अनुसन्धान
पुरानो दुखाईले डिप्रेसनको जोखिम चार गुणा बढ्ने: नयाँ अध्ययनको खुलासा

काठमाडौँ – हालै प्रकाशित एक अन्तर्राष्ट्रिय अध्ययनले दीर्घकालीन शारीरिक पीडाले मानिसमा डिप्रेसन (उदासी रोग) को खतरा चार गुणा सम्म बढाउने देखाएको छ। यो अध्ययन प्रतिष्ठित वैज्ञानिक पत्रिका साइन्स एडभान्सेस मा प्रकाशित भएको हो।
विश्व भर करिब ३० प्रतिशत मानिस कम्मर दुखाइ र माईग्रेन जस्ता दीर्घकालीन पीडाबाट ग्रस्त छन्। ती मध्ये प्रत्येक तीन मध्ये एक जनालाई एकै पटक शरीरका विभिन्न भागमा दुखाइको समस्या देखिएको अध्ययनले उल्लेख गरेको छ।
अनुसन्धान अनुसार, शरीरका धेरै भागहरूमा एकै पटक पुरानो पीडा हुनु, कुनै एक स्थानमा मात्र पीडा हुनु भन्दा डिप्रेसनको जोखिम झन् बढी हुने देखिएको छ।
येल स्कूल अफ मेडिसिनका रेडियोलोजी र बायोमेडिकल इमेजिङ विभागका एसोसिएट प्रोफेसर डस्टिन शेइनोस्टले भने, ‘यस अध्ययनले यो स्पष्ट प्रमाणित गर्छ कि शारीरिक अवस्थाले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ। दीर्घकालीन पीडाले डिप्रेसनजस्ता मानसिक समस्यालाई जन्म दिन सक्छ।’
अनुसन्धान कर्ताहरूले पीडा र डिप्रेसन बीचको सम्बन्धका पछाडि ‘सुन्याई’ (इन्फ्लेमेशन) नामक जैविक प्रक्रिया मुख्य कारण हुन सक्ने तथ्य पनि पत्ता लगाएका छन्। अध्ययनका क्रममा वैज्ञानिकहरूले पत्ता लगाए अनुसार, सि-रियाक्टिभ प्रोटिन (सिआरपी), जुन कलेजोले सुन्याईको प्रतिक्रिया स्वरूप उत्पादन गर्छ, ले दीर्घकालीन पीडा र डिप्रेसन बीचको सम्बन्ध प्रष्ट पार्न मद्दत गर्छ।
यो अध्ययन युकेको बायो बैंकमा दर्ता भएका ४ लाख ३१ हजार ३८ जनाको स्वास्थ्य सम्बन्धी तथ्यांकको १४ वर्ष सम्म गहिरो विश्लेषण र पछ्याइका आधारमा सम्पन्न गरिएको हो।
अनुसन्धान टोलीका सदस्य रोंगताओ जियाङका अनुसार, ‘यस अध्ययन मार्फत हामीले सुन्याई तन्त्र, पीडा र डिप्रेसन बीचको सम्बन्ध बारे केही प्रारम्भिक प्रमाण फेला पारेका छौं। प्रायः हामीले मानसिक स्वास्थ्यलाई मुटु वा कलेजो जस्ता अंगहरूको स्वास्थ्य भन्दा पृथक सम्झन्छौं, तर वास्तवमा यी सबै शारीरिक प्रणालीहरू एक अर्का सँग गहिरो सँग सम्बन्धित छन्।’
विशेषज्ञहरूका अनुसार, यस अध्ययनका निष्कर्षहरू भविष्यमा दीर्घकालीन पीडा र डिप्रेसनको उपचार रणनीति विकास गर्न महत्त्वपूर्ण आधार बन्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस