एन्टिबायोटिकः सही प्रयोगले जीवन, गलतले मृत्युको जोखिम


ब्याक्टेरिया, सबै जीवित जीवहरू जस्तै, वातावरणीय चुनौती हरूको प्रतिक्रियामा समय सँगै परिवर्तन हुन्छ । एन्टिबायोटिकको अत्याधिक प्रयोग र दुरुपयोगले ब्याक्टेरिया हरू लगातार यी औषधिहरूको सम्पर्कमा आउँछन् । यद्यपि एन्टिबायोटिकको सम्पर्कमा हुँदा धेरै ब्याक्टेरियाहरू मर्छन्, यदि एन्टिबायोटिकहरू उचित रूपमा लिइएन भने, केही ब्याक्टेरियाहरू जीवित रहन्छन् र औषधिको प्रभावहरूको प्रतिरोध विकास गर्छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुसार एन्टि माइक्रोवियल प्रतिरोध (एएमआर) तब हुन्छ जब ब्याक्टेरिया, भाइरस, फंङ्गस र परजीवीहरू ले एन्टि माइक्रोवियल एजेन्टहरूलाई प्रतिक्रिया गर्दैनन् ।

यति मात्र नभइ यदि भाइरस सङ्क्रमणको कारण हो भने, एन्टिबायोटिक लिनु बेकार हुन्छ । यसले ब्याक्टेरियामा प्रतिरोधको विकासमा योगदान पुर्याउन सक्छ ।

औषधि प्रतिरोधको परिणाम स्वरूप, एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल एजेन्टहरू प्रभाव हीन हुन्छन् र संक्रमणहरू उपचार गर्न गाह्रो वा असम्भव हुन्छन्, जसले रोग फैलाउने, गम्भीर रोग र मृत्युको जोखिम बढाउँछ ।

एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) के हो? 

एएमआर अर्थात एन्टि माइक्रोवियल रेसिस्टेन्स अन्तर्गत एन्टि माइक्रोवियल भन्नाले जीवाणु, भाइरस, फङ्गस, र परजीवीहरू विरुद्ध प्रयोग गर्ने एन्टिबायोटिक, एन्टी फङ्गल , एन्टि भाइरल, एन्थेल्मेन्टिक औषधि पर्छन् ।

प्रतिरोध भन्नाले औषधिहरू समय सँगै जीवाणु, विषाणु, फंगस, परजीवीहरू मा जेनेटिक परिवर्तन भएर औषधिहरूको प्रभावलाई कम गर्ने र प्रतिक्रिया नगर्ने अवस्थालाई जनाउँछ ।

यसले गर्दा एकातिर कुनै पनि सङ्क्रमणको उपचार गर्न गाह्रो हुन जान्छ भने कुनै सङ्क्रामक रोग लामो समय सम्म रहन्छ । यसले उपचार खर्च बढ्नु को साथै मृत्युको जोखिम समेत बढाउँछ ।

एएमआर किन हुन्छ ? 

  • एन्टिबायोटिकको अत्यधिक प्रयोगः रुघा जस्तो भाइरल संक्रमणमा एन्टिबायोटिक प्रयोग गर्नु । यस्तो अवस्थामा एन्टी माइक्रोबियलहरू प्रभावकारी र आवश्यक हुदैनन् ।
  • अपूरो औषधि सेवन गर्ने बानीः औषधि खाएको केही दिनमा अलि सन्चो भए पछि बाकीको औषधि खान छोड्ने बानीले यसको प्रभावकारिता कम गर्छ । अर्थात् चिकित्सकले तोकेको सम्पूर्ण उपचार कोर्स पूरा नगर्नु ।
  • स्वयं एन्टिबायोटिक औषधिको सेवनः आफूखुसी औषधि प्रयोग गर्दा गलत एन्टिबायोटिक चयन हुन सक्छ र जसबाट एन्टिबायोटिक प्रतिरोध बढ्न सक्छ ।
  • आफ्नो एन्टिबायोटिक औषधि अन्यलाई बाँड्ने प्रवृत्तिः मलाई पनि यस्तै भएको थियो, त्यो कारणले यही दबाइ खाऊ भनेर आफ्नो बाकी रहेको औषधि अन्य नातेदार र साथी भाइहरू सँग बाँडेर खाने । सल्लाह सुझाव दिने बानीहरू समेतले प्रतिरोध बढाइ रहेको छ । तपाई को उपचारका लागि दिइएको औषधि तपाइको त्यो बेलाको सङ्क्रमण र रोग अनुसार दिइएको हुन्छ जुन अरूलाई असर नगर्न सक्छ ।
  • कृषि तथा जनावरहरूको उपचारमा एन्टिबायोटिकको गलत प्रयोगः जनावरमा एन्टिबायोटिक को प्रयोगले प्रतिरोध बढ्न सक्छ ।
  • संक्रमण नियन्त्रणको कमीः पर्याप्त सरसफाइ र संक्रमण रोकथाम अभ्यासको अभाव । सही अभ्यासले मात्र एन्टिबायोटिक प्रतिरोधको खतरालाई कम गर्न मद्दत पुर्याउँछ ।

एएमआर किन चिन्ताको विषय हो ? 

