‘मोभेम्बर’ अभियान

‘पुरुषको मानसिक स्वास्थ्य महिला भन्दा निकै कमजोर : समस्या परिवार, साथी भाइ सँग साटौं’

नेपालमा वर्षेनी महिलाको दाँजोमा ६ गुणा भन्दा बढी पुरुषले आत्महत्या गर्छन् । विश्वमा आत्महत्या गर्ने मध्ये ७५ प्रतिशत पुरुषहरू छन् । हरेक मिनेटमा एक पुरुषले आत्महत्याको कारणले ज्यान गुमाउँछन् । विश्व भर पुरुषहरूको मानसिक स्वास्थ्य नाजुक रहेकोछ।


झट्ट हेर्दा पुरुषहरू मानसिक तथा शारीरिक रूपमा अब्बल देखिए पनि विश्वव्यापी रूपमा गरिएका विभिन्न अनुसन्धानहरूले पुरुषहरूको मानसिक स्वास्थ्य महिलाहरूको तुलनामा धेरै कमजोर रहेको देखाएको छ ।

Anxiety and Depression Association of America का अनुसार प्रत्येक १० मध्ये एक पुरुषले डिप्रेसन अथवा चिन्ताको अनुभव गर्छन् । ती मध्ये आधा भन्दा कमले मात्र उपचार पाउँछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुसार सन २०१९ मा संसार भर ७ लाख ३ हजार मानिसले आत्महत्या गरेका थिए । यो सङ्ख्या औलो, एचआइभी –एड्स, स्तन क्यान्सर, युद्ध वा कुनै पनि हत्याको कारणले मर्ने मानिसहरू भन्दा धेरै हो ।

विश्वव्यापी रूपमा आत्महत्या गर्ने मध्ये ७५ प्रतिशत पुरुषहरू हुन् । हरेक मिनेटमा एक पुरुषले आत्महत्याको कारणले ज्यान गुमाउने गर्दछ ।

अमेरिकामा प्रत्येक दिन ९० अमेरिकी पुरुषले आत्महत्या गर्ने गरेका छन् । जुन कुल आत्महत्या गर्नेहरू मध्येको ८० प्रतिशत पुरुष हो ।

सन् २००३ मा अस्ट्रेलियाबाट मोभेम्बर (Movember) अभियान सुरु भयो । प्रत्येक वर्ष नोभेम्बर महिना भरि विभिन्न देशहरूमा विभिन्न कार्यक्रम सहित मोभेम्बर अभियान मनाउने गरिन्छ ।

नोभेम्बर महिनामा गरिने यो अभियानले पुरुषमा हुने टेस्टिकुलर क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जन चेतना फैलाउने र पुरुषका मानसिक स्वास्थ्य विशेषगरी आत्महत्या रोकथाम विषयमा जन चेतना फैलाउने काम गर्दछ ।

विश्व भर पुरुषहरूको मानसिक स्वास्थ्य नाजुक रहेको अवस्थामा यो अभियान धेरै लोकप्रिय हुँदै २० भन्दा बढी देशहरूमा फैलिसकेको छ । त्यस्तै विश्व भर लाखौँ मानिसहरूले यो अभियानमा सहभागी हुन थालेका छन्।

नोभेम्बर महिनामा विशेषगरी दाह्री फाल्नु (Grow a mo) मुभ फर मोभेम्बर (Move for movember) जस्ता कार्यक्रम गरेर जन चेतना फैलाउने र पुरुष स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्नको लागि चन्दा सङ्कलन गर्ने गरिन्छ ।

पछिल्लो समयमा यो अभियान सामाजिक सञ्जालमा गरिएका प्रचारका कारणले अझ प्रभावकारी र लोकप्रिय बन्दै गएको छ। पुरुषहरूले दारी जुँगा नकाटेर दारी जुँगा काट्दा लाग्ने खर्च बापतको आर्थिक सहयोग जुटाउने र पुरुषको मानसिक स्वास्थ्यको लागि सहयोग गर्ने चलन अस्ट्रेलियाबाट सुरु भएको हो। त्यसैले यो अभियान जारी अथवा जुँगा पाल्ने अभियानको रूपमा चिनिन्छ ।

