युएईमा नेपाली श्रमिकका स्वास्थ्यका लागि सहयोग माग


काठमाडौं – नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि युनाइटेड अरब इमिरेट्स (युएई) सरकारसँग सहयोगको अपेक्षा गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अबुधाबीका उच्च अधिकारीहरू सँग औपचारिक आग्रह गरेका छन्।

अबुधाबीमा युएई स्वास्थ्य विभागका अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँग भेटघाट गर्दै मन्त्री पौडेलले युएईमा कार्यरत हजारौं नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षामा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, श्रमिकहरूको सुरक्षालाई अझ प्रभावकारी बनाउन युएई सरकारसँग सहकार्यको अपेक्षा समेत व्यक्त गरे।

मन्त्री पौडेलले विदेश जानु अघि तथा स्वदेश फर्किए पछि श्रमिकहरूको स्वास्थ्य जाँच र उपचारमा सरकार सक्रिय रहेको र युएई सरकारबाट पनि यसमा हातेमालोको आवश्यकता रहेको बताए।

भेटका क्रममा उनले नेपालको स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रणालीद्वारा सुदृढ पार्ने योजना र सर्वसुलभ स्वास्थ्य बीमा प्रणाली कार्यान्वयनका लागि समेत युएईको प्राविधिक र वित्तीय सहयोगको आग्रह गरे। साथै,  मृगौला डायलसिस केन्द्रहरू स्तरोन्नति, विस्तार र अंग प्रत्यारोपण सेवामा समेत सहकार्यको प्रस्ताव राखे।

युएईका स्वास्थ्य विभाग प्रमुख मन्सुरीले नेपालसँग को स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न आफूहरू सकारात्मक रहेको र आगामी दिनमा औपचारिक सम्झौतामार्फत दुवै देश बीच सहकार्य विस्तार गर्न चाहेको बताए।

उनले युएईमा कार्यरत नेपाली श्रमिकहरूको योगदानको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई अझ बलियो बनाउन युएई सरकार तयार रहेको जनाए। तर, लगानी र सहकार्यका लागि नेपाल सरकारले अनुकूल वातावरण र कानुनी संरचना तयार गर्नु पर्नेमा जोड दिए । भेटमा युएई स्थित नेपाली राजदूत तेजबहादुर क्षेत्री पनि सहभागी थिए।

यसै बीच, नेपाली दूतावासले मन्त्री पौडेल आइतबार आयोजना हुने ‘नेपाल फेस्टिभल’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी दिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!