देशव्यापी स्वास्थ्य परीक्षण अभियान
मधुमेह र मिर्गौला रोग जोखिम पहिचानमा प्रयोग गरिएको सूचकको उपयुक्तता प्रश्न योग्य

फाल्गुन महिना भर सञ्चालन गरिएको देश व्यापी स्वास्थ्य परीक्षण अभियानमा मधुमेह र मिर्गौला रोगको जोखिम मूल्याङ्कनका लागि पिसाबमा चिनी र प्रोटिनको जाँचलाई प्रमुख सूचकका रूपमा प्रयोग गरियो ।
तर, यो छनोट वैज्ञानिक दृष्टिकोणबाट उपयुक्त छैन, किन भने यी जाँचहरू रोग पहिचान (डायग्नोसिस) गर्न त प्रयोग गरिन्छ, तर जोखिम मूल्याङ्कन (स्क्रिनिङ) का लागि प्रभावकारी हुदैनन्।
स्वास्थ्य परीक्षण र रोग पहिचानमा आधारभूत भिन्नता
स्वास्थ्य परीक्षण (हेल्थ स्क्रिनिङ) भनेको कुनै रोग लाग्ने सम्भावनालाई प्रारम्भिक अवस्थामा पत्ता लगाउने प्रक्रिया हो, जसले समयमै उचित सावधानी अपनाएर रोग लाग्न नदिन सहयोग गर्दछ। जबकि, मधुमेह वा मिर्गौला रोग पहिचानका लागि गरिने जाँचहरू तब मात्र सकारात्मक देखिन्छन् जब रोगले शरीरमा असर गरिसकेको हुन्छ।
यो अभियानले अपनाएको तरिका हेल्थ स्क्रिनिङको वैज्ञानिक अवधारणा सँग मेल खाँदैन। नेपाल क्लिनिकल बायोकेमिस्ट एसोसिएसन जस्ता विज्ञ निकायहरूसँग परामर्श नगरिनु र रोग जोखिम पत्ता लगाउने सही सूचकहरू प्रयोग नगरिनु गम्भीर कमजोरी मान्न सकिन्छ।
सही स्वास्थ्य परीक्षण प्रविधि आवश्यक
यदि कुनै अभियानले मधुमेह र मिर्गौला रोगको प्रारम्भिक जोखिम मूल्याङ्कन गर्ने लक्ष्य राखेको छ भने, निम्न जाँचहरू समावेश गर्नु अत्यावश्यक छः
- रगतमा चिनीको मात्रा ( पोष्ट प्रान्डीयल पीपी ब्लड सुगर) मापन: खाना खाएपछि २ घण्टामा गरिएको यो परीक्षणले शरीरमा ग्लुकोज नियन्त्रण क्षमताको अवस्था देखाउँछ।
- पिसाबमा माइक्रोएल्बुमिन जाँच: यसले मिर्गौलाको प्रारम्भिक क्षति भएको संकेत दिन सक्छ, जसले समयमा नै सचेत हुन सहयोग पुर्याउँछ।
- रक्तचाप, बिएमआई (शरीर तौल अनुपात), र अन्य प्रयोगशाला परीक्षणहरू: यी सूचकहरूले समग्र स्वास्थ्य अवस्था बुझ्न मदत गर्छन्।
नतिजा अभिलेखीकरणको महत्त्व
कुनै पनि स्वास्थ्य परीक्षण अभियान प्रभावकारी हुन व्यक्तिगत तथ्याङ्क (डेटा) संकलन र दीर्घकालीन निगरानी (फलोअप) अनिवार्य हुन्छ। तर, यो अभियान मा परीक्षण गरिएका व्यक्तिहरूको तथ्यांक राख्ने व्यवस्था गरिएको थिएन, जसले यस अभियानको प्रभावकारिता न्यून बनाउँछ ।
यस प्रकारको अभियानले रोग जोखिम पहिचान गर्न नसक्ने मात्र होइन, स्वास्थ्य सूचकांक सुधार गर्न असफल हुने सम्भावना पनि उच्च रहन्छ।
स्वास्थ्य परीक्षण अभियानहरू वैज्ञानिक विधि हरूमा आधारित हुनुपर्छ, जसले समुदाय स्तरमै रोगको प्रारम्भिक अवस्था पत्ता लगाएर नियन्त्रण तथा रोकथाममा योगदान दिन सक्छ। आगामी दिनमा यस्ता अभियानहरूलाई प्रभावकारी बनाउन विज्ञहरूको सुझाव अनुरूप उचित सूचकहरू प्रयोग गर्न अपरिहार्य छ। (डा. मिश्र क्लिनिकल बायोकेमिस्ट हुन्)
प्रतिक्रिया दिनुहोस