कल्पना पौडेल तन्डुकार लाई ‘चान्सलर मेडल’


काठमाडौँ – इलेन मारिब कलेज अफ नर्सिङ (एमकन) की प्राध्यापक डा. कल्पना पौडेल तन्डुकारलाई क्याम्पसबाट दिइने उच्चतम सम्मान ‘चान्सलर मेडल’ प्रदान गरिएको छ। उनले यो सम्मान अप्रिल २०२५ मा सम्पन्न भएको ‘डिस्टिङ्गुइश्ड फ्याकल्टी लेक्चर’ कार्यक्रममा प्राप्त गरिन्।

डा. पौडेल-तन्डुकार स्नातक कार्यक्रममा अध्यापन गर्छिन । उनको अनुसन्धान मानसिक स्वास्थ्य, पोषण, र एचआईभी संक्रमणको हस्तक्षेप डिजाइन र मूल्याङ्कन मा केन्द्रित छ।

सन् १९७४ मा स्थापना गरिएको उक्त वार्षिक व्याख्यान श्रृंखला म्यासाचुसेट्स एम्हर्स्ट विश्वविद्यालय (युएम्यास अमहर्स्ट विश्वविद्यालय) का सम्मानित र उत्कृष्ट प्राध्यापकहरूको योगदानको कदर गर्ने उद्देश्यले आयोजना गरिन्छ। यसले व्यक्तिगत उपलब्धि सँगै सामुदायिक शैक्षिक उत्कृष्टताको मूल्यलाई समेत उजागर गर्छ।

व्याख्यान कार्यक्रममा प्राध्यापक पौडेल तन्डुकारले अफगान, भूटानी र युक्रेनी शरणार्थीहरू माथि पश्चिमी म्यासाचुसेट्समा गरिएको सामुदायिक सहभागिता मूलक कार्य अनुसन्धानको परिणाम प्रस्तुत गरिन्।

‘आन्तरिक शक्ति निर्माण : तनाव, चिन्ता र डिप्रेसन घटाउन शरणार्थीहरूलाई सहभागी गराउँदै मानसिक स्वास्थ्य कार्यक्रमको डिजाइन, कार्यान्वयन र मूल्यांकन’, शीर्षकको प्रस्तुतिमा उनले शरणार्थी समुदायलाई स्वास्थ्य आवश्यकता र स्रोतको विश्लेषण, प्राथमिकता निर्धारण, कार्यक्रम विकास तथा मूल्यांकन र नतिजाको प्रसार मार्फत सामुदायिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विषयमा जानकारी दिइन्।

उनको कार्यले आप्रवासी समुदायको मानसिक स्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विश्वविद्यालयले उनलाई यो उच्च सम्मान प्रदान गरेको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!