हालसम्म मोभेम्बर फाउन्डेसनले १.२ बिलियन अमेरिकी डलर भन्दा बढी रकम सङ्कलन गरिसकेको छ। यो रकम १२०० भन्दा बढी पुरुष स्वास्थ्य सम्बन्धी परियोजनाहरूमा सहयोग भइरहेको छ ।

पुरुष स्वास्थ्यकै अर्को महत्वपूर्ण कुरा आफू स्वस्थ हुनु र मानसिक रूपमा नकारात्मक सोचहरू पैदा नगर्नू महत्वपूर्ण कुरा हुन जान्छ।

बदलिँदो काम गर्ने शैली र प्रविधिको विकासका कारणले आम मानिसको दैनिक कामकाज कुर्सीमा बसेर काम गर्ने बनाएको छ । एक सर्वेक्षण अनुसार, उच्च आय भएका देशहरूमा ४१ प्रतिशत पुरुष पर्याप्त शारीरिक क्रियाकलापमा सक्रिय हुँदैनन् ।

पुरुषहरू पर्याप्त शारीरिक क्रियाकलाप नगरिरहेको अवस्थामा मुभ फर मोभेम्बरमा सहभागीहरूले ६० किलोमिटर दौडने अथवा हिँड्ने लक्ष्य राख्छन् जसले हरेक ६० सेकेन्डमा आत्महत्या गर्ने एक पुरुषहरूलाई प्रतिनिधित्व गर्दछ ।

पछिल्लो तथ्याङ्क अनुसार टेस्टिकुलर क्यान्सर युवा पुरुषहरूमा सबै भन्दा सामान्य क्यान्सर हो । प्रत्येक वर्ष ७४ हजार भन्दा बढी टेस्टिकुलर क्यान्सरका नयाँ केसहरू देखा पर्न थालेका छन् । प्रारम्भिक चरणको टेस्टिकुलर क्यान्सर र प्रोस्टेट क्यान्सर पूर्ण रूपमा निको हुन्छ । तर यस सम्बन्धी जन चेतना फैलाएर बेलैमा उपचार सुरु गर्नु जरुरी हुन्छ । मोभेम्बर अभियानले यी पुरुषमा हुने प्रोस्टेट क्यान्सर र टेस्टिकुलर क्यान्सर को विषयमा जन चेतना फैलाउने काम गरिरहेको छ।

ग्लोबल हेल्थ डाटा एक्सचेन्जका अनुसार, नेपालमा पुरुषहरूको आत्महत्याको दर महिलाहरू भन्दा उच्च छ । प्रति १ लाख जनसङ्ख्यामा पुरुषहरूको आत्महत्याको दर २०.७ छ भने महिलाहरूको ३.३ मात्र छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार, नेपालमा विगत पाँच वर्षमा आत्महत्याको वार्षिक वृद्धिदर औसतमा ७.२ प्रतिशत रहेको छ, जुन २०२१ मा बढेर १४ प्रतिशत पुगेको थियो ।

नेपाल प्रहरीले प्रकाशित गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन २०८१ का अनुसार आर्थिक वर्ष २०७९ /८० मा जम्मा ६ हजार ९७४ जनाले आत्महत्या गरेको देखिन्छ । १० वर्षको तथ्याङ्कको आधारमा औसतमा प्रति वर्ष ५७५२ मानिसले आत्महत्या गरेको पाइएको छ । उक्त सङ्ख्या लाई जनगणना २०७८ को तथ्याङ्क अनुसार जनसङ्ख्या २९९२४८० आधारमा विश्लेषण गर्दा औसतमा वार्षिक रूपमा कुल जनसङ्ख्याको ०.०१ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने गरिएको पाइएको छ ।

विगत ५ आर्थिक वर्षमा दर्ता भएका आत्महत्याका मुद्दाहरूमा ५५ प्रतिशत पुरुष, ३४ प्रतिशत महिला, ४ प्रतिशत, बालक र ६ प्रतिशत बालिका रहेको उक्त अध्ययनमा देखिएको छ । सो अध्ययनमा २०८० मङ्सिर २१ गतेबाट प्रत्येक प्रदेशका दुई दुई वटा जिल्ला गरी जम्मा १४ वटा जिल्लाहरूबाट प्रश्नावली तयार पारेर आत्महत्या गर्ने व्यक्तिका घर परिवार तथा आम नागरिक सँग भेटेर तथ्याङ्क सङ्कलन गरिएको थियो । त्यस्तै ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आर्थिक वर्ष २०७८/ ७९ र ७९/८० को तथ्याङ्क समेत संलग्न गरिएको थियो।

