मुनाफा भन्दा माथि उठेर चिकित्सकलाई निर्वाह भत्ता दिन विज्ञहरूको आग्रह


काठमाडौं —मुलुकका शिक्षाविद, चिकित्सकहरूले निजी मेडिकल कलेजहरूलाई मुनाफा आर्जनको सोच भन्दा माथि उठेर आवासी चिकित्सकहरूलाई निर्वाह भत्ता उपलब्ध गराउन आग्रह गरेका छन्।

स्नातकोत्तर तहका तालिममा रहेका चिकित्सकहरूले निर्वाह भत्ता सुनिश्चित गरिनु पर्ने माग सहित जारी आन्दोलनले मुलुक भर स्वास्थ्य सेवा प्रभावित भइ रहेको सन्दर्भमा, विज्ञहरूले सबै सरोकारवालाहरु लाई तत्काल समस्या समाधानका लागि आग्रह गरेका हुन ।

शिक्षाविद केदार भक्त माथेमा, प्रा. डा. सुरेश राज शर्मा, प्रा. डा. अर्जुन कार्की, प्रा. डा. मदन प्रसाद उपाध्याय, डा. गुणराज लोहनी र प्रा. डा. जगदीश प्रसाद अग्रवालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेजहरूलाई मुनाफा आर्जनको सोच भन्दा माथि उठेर प्रशिक्षार्थी चिकित्सकहरूलाई निर्वाह भत्ता उपलब्ध गराउन आह्वान गरेका हुन्।

उनीहरूले प्रशिक्षार्थी चिकित्सकहरूको वौद्धिक श्रमको शोषण कुनै पनि रूपमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। विज्ञप्तिमा स्नातक तहको सिट संख्या तथा शुल्क वृद्धिको विषयलाई अलग राख्दै निर्वाह भत्तासँग जोडेर शर्त राख्नु उपयुक्त नहुने धारणा व्यक्त गरिएको छ।

गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न गुणस्तरीय चिकित्सा शिक्षा अनिवार्य भएको उल्लेख गर्दै विज्ञहरूले चिकित्सकहरूको आन्दोलन अन्त्यका लागि सबै पक्षहरूलाई सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!