जाडो मौसम

‘बालबालिकामा निमोनिया सङ्क्रमणः लक्षण, बच्ने उपाय र उपचार’


जाडो मौसमको आगमन सँगै बालबालिकामा निमोनिया हुने सम्भावना धेरै बढ्छ । विशेष गरी २ वर्ष मुनिका बालबालिका यस रोगको उच्च जोखिममा रहन्छन् ।

निमोनिया बालबालिकाको मृत्युको प्रमुख कारणहरूमा पर्ने गम्भीर स्वास्थ्य समस्या हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुसार निमोनियाले सन २०१७ मा ५ वर्ष मुनिका ८०८००० भन्दा बढी बालबालिकाको ज्यान लियो । जुन ५ वर्ष मुनिका बालबालिकाको कुल मृत्युको १५ प्रतिशत हो ।

यसैले यसको लक्षण, कारण, रोकथामका उपाय र उपचार बारे जान्नु आम अभिभावक र स्वास्थ्य कर्मीका लागि अत्यावश्यक छ । निमोनिया प्रायः ब्याक्टेरिया, भाइरस वा फंगसको सङ्क्रमणका कारण हुने गर्दछ ।

के हो निमोनिया ?

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सुन्याइ (inflammation) हो, जसमा फोक्सोका कोषहरू पानी वा पीपले भरिन्छन् । यसले श्वास प्रश्वासमा बाधा पुर्याउँछ । जसले गर्दा श्वास फेर्न गाह्रो हुन्छ ।

यो सङ्क्रमण धेरै जसो ब्याक्टेरिया र भाइरसबाट हुने भए पनि कहिलेकाहीँ फंगसले पनि निमोनिया गराउँछ । विशेष गरी, स्ट्रेप्टोकोकस निमोनिया र हिमोफिलस इन्फ्लुएन्जा टाइप बी (Hib) ब्याक्टेरियाहरूले बालबालिकामा निमोनिया गराउने मुख्य भूमिका खेल्छन् । कमजोर प्रतिरक्षा प्रणाली भएका साना बालबालिका यस रोगको सिकार बन्ने सम्भावना बढी हुन्छ ।

निमोनियाको कारणहरू

निमोनिया लाग्नू का प्रमुख कारणहरू

  • ब्याक्टेरियाः स्ट्रेप्टोकोकस निमोनिया र हिमोफिलस इन्फ्लुएन्जा (Hib) ।
  • भाइरसः श्वास प्रश्वास सङ्क्रमण गराउने भाइरसहरू, जस्तै– रेस्पिरेटरी सिन्सीशियल भाइरस (RSV)
  • फंगसः कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिकामा फंगस सङ्क्रमणले निमोनिया हुन सक्छ ।
  • सर्दी/ रुघाको सङ्क्रमणः साधारण रुघा खोकी र सर्दी ठीक समयमा उपचार नगरेमा, यो निमोनियामा रूपान्तरण हुन सक्छ ।
  • दूषित वायुः घर भित्रको धूलो, धूवाँ , वा परम्परागत चुल्होको धूवाँले बालबालिकामा फोक्सोमा सङ्क्रमण निम्त्याउँछ ।

निमोनियाका लक्षणहरू

प्रारम्भिक र गम्भीर अवस्थामा फरक हुन सक्छन् । प्रारम्भिक चरणमा यसका लक्षण सामान्य रुघा खोकी जस्तो लाग्न सक्छ । यस्ता लक्षणहरू पहिचान गर्नुपर्छ ।

प्रारम्भिक लक्षणहरू

  • नाकबाट सिँगान बग्ने।
  • हल्का ज्वरो।
  • साधारण खोकी ।
  • सास फेर्न गाह्रो हुनु वा छिटोछिटो सास फेर्नु।

गम्भीर लक्षणहरू

  • ज्वरो (१०२ डिग्री फरेनहाइट भन्दा माथि)।
  • सास फेर्दा आवाज आउने ।
  • बच्चा सुस्त देखिनु वा बेहोस हुनु ।
  • दूध चुस्न नसक्नु ।
  • शरीर चिसो हुनु ।
  • कोखा भित्र तिर जाँदा जाँदै सास फेर्ने ।

