डब्लुएचओद्वारा म्यानिन्जाइटिस रोग बारे पहिलो पटक विश्वव्यापी निर्देशिका सार्वजनिक


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले म्यानिन्जाइटिस रोगको समयमै पहिचान, प्रभावकारी उपचार र दीर्घकालीन हेरचाह सुनिश्चित गर्नका लागि पहिलो पटक विश्वव्यापी निर्देशिका सार्वजनिक गरेको छ।

रोगका कारण हुने मृत्युदर र अपांगता घटाउने उद्देश्यले तयार पारिएको यस निर्देशिकाले वैज्ञानिक प्रमाणमा आधारित सिफारिसहरू समेटेको छ।

यद्यपि म्यानिन्जाइटिस बिरुद्ध केही खोप र उपचारहरू प्रभावकारी रहेका छन्, यो रोग अझै पनि विश्व भरि ठूलो स्वास्थ्य चुनौतीको रूपमा रहेको छ।

म्यानिन्जाइटिसको सबैभन्दा खतरनाक स्वरूप ब्याक्टेरियल म्यानिन्जाइटिस हो, जसले २४ घण्टा भित्रै ज्यान लिन सक्छ ।

सन् २०१९ मा मात्रै विश्व भर अनुमानित २५ लाख म्यानिन्जाइटिसका घटनाहरू रिपोर्ट भएका थिए, जसमा १६ लाख ब्याक्टेरियल म्यानिन्जाइटिसका केसहरू थिए र ती मध्ये करिब २ लाख ४० हजार व्यक्तिको मृत्यु भएको थियो।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भने, ‘ब्याक्टेरियल म्यानिन्जाइटिसले संक्रमित मध्ये प्रत्येक छ जनामा एक जनाको ज्यान लिन्छ र धेरैलाई दीर्घकालीन स्वास्थ्य समस्यामा पार्छ। नयाँ निर्देशिकाको कार्यान्वयनले जीवन बचाउन, दीर्घकालीन हेरचाहमा सुधार ल्याउन र स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ।’

यस रोगले जुन सुकै उमेर समुह, स्थान वा व्यक्तिलाई असर गर्न सक्छ, तर न्यून तथा मध्यम आय भएका मुलुकहरू र ठूलो महामारी फैलिएका क्षेत्रहरूमा यसको भार अझै उच्च छ। विशेष गरी अफ्रिकाको ‘म्यानिन्जाइटिस बेल्ट’ क्षेत्रमा पटक पटक महामारी फैलिने जोखिम उच्च देखिन्छ।

नयाँ निर्देशिकाले एक महिना भन्दा माथिको उमेर भएका बालबालिका, किशोर किशोरी र वयस्कहरूमा देखिने सामुदायिक स्तरमा उत्पन्न म्यानिन्जाइटिसको पहिचान, उपचार र दीर्घकालीन हेरचाह सम्बन्धी स्पष्ट सिफारिसहरू प्रदान गरेको छ। यसले ब्याक्टेरियल र भाइरल दुबै प्रकारका म्यानिन्जाइटिसका लागि एकीकृत उपचार विधि प्रस्तुत गरेको छ।

यस निर्देशिका स्वास्थ्यकर्मी, नीति निर्माता, शैक्षिक संस्था तथा सामाजिक संघ संस्थाहरूले आफ्नो कार्यक्षेत्रमा क्षमता अभिवृद्धि, शिक्षा तथा अनुसन्धानमा समेत प्रयोग गर्न सक्ने उद्देश्यले तयार पारिएको हो।

‘सन २०३० सम्ममा मेनिन्जाइटिसलाई पराजित गर्ने’, अभियान अन्तर्गत यस निर्देशिकाले म्यानिन्जाइटिस महामारी अन्त्य गर्ने, खोप मार्फत रोकथाम गर्न सकिने म्यानिन्जाइटिसका घटना ५०% ले घटाउने, मृत्युदर ७०% ले घटाउने र दीर्घकालीन असर झेलिरहेका व्यक्तिहरूको जीवन स्तर सुधार गर्ने लक्ष्य लिएको छ।

नयाँ निर्देशिकाले द्रुत पहिचान, प्रभावकारी उपचार, रोकथाम, निगरानी, दीर्घकालीन हेरचाह र जनचेतना अभिवृद्धि जस्ता पाँच प्रमुख क्षेत्रहरूमा समन्वित प्रयास आवश्यक पर्ने स्पष्ट गरेको छ।

डब्लुएचओले यस निर्देशिका मार्फत देशहरूलाई म्यानिन्जाइटिसको उपचार, हेरचाह र दीर्घकालीन व्यवस्थापनमा सुधार ल्याउने महत्वपूर्ण उपकरण उपलब्ध गराएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!