‘उपचार गराउनु अघि, गराउँदा र पछि के कस्तो तयारी आवश्यक’


जीवन सँगै रोग व्याधि, शारीरिक समस्या आदी एउटा पाटो कै रूप मा रहन्छ । चिकित्सा जागरण, स्वास्थ्य उपचारमा पहुँच आदि ले गर्दा पछिल्लो समय अधिकांश व्यक्ति अस्वस्थ हुने बितीकै चिकित्सा कर्मी वा अस्पतालको सम्पर्कमा आउने क्रम बढेको छ । आफू वा परिवारमा कसैलाई कुनै पनि शारीरिक, मानसिक समस्या आए पछि उपचारको लागि अस्पताल जाने गरिन्छ ।

तर उपचार प्रकृयामा पहिलो पटक जाँदा वा बारम्बार गइ रहँदा के कस्तो तयारी सहित जानु पर्छ भन्ने बारे धेरैजसो व्यक्ति वा निजका परिवार ले खाँसै महत्व दिँदैनन् । यसले गर्दा उपचार र निको हुने प्रकृया समेत प्रभावित हुन सक्छ, हुने गरेको छ । अस्पताल जाँदा धेरैले उचित तयारी अर्थात् जानकारी नराख्दा समस्याको सही निदान हुँदैन ।

चिकित्सक तथा स्वास्थ्य कर्मी सँग आफ्नो कुरा राम्ररी राख्नको लागि केही निश्चित तयारी आवश्यक हुन्छ । जसले उनीहरूलाई तपाइको समस्याको पहिचान गर्न सघाउ पुगोस् । र तपाइको समस्याको सही निदान भएर उपयुक्त उपचार होस ।

आफूले जाँच गराउने अस्पताल वा डाक्टर छनोट गर्दा चिकित्सकको बारेमा राम्रो सँग बुझ्नु पर्छ । त्यहाँको सेवा सुविधा, प्रकृया आदी बारेमा राम्रो सँग बुझेर मात्र जानु पर्छ ।

अस्पतालमा जाँदा त्यहाँका नन मेडिकल स्टाफ र मेडिकल स्टाफ सँग भेट्दा शान्त भएर आफूलाई भएको कुरा मीठो शैलीमा प्रस्तुत गर्नुपर्छ ।

तपाइ ले आफू सँग अरूले जसरी बोलोस् भन्ने चाहना राख्नु हुन्छ ठीक त्यसरी नै चिकित्सा कर्मी सँग प्रस्तुत हुनुस् । जसले उनीहरूलाई तपाइका कुरा ध्यान साथ सुनेर उपचारका लागि उचित र सटीक उपाय निकाल्ने उत्प्रेरणा मिलोस् ।

परामर्श अघि

डाक्टर कहाँ जानु अधि शरीरमा भइरहेको परिवर्तन हरूलाई खाली पानामा टिपोट गर्नुस् । जस्तै आफूले महसुस गरेको समस्या, लक्षणहरू आदि छोटकरीमा लेख्नुस ।

  • आफूमा देखिएका लक्षणहरू कहाँ र कतिको देखिएको छ ।
  • विगतमा जँचाएको भए पुरानो पुर्जा, रिपोर्ट र डाक्टरले दिएको औषधी लगायत सम्पूर्ण कागजात हरू लिएर जानोस् ।
  • कुनै औषधी वाट एलर्जी भएको छ भने त्यो पनि लेख्नु होस ।
  • परिवारमा कुनै वंशानुगत समस्या छ कि छैन जानकारी राख्नु होस ।
  • आफ्नो जीवन शैली को बारेमा लेख्नु होस जस्तै खानपान, मदिरा सेवन, धूम्रपान, शारीरिक गतिविधि आदि ।