  • सीमित उपचार विकल्पहरूः पहिलाका साधारण एन्टिबायोटिकले काम नगर्ने अवस्था आउँछ । विश्वव्यापी रूपमा सीमित एन्टिबायोटिक उपचारका विकल्पहरू हुनु ।
  • जटिलताहरूको वृद्धिः नियमित शल्यक्रिया र चिकित्सकीय प्रक्रियाहरू थप जोखिम युक्त हुन जान्छ । वैश्विक स्वास्थ्य खतराः प्रतिरोधले सजिलै समुदाय र देशहरूमा फैलिन्छ ।

बिरामी तथा सेवाग्राहीहरूले एएमआर रोक्न कसरी मद्दत गर्न सक्छ ? 

  • चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोगः एण्टिबायोटिकको आवश्यकता, मात्रा, र अवधिको निर्धारण गर्न चिकित्सकको सल्लाह लिनु अनिवार्य छ । साथै एन्टिबायोटिक औषधिको बिक्री वितरणमा नीति गत रूपमा चिकित्सक तथा स्वास्थ्य कर्मीको प्रेस्क्रिप्सनको आवश्यकता लाई जोड दिन सकेमा धेरै हद सम्म एन्टिबायोटिक प्रतिरोध कम गर्न सकिन्छ ।
  • अनावश्यक एन्टिबायोटिकको लागि दबाब नगर्नेः स्वास्थ्य कर्मीहरूलाई एन्टिबायोटिक लेख्दिन वा औषधि पसलबाट जाँच नगरि एक दुई क्याप्सुल एन्टिवायोटिक औषधि खरिद गरी खाने , त्यस्तै गरी परिवारका अन्य सदस्यलाई लेखिएको औषधि बाँडेर खाने जस्ता बानीले भविष्यमा जटिलता ल्याउन सक्छ । जुन बेला धेरै बिरामी (गम्भीर सङ्क्रमण) परिन्छ त्यो बेलामा एन्टिबायोटिकले असर नगर्न सक्छ त्यसैले चिकित्सकको सल्लाह बमोजिम आवश्यक परे मात्र प्रयोग गर्नुहोस् ।
  • एन्टिबायोटिक अरू सँग बाँडने नगर्नू होसः हरेक रोगको लागि रोग अनुसार र आवश्यकता अनुसार फरक औषधि लेखिएको हुन्छ।
  • औषधिको कोर्स पुरा गर्नु होसः औषधि सेवन गर्दा राम्रो महसुस भए पनि बीचमै एन्टिबायोटिक औषधिको प्रयोग रोक्नु हुन्न । बीचमै औषधि बन्द गर्दा बाकी जीवाणुहरू प्रतिरोधी बन्न सक्छन् ।
  • सफा र स्वस्थ रहनुहोसः नियमित रूपमा खाना खान अगाडि हात धुने, सुरक्षित खानपान र खोपको प्रयोग। यसको फ्रयोगले ऐन्टी माइक्रोबियल औषधिको आवश्यकता कम हुन जान्छ ।

एन्टिबायोटिक को आवश्यकता र नचाहिने अवस्थाहरू 

  • एन्टिबायोटिक आवश्यक हुने अवस्थामाः जीवाणु जन्य संक्रमण हरू (जस्तै, घाँटीको सङ्क्रमण फोक्सोको सङ्क्रमण, पिसाबको संक्रमण)।
  • एन्टिबायोटिक आवश्यक नहुने अवस्थामाः भाइरल संक्रमणहरू (जस्तै, सामान्य रुघाखोकी, अधिकांश घाटी दुखाइ)।

स्वास्थ्य कर्मीहरूलाई के सोध्ने ? 

  • के यो एन्टिबायोटिक मेरो लागि आवश्यक छ ?
  • यदि एन्टिबायोटिक आवश्यक छैन भने मेरो समस्या समाधान गर्न के गर्नुपर्छ ?
  • अन्य वैकल्पिक रोकथामका उपायहरू को बारेमा सल्लाह लिने ।

एन्टिबायोटिक प्रतिरोध कसरी रोक्न सकिन्छ ? 

बिरामीहरूलाई एन्टिबायोटिकको सही प्रयोग, सही मात्रा, सही अवधि, सही समय र सही सल्लाह बमोजिम प्रयोग गर्दा यसबाट हामीलाई फाइदा हुन सक्छ भन्ने कुराको महत्त्व बुझाएर शिक्षित गराउँदा तिनिहरूको स्वास्थ्य सुरक्षित गर्न र प्रतिरोधी सङ्क्रमणको फैलावट रोक्न मद्दत पुग्छ । (डा.झा रसुवा अस्पतालमा सिनियर कन्सल्टेन्ट मेडिकल जनरलिस्ट हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!