नेपालका पारम्परिक परिकारहरूमा पाइने लाभदायक ब्याक्टेरिया पनि एन्टिबायोटिक प्रतिरोधी!


काठमाडौं — परम्परागत नेपाली परिकारहरू, जुन हिमाली भेगका मानिसहरूको पुरानो खानपान संस्कृतिको अभिन्न हिस्सा हुन्, त्यसमध्ये फर्मेन्टेड (अमिलो) खाना र पेय पदार्थमा पाइने लाभदायक ब्याक्टेरियामा समेत एन्टिबायोटिक प्रतिरोध देखिएको अध्ययनले खुलाएको छ।

११ औं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलनमा सार्वजनिक गरिएको ‘एन्टिबायोटिक रेसिस्टेन्स प्रोफाइल्स अफ ल्याक्टिक एसिड ब्याक्टेरिया (एलएबी) एन्ड ब्यासिलस एसपीपी आईसोलेटेड फ्रम  ट्रेडीसनल फर्मेन्टेड फूड एण्ड बेभरेज इन नेपाल’, अर्थात्  ‘नेपालका परम्परागत अमिलो खाना तथा पेय पदार्थहरूबाट अलग गरिएको ल्याक्टिक एसिड ब्याक्टेरिया र ब्यासिलस प्रजातिहरूको एन्टिबायोटिक प्रतिरोध प्रोफाइल’, शीर्षकको अनुसन्धान अनुसार, नेपालका विभिन्न स्थानबाट संकलन गरिएका १,००० भन्दा बढी परम्परागत फर्मेन्टेड खानाको नमुनाबाट ३६ वटा ब्याक्टेरिया (२८ वटा ल्याक्टिक एसिड ब्याक्टेरिया र ८ वटा ब्यासिलस एसपीपी) को एन्टिबायोटिक प्रतिरोध परीक्षण गरिएको थियो। उक्त अध्ययन कुशा गुरुङ, आर्य गौतम, सृजना शाक्य, सन्देश घिमिरे र आशिष आर झा लगायतकाले गरेका हुन् ।

परिक्षणमा सबै एलएवी र ब्यासिलस ब्याक्टेरिया क्लोरामफेनीकोल, एजिथ्रोमाइसिन, एरिथ्रोमाइसिन र जेन्टामाइसिनजस्ता एन्टिबायोटिक औषधिहरूप्रति संवेदनशील देखिए। तर, सबै एलएबी  ब्याक्टेरिया भ्यान्कोमाइसिन प्रतिरोधी देखिए भने ब्यासिलस समूह ब्याक्ट्रेसिन प्रतिरोधी देखिए, जुन तिनीहरूको प्राकृतिक गुण हो।

यो मात्र होइन, केही एलएवी ब्याक्टेरियामा सेफ्ट्रियाक्सोन (५०%), टेट्रासाइक्लिन (१४.३%) र क्लिन्डामाइसिन (३.६%) प्रतिरोध देखियो। यस्तै, केही  ब्यासिल ब्याक्टेरियाले पनि सेफ्ट्रियाक्सोन, क्लिन्डामाइसिन र टेट्रासाइक्लिन जस्ता एन्टिबायोटिक औषधिहरूप्रति प्रतिरोध देखाए।

अनुसन्धान टोलीका अनुसार यी औषधिहरू नेपालमा सामान्यतया अस्पतालहरूमा उपचारका लागि प्रयोग गरिन्छ। परम्परागत खाद्य प्रणालीसँग प्रत्यक्ष सम्पर्कमा रहने ब्याक्टेरियामा यस्तो प्रतिरोध देखिनु चिन्ताजनक विषय हो ।

‘द किखा माइक्रो बायोम प्रोजेक्ट’,  अन्तर्गत गरिएको यो अनुसन्धानले नेपालमा एन्टिबायोटिक प्रतिरोधको बढ्दो जोखिमलाई उजागर गर्दै उचित नियमन र सचेतना आवश्यक रहेको संकेत गरेको छ। अनुसन्धानको अर्को चरणमा यी ब्याक्टेरियाको जीन विश्लेषण गरिने बताइएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!