सम्पादकीय

सम्पादकीय: स्वास्थ्य संस्थाको लापरवाही, एभरेष्ट अस्पताल प्रकरणले उठाएका गम्भीर प्रश्नहरू


अस्पताललाई जीवन रक्षा र उपचारको भरोसा योग्य केन्द्र मानिन्छ। तर, जब यिनै संस्थाबाट जनस्वास्थ्यलाई खतरा निम्त्याउने लापरवाही देखिन्छ, तब प्रश्न उठ्छ – के हाम्रो स्वास्थ्य सेवा प्रणाली साँच्चै जिम्मेवार छ?

नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पताल माथि काठमाडौँ महानगरपालिकाले पटक पटक चेतावनी दिएर पनि सुधार नआएपछि अन्ततः ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय लिएको छ। अस्पतालले हानीकारक फोहरको व्यवस्थापनमा देखाएको लापरवाही केवल कानुनी उल्लङ्घन मात्र होइन, यो सम्पूर्ण नगरवासीको स्वास्थ्य र वातावरण माथि खेलबाड हो ।

शल्यक्रिया, प्रसूति र अन्य संवेदनशील उपचार प्रक्रियाबाट निस्कने फोहरलाई सुरक्षित र वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नु स्वास्थ्य संस्थाको अनिवार्य दायित्व हो । तर, एभरेष्ट अस्पतालमा देखिएको बिना सुरक्षा बट्टामा फोहर प्याक गर्ने, अटोक्लेभ मेसिन लामो समय मर्मत नगर्ने, फोहर वर्गीकरणमा लापरवाही गर्ने जस्ता कमजोरीहरू गम्भीर चिन्ताको विषय बनेका छन । अझ त्यस माथि फोहर संकलन स्थलमा भेन्टिलेसन नहुनु र कर्मचारीहरूको असहज स्थितिमा काम गर्नु भनेको अस्पतालले आफ्नै जनशक्तिको समेत ख्याल नगरेको पुष्टि हो ।

यो लापरवाही केवल एभरेष्ट अस्पतालमा मात्र सीमित रहला भन्ने कुरामा विश्वास गर्न गाह्रो छ। स्वास्थ्य क्षेत्रमा यस्ता व्यवहार दोहोरिनु भनेको सम्पूर्ण प्रणालीको कमजोरी तर्फ संकेत हो। कडाइका साथ अनुगमन, स्पष्ट नियमको कार्यान्वयन र स्वास्थ्य संस्थाको उत्तरदायित्व सुनिश्चित नगरेसम्म यस्ता समस्याले पुनः टाउको उठाउनेछन्।

स्वास्थ्य संस्था भनेको नाफामुखी व्यवसाय मात्र होइन, मानवीय सेवाको केन्द्र हो। त्यसैले अस्पतालहरूले फोहर व्यवस्थापनमा लापरवाही गर्नु कुनै हालतमा स्वीकार्य हुन सक्दैन। जरिवाना त लगाइयो, तर यसको दीर्घकालीन समाधान भने जनचेतना, व्यावसायिक नैतिकता र कानुनी दण्डको प्रभावकारी संयोजनबाट मात्र सम्भव छ।

अब समय आएको छ,  स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तरीय सेवा र सुरक्षित वातावरण सुनिश्चित गर्ने कठोर नीति र निगरानी प्रणालीलाई अझ बलियो बनाउन। एभरेष्ट अस्पताल प्रकरणले हामी सबैलाई सचेत गराएको छ कि, स्वास्थ्य सुरक्षाको लापरवाहीमा कुनै सम्झौता अब सह्य छैन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!