जोमसोममा डाक्टरहरूको रात्री संघर्ष : रक्तदान र समर्पणले दुई जीवन बचायो


जोमसोम (मुस्ताङ) -मुस्ताङको शितल रात, जब सारा जिल्ला निदाउँदै थियो, त्यसै बीच प्रदेश अस्पताल जोमसोम, मुस्ताङमा चिकित्सकहरूको एक टोली जीवन रक्षाको लागि अथक संघर्ष गरिरहेको थियो। उनीहरूको प्रयासले एक आमा र नवजात शिशुको ज्यान जोगाउन सफल भयो ।

लोमाङथाङ गाउँबाट १९ घण्टाको जोखिमपूर्ण यात्रा पार गरेर साँझ ६ बजे अस्पताल आइ पुगेकी ३० वर्षीया महिलाको अवस्था अति गम्भीर थियो। वैशाख ६ गते राति १ बजे घरमै छोरी जन्माएकी ती महिलामा प्रसव पछि नाल ननिस्किँदा अत्यधिक रक्तस्राव भएको थियो।

शिशुको गर्भनाल याकको रौँ बाट बनाइएको धागो र घरेलु चक्कु प्रयोग गरी काटिएको थियो। चिकित्सकीय दृष्टिले अत्यन्त जोखिमपूर्ण यो उपाय तत्कालका लागि विकल्प विहीन थियो।

स्तनपान गराउन नसक्ने अवस्थामा आएकी आमाको सट्टा, स्थानीय महिलाहरूले तताएको घिउ खुवाएर शिशुको जीवन रक्षा गरे। आश्चर्यजनक रूपमा, नवजात शिशुमा डिहाइड्रेशन वा हाइपोग्लाइसेमिया जस्ता समस्या देखिएन।

तर आमा भने अत्यधिक रक्तस्रावका कारण अर्धचेत अवस्थामा अस्पताल आइपुगेकी थिइन । जाँचका क्रममा गर्भाशयमा चिप्किएको नाल (एडहेरेन्ट प्लेसेन्टा) र गर्भाशयको मुखमा चिरा (सर्भाइकल टियर) पत्ता लाग्यो।

जीवनरक्षक उपचार प्रक्रिया

डा. विशाल सापकोटाको नेतृत्वमा डा. समिक्षा कँडेल, डा. विसर्जन नेपाली, डा. अशोक चपाई, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल, संगिता थापा र स्वास्थ्य सहायक कुशल नेपाली सम्मिलित टोलीले तत्कालै जीवन रक्षक प्रक्रिया थाल्यो।

नाल निकाल्ने ‘म्यानुअल रिमुभल अफ प्लासेण्टा’ (एमआरपी) प्रक्रिया (हातले नाल निकाल्ने) अनुरूप ‘स्लाइड र स्वाइप’ म्यानुभर अपनाउँदै सावधानी पूर्वक गर्भाशय बाट नाल झिकियो। त्यसपछि गर्भाशयको चिरा सिउने कार्य समेत सफलता पूर्वक सम्पन्न गरियो। यो सम्पूर्ण प्रक्रिया राति ९ बजे सम्म पूरा गरिएको थियो ।

रगत परीक्षणमा ती महिलाको हेमोग्लोबिन स्तर मात्र ५ ग्राम पर डेसीलिटर रहेको देखिए पछि तत्काल रगतको आवश्यकता पर्यो । राति १२ बजे सुरु भएको आपतकालीन रक्तदान बिहान ३ बजे सम्म जारी रह्यो ।

डाक्टरहरूको अथक प्रयास पछि आमा र शिशु दुबैको अवस्था अहिले सामान्य र स्थिर रहेको चिकित्सकहरूले जानकारी दिएका छन्।

डा. सापकोटा भन्छन – ‘सही समयमा सही निर्णय र टोली बीचको समन्वयले दुई जीवन बचाउन सक्यौं। त्यो रात सायद हामी कहिल्यै बिर्सन सक्दैनौं ।’

घटना किन महत्वपूर्ण ?

गर्भनाल ननिस्कनु ग्रामीण क्षेत्रमा आमाको मृत्युको प्रमुख कारण मानिन्छ। नाल हटाउने प्रक्रिया अत्यन्त संवेदनशील र दक्ष चिकित्सक आवश्यक पर्ने उपचार विधि हो । दुर्गम क्षेत्रका यस्ता घटनामा एक सेकेन्डको ढिलाइ समेत जीवन मृत्युको सवाल बन्न सक्छ ।

यो घटनाले सुरक्षित प्रसूति, दक्ष जनशक्ति र समयमै उपचारको महत्त्व पुनः प्रमाणित गरेको छ । दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवाको सहज पहुँच अझै आवश्यक छ भन्ने सन्देश यो घटनाले दिएको छ।

यस संकटपूर्ण रातमा समर्पित चिकित्सक टोली, रक्तदानमा सहयोग पुर्याउने ल्याब टेक्निसियन अनिता थापा, रक्तदाता तथा अस्पताल स्टाफ दीपक कुमार खत्री र नेत्र सहायक विज्ञान श्रेष्ठ प्रति डा. सापकोटाले विशेष आभार व्यक्त गरेका छन्।

डा. सापकोटा भन्छन – ‘मुस्ताङमा ब्लड बैंक स्थापनाको खाँचो निकै टड्कारो छ। आपतकालीन अवस्थामा रगत उपलब्ध गराउने व्यवस्था नभए सम्म यस्ता चुनौतीहरू सँग जुध्न गाह्रो छ।’

हाल जोमसोम अस्पतालमा हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया सेवा र १२ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। भवन निर्माण अधूरो, जनशक्ति र पूर्वाधारको अभाव बीच पनि अस्पतालले सेवा दिइ रहेको छ।

स्थानीय तहहरूले चिकित्सकहरूको स्थायित्व र प्रोत्साहन भत्ताका लागि पहल गर्नुपर्ने मागसमेत अघि सारेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!