परामर्शको समयमा

  • यदि कुनै औषधी सेवन गरि रहनु भएको छ भने ती औषधी, चिकित्सा कर्मीको प्रेस्किप्सन, रगतको जाँच र अन्य मेडिकल रिपोर्ट आदि लिएर जानु होस ।
  • तपाइले पहिला नै लेखिएका समस्या जिज्ञासाको टिपोट आफै सँग लैजानु होस् जसले तपाइको र डाक्टरको समय जोगिन्छ ।
  • यस अधि टिपेका कुरा हरू बताउनुस र चिकित्सकको प्रश्न अनुसार उत्तर दिँदै जानोस् ।
  • तपाइको परामर्शको उदेश्य स्पष्ट रूपमा व्यक्त गर्नु होस ।
  • उपचार र परीक्षणको विस्तृत विवरणहरू बुझ्न कोसिस गर्नुहोस्
  • डाक्टरलाई तपाइको लक्षणहरू भन्नुस तर स्वयम् उपचार गर्ने कोसिस नगर्नूस ।
  • तपाइलाई केही समस्याहरू छ भने चिन्ता नलिनोस, प्रश्नहरू सोध्ने प्रयास गर्नु होस, यदि बुझ्नू भएन भने फेरि सोध्नु होस ।
  • डाक्टरलाई प्रश्न सोध्दा विषय केन्द्रित मात्र सोध्नु होस ।
  • सके सम्म परिवारको सदस्यहरू सँगै जानुस र उनीहरूले तपाइको सट्टामा प्रश्न सोध्न सक्छन् ।
  • यदि तपाइले पहिलो पटक उपचार गराउँदै हुनुहुन्छ भने डाक्टरको परामर्श अनुसार जाँच, परीक्षणहरू गर्नु होस ।

रिपोर्ट देखाउँदा कस्ता प्रश्नहरू सोध्न सक्नु हुन्छ

  • मलाई कस्तो रोग लागेको छ ?
  • यसका लागि कस्ता उपचार हरू उपलब्ध छन् ?
  • ती उपचार प्रकृयाले केही अन्य असरहरू गर्छ कि गर्दैन ?
  • उपचारले कहिले सम्म काम गर्छ ?
  • उपचारमा केही अवरोध हरू छन् कि छैन ?
  • उपचारका लागि कति समय लाग्छ ?
  • यदि मेरो अवस्थामा परिवर्तन भयो भने मैले के गर्नुपर्छ ?
  • मैले उपचार गरि रहँदा या औषधी खाइ रहँदा के के खान मिल्छ ?
  • मैले शारीरिक व्यायाम कति सम्म गर्न उपयुक्त हुन्छ ?
  • फेरि फलोअप मा कहिले आउने ?
  • बीचमा असहज महसुस भयो भने के गर्ने ?

यदि तपाई फलो अप को लागि जानु भएको छ भने निम्न कुरा सोध्न सक्नु हुन्छ

  • म उपचारको कुन चरणमा छु ?
  • के मेरो समस्या नियन्त्रण भयो ?
  • औषधीको प्रयोगले कुनै प्रतिकुल असरहरू भएको छ भने कसरी कम गर्ने ?
  • लामो समय समय सम्म यस्ता औषधीहरू लीनाले केही प्रतिकूल असरहरू हुन्छ ?

परामर्श पछि

डाक्टरले सिफारिस गरेका औषधीहरू को मात्रा अनुसार समयमा खानु पर्छ । औषधि खाए पछि समस्या ठीक भयो कि भएन ख्याल गर्नु पर्छ । औषधीको सेवन पछि कुनै प्रतिकूल असरहरू देखिएमा तुरुन्तै डाक्टर सँग सम्पर्क गर्नु पर्छ । उचित हेरविचार र सही उपचार प्राप्ति गर्नको लागि तपाई आफ्नो अवस्था बारेमा विस्तृत रूपमा घर परिवार सँग छलफल गर्नु पर्छ । (नेशनल कार्डियाक सेन्टरका म्यानेजर रहेका रौनियार हेल्थ केयर म्यानेजमेन्टमा स्नातक हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!