यी सबै तथ्याङ्कहरूले राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय रूपमा पुरुषको मानसिक स्वास्थ्य संवेदनशील रहेको देखाउँछ। यसको निरुपन गर्न राष्ट्रिय रूपमा विभिन्न कार्यक्रमहरू प्रस्तुत भएका छन्।

टेलिफोन हेल्पलाइनहरू तयार गरिएका छन् हालसम्म ५० भन्दा बढी देशहरूसँग मानसिक स्वास्थ्य संकट समाधानका लागि हेल्पलाइन सेवाहरू उपलब्ध छन्। तर थोरै देशहरूले मात्र छोटो नम्बर प्रयोगमा ल्याएका छन् । सन् २०२२ बाट अमेरिकामा ९८८ नम्बरको हेल्पलाइन सुसाइड एन्ड क्राइसिस लाइफलाइन भनेर सुरु गरिएको छ । सन् २०२३ नोभेम्बर बाट क्यानेडामा पनि ९८८ नम्बरको हेल्पलाइन सेवा सुरु गरिएको छ। दक्षिण एसियाली देशहरूमा नेपालसँगै भारत र श्रीलङकामा पनि यस्तो किसिमको हेल्पलाइन सेवा उपलब्ध छ।

नेपालमा १० सेप्टेम्बर २०२० देखि, चार अङ्कको हेल्पलाइन नम्बर ‘११६६’ दर्ता गरिएको थियो, जुन ५ मे २०२१ देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

नेपालमा स्वास्थ्य मन्त्रालय तथा योजना विभाग ले ललितपुरको लगनखेल स्थित मानसिक अस्पतालमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन सेवा स्थापना गरेको छ। डब्लुएचओ नेपालको वेबसाइटका अनुसार, हेल्पलाइन मे २०२१ देखि सञ्चालनमा आए यता, ३१ मार्च २०२२ सम्म यसले ३,००० भन्दा बढी कलहरू प्राप्त गरेको छ। तीमध्ये लगभग एक चौथाइ कल आत्महत्या र अन्य मानसिक स्वास्थ्य समस्या सँग सम्बन्धित थिए । टेलिफोन गर्नेहरुले आत्महत्याको विचार र आफ्ना विगतका प्रयासहरूको बारेमा पनि साझा गरेका छन्।

२०२० मा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले देखाए अनुसार नेपालमा मानसिक रोग भएका ४० प्रतिशत मात्र वयस्कहरू ले आफ्नो लक्षणहरू कसैसँग छलफल गर्ने गरेको देखाएको छ ।

नेपाल जस्तो पुरुष प्रधान देशमा पुरुषले परिवारको आर्थिक तथा सामाजिक जिम्मेवारी बहन गर्ने गर्दछ र आफू कमजोर भएको कुरा समाज र परिवारमा बाड्न चाहँदैन। यसरी आफ्नो समस्या आफै सँग लुकाएर राख्नाले सरकारी तथा गैरसरकारी तवरबाट मानसिक स्वास्थ्यमा काम गर्नेहरूलाई चुनौती थपेको छ।

त्यसैले मोभेम्बर को अवसरमा यो स्तम्भकार आम जनतालाई विशेषगरी पुरुषहरूलाई आफ्नो समस्या आफ्नो परिवार अथवा आफ्नो नजिकको साथी भाइ सँग साटेर अथवा सरकारले उपलब्ध गराएको हेल्पलाइन प्रयोग गरेर आफ्ना मानसिक समस्या समाधान गर्न सन्देश दिन चाहन्छ। (क्यानेडियन फुड इन्स्पेक्सन एजेन्सी का फुड प्रोसेसिङ्ग स्पेसलिष्ट इन्सपेक्टर रहेका हरिहर गुरागाई मोभेम्बर अभियन्ता समेत हुन )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!