–यस्ता खाना खानाले बच्चाहरूको शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज पदार्थ तथा अन्य पोषण तत्वहरूको कमी हुन सक्छ।
  • मानसिक विकासमा असर–सन्तुलित आहार नपाउदा बच्चाहरूको मस्तिष्क को वृद्धि राम्रो संग हुदैन। यसले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाउछ र पढाइमा समेत असर पार्न सक्छ ।

अभिभावकहरूले खेल्नुपर्ने भूमिका

  • घरमै स्वस्थ खाना उपलब्ध गराउने–घरमै स्वस्थ र पौष्टिक खाना बनाउने बानी बसाल्नुपर्छ। खाना बनाउदा ताजा तरकारी, दाल, गेडागुडी, दूध, दही तथा सन्तुलित कार्बोहाइड्रेट युक्त खाना समावेश गर्नुपर्छ ।
  • प्रशोधित खाना कम गर्ने–बजारमा पाइने चाउचाउ, चिप्स, बिस्कुट, मिठाइ, बोतल को जुस, तथा चिनी मिसिएको चिसो पेय पदार्थहरूको मात्रा सीमित गर्नुपर्छ ।
  • स्वस्थ खाना खान प्रेरित गर्ने–बच्चाहरूलाई फल फूल, हरियो साग सब्जी, र घरमै पकाइएका पौष्टिक खानेकुरा खान प्रेरित गर्नुपर्छ। स्वस्थ खानाको महत्व बुझाउन अभिभावक आफैं पनि यस्ता खाना खानुपर्छ।
  • खानालाई रोचक बनाउने–बच्चाहरूलाई स्वस्थ खाना खान प्रेरित गर्नका लागि खाना आकर्षक बनाउनु पर्छ । जस्तैः

तरकारी तथा फलफूल काटेर विभिन्न आकृतिहरू बनाउने।
स्वस्थ परिकारहरू विभिन्न स्वाद का साथ बनाउने।
बच्चाहरूलाई खाना तयार गर्न मद्दत गर्न लगाउने, ताकि उनीहरूमा स्वस्थ खानाको रुचि बढोस्।

  • नियमित खाना खाने बानी बसाल्ने–बच्चाहरूलाई निश्चित समयमा मात्र खाना खान दिने बानी बसाल्नु पर्छ। मोबाइल वा टिभी हेर्दै खानु हानिकारक हुन्छ, त्यसैले खानाको समयमा ध्यान दिन लगाउनु जरुरी छ।
  • पानी तथा स्वस्थ पेय पदार्थलाई प्राथमिकता दिने–बजारको बोतलको जुस वा चिनी मिसिएको पेय पदार्थको सट्टा घरमै बनाएको फलफूलको रस, कागती पानी, दूध वा मनतातो पानी दिनुपर्छ ।

प्रारम्भिक उमेरको अस्वस्थ खानाले भविष्यमा पार्ने असर

  • यदि बाल्यकालमै अस्वस्थ खाने बानी बसालियो भने त्यसले दीर्घकालीन रूपमा असर पार्न सक्छ।
  • भविष्यमा मधुमेह तथा मुटुको रोगको सम्भावना बढ्छ।
  • शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा विभिन्न रोगहरू लाग्न सक्छ।
  • अल्छीपन, थकाइ महसुस हुने तथा मानसिक एकाग्रता कमजोर हुने।
  • शारीरिक विकासमा अवरोध आउन सक्छ।
  • मुटुको रक्त नलीहरूमा बोसो जम्मा हुने सम्भावना बढ्छ।

बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्न उनीहरूको खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । अभिभावकहरू नै उनीहरूको पहिलो शिक्षक हुन्, त्यसैले राम्रो पोषण बारे सानै देखि सिकाउनु जरुरी छ । स्वस्थ खानाको बानी बसाल्नाले मात्र बच्चाहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउन सकिन्छ। (डा. पार्थ गुरागाईं विराट मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागमा कार्यरत छन ।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!