निमोनियाबाट बच्ने उपायहरू

निमोनियाको आक्रमणबाट बच्नका लागि साना बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । निम्न उपायहरूले बालबालिकालाई सुरक्षित राख्न सकिन्छ ।

१. घरको वातावरण स्वच्छ राख्नु

  • घरभित्र धुलो र धूवाँ हुन दिनु हुँदैन ।
  • परम्परागत चुल्होको प्रयोग गर्दा बालबालिकालाई टाढा राख्नु पर्छ।

२. न्यानो र आराम दायी वातावरण

  • जाडो मौसममा बालबालिकालाई न्यानो लुगा लगाइ दिनुपर्छ ।
  • हावा को ओहर दोहर हुने तर चिसोबाट जोगाउने किसिमको कोठा प्रयोग गर्नु पर्छ ।

३.खोप लगाउनु

  • सबै बालबालिकालाई समयमै खोप लगाउनु अनिवार्य छ । विशेषगरी पेन्टाभ्यालेन्ट खोप र PCV (Pneumococcal Conjugate Vaccine) महत्वपुर्ण हुन्छ ।

४. आमाको दूध खुवाउनु जन्मेको

  • जन्मेकाे ६ महिनासम्म मात्र आमाको दूध खुवाउनु आवश्यक छ । यसले बालबालिकाको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

५. पोषण युक्त आहार

  • बच्चाको खानपानमा पोषण युक्त र ताजा खाने कुरा समावेश गर्नुपर्छ ।

६. चिसोबाट जोगाउनु

  • बालबालिकालाई चिसो पानीले नुहाउनु हुँदैन ।
  • चिसो हावा र भीड भाड भएका ठाउँमा बालबालिकालाई लैजानु हुँदैन ।

निमोनियाको उपचार

  • निमोनिया गम्भीर रोग भए पनि समयमै सही उपचार गरिएमा बालबालिकाको ज्यान जोगाउन सकिन्छ ।

सामान्य उपचार

  • एन्टिबायोटिक औषधिः ब्याक्टेरिया कारण निमोनियामा यसले प्रभावकारी भूमिका खेल्छ ।
  • नाक खुलाउने उपायः शिशुको नाक बन्द भएको अवस्थामा डाक्टर सँग परामर्श गरी नाक सफा गर्ने तरिका अपनाउनुपर्छ ।

गम्भीर अवस्थामा उपचार

  • बच्चालाई अस्पताल भर्ना गरेर उपचार गर्नु पर्छ।
  • बच्चाले झोल खाने कुरा खान नसकेमा वा शरीर सुस्त भएमा तत्काल डाक्टर सँग परामर्श गर्नुपर्छ ।
  • बच्चालाई अक्सिजन आवश्यक पर्ने हुन सक्छ ।

निमोनिया सँग जोडिएका भ्रमहरू

रुघा खोकी लाग्ने बित्तिकै निमोनिया हुन्छ भन्ने धारणा गलत हो । यदि रुघाखोकीलाई समयमै सही उपचार गरियो भने निमोनिया हुँदैन । एन्टिबायोटिकले सबै खाले निमोनिया निको पार्छ भन्ने सोच गलत हो । भाइरसका कारण हुने निमोनियामा एन्टिबायोटिक प्रभावकारी हुँदैन।

निष्कर्ष

निमोनिया बालबालिकाका लागि गम्भीर स्वास्थ्य समस्या भए पनि यस बाट समयमै सचेत भए बच्न सकिन्छ । बालबालिकाको स्वास्थ्य प्रति सतर्कता अपनाउँदै पोषण युक्त आहार, सरसफाइ, र सही खोप सुनिश्चित गर्नुपर्छ । साना बालबालिकामा निमोनियाका प्रारम्भिक लक्षण देखिने बित्तिकै डाक्टर सँग परामर्श गर्नु अनिवार्य छ ।

समयमै उपचार र सही सावधानीले बालबालिकाको स्वास्थ्य जोगाउन सकिन्छ । निमोनियाको खतरालाई कम गर्न हरेक अभिभावक सचेत हुनु जरुरी छ ।(बालरोग विशेषज्ञ डा.सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एसोसिएट प्रोफेसर को रूपमा कार्यरत छन्)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!