‘परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा अत्याधुनिक सिमुलेशन ल्याब’
सिमुलेशन ल्याब वास्तविक बिरामी बिना नै चिकित्सक, नर्स, मिडवाइफ र अनमीहरू लाई विभिन्न स्वास्थ्य जटिलता समाधान गर्ने अभ्यास गराउने एक प्रविधि युक्त सिकाइ केन्द्र हो ।

काठमाडौं — मातृ तथा नवजात शिशुको सुरक्षित स्याहार र उपचार सुनिश्चित गर्नका लागि परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले अत्याधुनिक सिमुलेशन ल्याब स्थापना गरेको छ।
यो ल्याबले स्वास्थ्यकर्मीहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गरी, बिरामीको प्रत्यक्ष उपचार अघि नै आवश्यक सीप र दक्षता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो ल्याबमा एक पटकमा १० जनालाई तालिम दिन सकिन्छ।
सिमुलेशन ल्याब भनेको वास्तविक बिरामी बिना नै चिकित्सक, नर्स, मिडवाइफ र अनमीहरू लाई विभिन्न स्वास्थ्य जटिलता समाधान गर्ने अभ्यास गराउने एक प्रविधि युक्त सिकाइ केन्द्र हो ।
यहाँ अत्याधुनिक मानेक्विन, चिकित्सकीय उपकरण र सिमुलेसन सफ्टवेयरको सहयोग मा शल्यक्रिया, आपतकालीन सेवा, नवजात स्याहार लगायत विविध उपचार प्रक्रिया अभ्यास गर्न सकिन्छ । यस किसिमको ल्याबले स्वास्थ्यकर्मीहरू लाई वास्तविक अवस्था जस्तै परिस्थिति मा शीप सिक्न र सुधार गर्न अवसर दिन्छ।
अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीका अनुसार यो ल्याबको स्थापना भए पछि देश भरका मातृ तथा शिशु उपचारमा संलग्न स्वास्थ्यकर्मी लाई केन्द्रीय स्तर बाट स्तरीय तालिम दिन सहज हुनेछ । उनले भने, ‘यस ल्याबले मातृ मृत्युदर न्यूनीकरण र नवजात शिशुको सुरक्षामा दीर्घकालीन योगदान पुर्याउनेछ ।’
अमेरिकी दातृ संस्था युएसएड मार्फत अमेरिकी गैरनाफामूलक संस्था ‘वन हार्ट वर्ल्ड वाइड’ को आर्थिक सहयोगमा स्थापना गरिएको यस ल्याबको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सोमबार कुपण्डोल स्थित अस्पताल परिसरमा गरे। मन्त्री पौडेलले उद्घाटन समारोहमा आमा र शिशुको ज्यान बचाउन दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको र सिमुलेशन ल्याबले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपालमा यस्ता ल्याबहरू अझै सीमित रहेको अवस्थामा अस्पतालको यो पहलले मातृ तथा नवजात शिशु स्वास्थ्य सुधार तर्फ नयाँ सम्भावना थपेको डा. .अधिकारीले बताए । उनले यस किसिमको प्रविधिले स्वास्थ्यकर्मीहरू लाई आत्मविश्वास बढाउनुका साथै स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस