जीओएआरएन को २५ वर्ष पूरा : विश्व स्वास्थ्य आपत्कालीन तयारी र प्रतिक्रिया सुदृढीकरणमा ऐतिहासिक योगदान


जिनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा संयोजित ग्लोबल आउटब्रेक अलर्ट एण्ड रिस्पोन्स नेटवर्क (जीओएआरएन) ले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ।

सन् २००० को अप्रिलमा स्थापना भएको यो सञ्जालले स्वास्थ्य आपतकालीन अवस्थाहरूमा विश्वव्यापी रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

जीओएआरएन ले विश्वभरका साझेदार संस्थाहरूको विशेषज्ञता उपयोग गरी, सतर्कता बढाउने, तत्काल सहायता पठाउने र क्षमताहरू मजबुत बनाउने काम गर्दै देशीय तथा क्षेत्रीय स्तरमा स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया प्रणालीलाई बलियो बनाएको छ।

डब्लुएचओका महासचिव डा. टेड्रोस अधानोम गेब्रेयससले भने, ‘जीओएआरएन विश्व स्वास्थ्य संरचनाको महत्वपूर्ण अंग हो। यस सञ्जाल मार्फत् देशहरूले आपतकालीन अवस्थाहरूमा आवश्यक विशेषज्ञ सहायता पाउँछन् र आफ्नो तयारी तथा प्रतिक्रिया क्षमताहरूलाई बलियो बनाउन सक्छन्। यसले छिटो र प्रभावकारी प्रतिक्रिया सम्भव बनाउँछ र धेरै ज्यान जोगाउन मद्दत गर्छ।’

जीओएआरएन को स्थापना विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्थाहरूमा राम्रो समन्वयको आवश्यकता महसुस गरी गरिएको थियो। जब धेरै संस्थाहरूले आपतकालीन अवस्थामा टोलीहरू पठाइ रहेका थिए, समन्वयको अभावले प्रभावकारिता घटाएको थियो। जसका कारण, डब्लुएचओ को आयोजनामा २६–२८ अप्रिल २००० मा जिनेभामा भएको अन्तर्राष्ट्रिय बैठकपछि जीओएआरएन को औपचारिक सुरुवात गरिएको थियो।

जीओएआरएन ले सन् २००० मा युगाण्डामा देखिएको ठूलो इबोला प्रकोपमा महत्त्वपूर्ण भूमिका खेलेर आफ्नो प्रभावकारी उपस्थितिको प्रमाण दिएको थियो। हाल सम्म जीओएआरएन सञ्जालमा ३१० भन्दा बढी संस्था आबद्ध छन्, जसमा राष्ट्रिय सार्वजनिक स्वास्थ्य निकायहरू, गैरसरकारी संस्था, संयुक्त राष्ट्र संघका निकायहरू, शैक्षिक तथा अन्य प्राविधिक संस्थाहरू समावेश छन्।

जीओएआरएन ले अहिले सम्म ११४ देशमा १७५ भन्दा बढी सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाहरूमा प्रतिक्रिया दिँदै ३६४५ भन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञहरू परिचालन गरेको छ। यसले सार्स , इबोला, मारबर्ग, कोभिड -१९, मन्किपक्स, हैजा, यल्लो फिभर लगायतका प्रमुख प्रकोपहरू सँगै बाढी, भूकम्प र युद्ध जस्ता प्राकृतिक तथा मानवीय संकटहरूमा पनि सहकार्य गरेको छ।

डब्लुएचओ  स्वास्थ्य आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले भने, ‘२५ वर्षअघि युगाण्डामा इबोला महामारीको क्रममा जीओएआरएन को पहिलो प्रतिक्रिया टोलीका रूपमा काम गर्ने अनुभव अविस्मरणीय छ। आज युगाण्डामा देखिएको मजबुत स्वास्थ्य प्रणालीले जीओएआरएन को दीर्घकालीन प्रयासलाई प्रमाणित गर्छ। जीओएआरएन बहुपक्षीय सहकार्यको उत्कृष्ट उदाहरण हो।’

जीओएआरएन अहिले ग्लोबल हेल्थ इमर्जेन्सी कोर को महत्वपूर्ण आधारस्तम्भ बनेको छ, जसले देशीय, क्षेत्रीय तथा वैश्विक तहमा समन्वयित स्वास्थ्य आपतकालीन कार्यबल सुनिश्चित गर्दछ।

जीओएआरएन का वर्तमान र पूर्व नेताहरूले यस सञ्जालले स्वास्थ्य प्रणाली सुदृढीकरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ जटिल संकटहरूको सामना गर्न समन्वय र सहयोग विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

जीओएआरएन ले विश्वव्यापी स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिक्रिया प्रणालीमा २५ वर्षदेखि पुर्‍याएको योगदान उल्लेखनीय छ र आगामी चुनौतीहरूलाई सामना गर्न यसको भूमिकालाई अझ बलियो बनाउन आग्रह गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!