विदेशमा रहँदा पनि टेलिमेडिसिन बाट स्वास्थ्य सेवा लिन सकिने : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं — स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरकारले विदेशमा रहेका नेपाली नागरिक लाई लक्षित गरी टेलिमेडिसिन मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको बताएका छन् । साथै, विदेश जाने क्रममा अनिवार्य रुपमा गर्नुपर्ने स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मूल्यमा गराउने गृहकार्य भइरहेको उनले जानकारी दिए।
दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न ‘नेपाल फेस्टिभल २०२५’ को उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले विदेशमा रोजगारका लागि जाने नेपाली श्रमिकहरूको स्वास्थ्य समस्या गम्भीर चुनौती भएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि सरकार विशेष योजना ल्याउन तयारी अवस्थामा रहेको बताए।
‘विदेशमा काम गर्ने नेपालीहरुको स्वास्थ्य सधैं हाम्रो चासोको विषय हो। उनीहरू स्वस्थ रहून् भन्ने उद्देश्यले सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ,’ मन्त्री पौडेलले भने। उनले नेपाली नागरिक स्वदेश फर्कँदा समेत स्वस्थ अवस्थामा फर्कन सकुन् भन्ने लक्ष्यसहित स्वास्थ्य सेवाको सुधारमा सरकार क्रियाशील रहेको स्पष्ट पारे।
मन्त्री पौडेलले युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणका क्रममा नेपाल-युएई बीच स्वास्थ्य क्षेत्रमा सहकार्य र सहयोगका लागि आग्रह गरेको समेत जानकारी दिए।
उक्त फेस्टिभल गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई, नेपाली समाज युएई लगायत युएईस्थित विभिन्न सामाजिक संघसंस्थाहरूको संयुक्त पहलमा नेपाली राजदूतावास अबुधाबीको समन्वयमा पहिलो पटक आयोजना गरिएको थियो।
कार्यक्रममा करिब ४० हजार नेपालीहरूको सहभागिता रहेको गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाहीले जानकारी दिए। फेस्टिभलमा युएई सरकारका उच्च पदाधिकारी, विदेशी राजदूत, कूटनीतिक नियोग प्रमुख, अन्तर्राष्ट्रिय कम्पनीहरूमा कार्यरत विदेशी नागरिक र नेपालका शुभेच्छुकहरू सहभागी भएको राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस