वैदेशिक रोजगारीबाट फर्केकाको निशुल्क स्वास्थ्य परीक्षण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा

काठमाडौँ -अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा बेग्लै निःशुल्क ओपीडी वार्ड मा हुने भएको छ । विदेश मै रहेका बेला देखिएका स्वास्थ्य समस्या को लागि समेत परामर्श हुने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका जो कोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने छन। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीं रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजना अनुसार काम गर्ने गरी शहीद घर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको हो।
दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको हो ।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो र मृगौला प्रत्यारोपण चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ ले, अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्र ले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको जनाए ।
डा.पुकारले वैदेशिक रोजगारीबाट फर्केका जो कोहीले भक्तपुर स्थित प्रत्यारोपण केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने समेत बताए ।
यसै गरी, विदेश मै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई प्रत्यारोपण केन्द्रले खटाउने भएको छ ।
यसै गरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्ट समेत उपलब्ध गराउने निर्णय प्रत्यारोपण केन्द्रले गरेको छ ।
प्रतिक्रिया दिनुहोस