डा. राकेश कुमार झा एफइएसजीइ उपाधि पाउने पहिलो नेपाली बने

काठमाडौँ – नेपाली चिकित्सक डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (इएसजीईं) बाट एफइएसजीइ उपाधि प्राप्त गर्ने पहिलो नेपाली बनेका छन्। यो डिग्री ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा विशेष योगदान पुर्याउने चिकित्सकहरूलाई प्रदान गरिन्छ।
यस वर्ष एसियाली राष्ट्रहरूबाट पहिलो पटक दुई जना चिकित्सकले यो उपाधि हासिल गरेका छन्। नेपालका डा. झा सँगै भारतको एआईजी संस्थाका डा. नागेश्वर रेड्डीले पनि एफइएसजीइ डिग्री प्राप्त गरेका हुन्।
वीरगंज स्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका संचालक डा. झा लामो समयदेखि ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल अभ्यासमा संलग्न रहँदै आएका छन्। यसै क्षेत्रकाे विकासमा पुर्याएको योगदानका आधारमा उनलाई यो डिग्री प्रदान गरिएको हो।
एफइएसजीइ उपाधि आफ्ना लागि मात्र नभई सम्पूर्ण देशकै गर्वको विषय भएको डा. झाले बताए। उनले भने, ‘यो डिग्रीले नेपालको नाम विश्व चिकित्सा क्षेत्रमै चिनाउन मद्दत गर्नेछ।’
उक्त डिग्री प्राप्त गर्न चिकित्सकले कम्तीमा १० वर्ष इएसजीईं सँग आबद्ध हुनुका साथै मोड्युल-१ र मोड्युल-२ सफलतापूर्वक पूरा गर्नुपर्ने हुन्छ। डा. झाले सन् २०१३ मा जेनरल इन्फर्मरी लिड्स युनिभर्सिटी, बेलायतबाट मोड्युल-१ र सन् २०१७ मा एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी, हैदरावाद, भारतबाट मोड्युल-२ पूरा गरेका थिए।
यो वर्ष इएसजीईंबाट नेपालका डा. झा सहित फाबियाना बेन्जामिनोभ (इजरायल), मोहम्मद बोराहमा (मोरक्को), मरीन क्यामस (फ्रान्स), मिहाई सिओसिर्लान (रोमानिया), लास्ज्लो जाको (हंगेरी), पिटर एन मेयर (जर्मनी), क्लाउस मोन्केमुलर (संयुक्त राज्य अमेरिका), कोन्स्टान्टिना पारस्केभा (ग्रीस), रुस पाउ (नेदरल्याण्ड), नागेश्वर रेड्डी (भारत) र नोरिको सुजुकी (युके) गरी जम्मा १२ जनाले एफइएसजीइ उपाधि प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस